भरतपुर । आगामी असार ८ गते चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गरिने भएको छ ।
सोहीअनुसार चितवनमा पहिलोपटक विद्युतीय मतदान हुन लागेको चितवनका जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताउनुभयो ।
जिल्लाको क्षेत्र नं ४ मा काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विजयी हुनुभएको थियो । उहाँले आठ हजारको मतान्तरले जित हासिल गर्नुभएको थियो । उहाँले सो निर्वाचन क्षेत्र त्याग गरेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । सो निर्वाचनका लागि कार्यालयले ३१ स्थानमा ८१ मतदान केन्द्र तोकेको छ । जसका लागि २३४ वटा मतदान इकाई र १५३ वटा नियन्त्रण इकाइ रहने र हरेक इकाइमा विद्युतीय मेसिन रहने निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।
नियन्त्रण इकाइको सङ्केतको आधारमा मतदाताले भोट गर्न पाउने छन् । मतदान अधिकृतले बटम थिचेपछि साइरन बज्दछ अनि भोट हाल्न पाइन्छ । जिल्लामा पहिलोपटक विद्युतीय मतदान गर्न लागेकाले मतदाताहरुमा उत्साह जागेको छ ।
चुनावमा यही वैशाख २० गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने भएपनि अहिले मतदाता नामावली सङ्कलनको काम तीव्र भैरहेको छ । जिल्लामा पछिल्लोपटक एक हजार मतदाता थपिएको उहाँले बताउनुभयो ।
आगामी १४ गतेदेखि क्षेत्र नं ४ को हरेक मतदान केन्द्रमा नामावली सङ्कलनका लागि टोली खटाइने र विद्युतीय मतदानको बारेमा जानकारी गराइने कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा उक्त क्षेत्रमा ५९ हजार ६९३ मतदाता रहेका थिए ।
जिल्लामा कुल दुई लाख ७३ हजार ८०३ मतदाता थिए । उता राजनीतिक वृत्तमा उम्मेद्वारहरुको नामका विषयमा चर्चा चल्न थालेको छ ।
मतदाता बन्न आग्रह
जिल्ला निर्वाचन कार्यालय चितवनले चितवन क्षेत्र नं ४ मा वैशाख १४ गतेदेखि तस्बिर–सहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।
असार ८ गते हुन लागेको संविधानसभाको उपनिर्वाचनलाई लक्षित गर्दै कार्यालयले तस्बिरसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले बताउनुभयो ।
वैशाख १४ गतेदेखि २० गतेसम्म क्षेत्र नं ४ का सात वटा गाविस र भरतपुर नगरपालिकाका पाँच वटा वडामा तस्बिरसहितको मतदाता नामावली सङ्कलनको तयारी गरेको ढकालले बताउनुभयो ।
नेपाली नागरिकताको प्रमाणपत्र लिएका सबैलाई तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन कार्यालय चितवनले आग्रह गरेको छ । नजिकैको मतदान केन्द्रमा पुगेर तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन सकिने कार्यालयले जनाएको छ ।
नेपाली काँग्रेसका सभापति सुशील कोइराला विजयी भएको यस क्षेत्र उहाँले छाडेपछि उपनिर्वाचन हुन लागेको हो ।
Discussion about this post