रत्ननगर । चर्को लोडसेडिङका कारण विद्युतीय सामग्रीहरुको व्यवसाय धरापमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
सोमबार विद्युत व्यवसायी संघ रत्ननगरको प्रथम साधारण सभामा बोल्दै व्यवसायीहरुले लोडसेडिङका कारण व्यवसायमा गिरावट आएको बताएका थिए । लोडसेडिङका कारण विद्युतीय सामग्रीको कारोबारमा कमी आएको भन्दै उनीहरुले व्यवसायी एकजुट भएर व्यवसाय प्रबद्र्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला विद्युत व्यवसायी संघका अध्यक्ष लेखनाथ सापकोटाले लोडसेडिङका कारण व्यवसायमा गिरावट आएको भन्दै हाइड्रो पावर निर्माणको लागि पहल भइरहेको बताउनुभयो ।
हाइड्रो पावर निर्माणको लागि विद्युत व्यवसायीहरु आर्थिक रुपमा सक्षम रहेको उहाँले त्यसको लागि महासंघमा प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, चितवन जिल्ला विद्युत व्यवसायी संघका द्वितीय उपाध्यक्ष मनोजकुमार बर्नवाल, पूर्वीचितवन विद्युत व्यवसायी संघका सल्लाहकार उत्तम घिमिरेलगायतले बोल्नुभएको थियो ।
पूर्वीचितवन विद्युत व्यवसायी संघका अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णप्रसाद दुलालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Discussion about this post