रत्ननगर । चितवनका धार्मिक स्थलहरुको अवलोकनको लागि पूर्वराजा ज्ञानेन्द्र साह वैशाख १२ गते चितवन आउनु हुने भएको छ ।
साह चितवनमा दुई दिनसम्म रहने बुझिएको छ । पत्नी कोमलसँगै बिहान १० बजे गाडीमा सिमराबाट चितवन आउने शाहलाई रत्ननगरमा स्वागत गर्ने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समिति चितवनका सहसचिव हरि अधिकारीले जानकारी दिनुभयो ।
१२ गते नै शाहले रत्ननगर १ निपनीमा रहेको हरिहर मन्दिर, पमदपुरको कमलचौरमा रहेको बौद्ध गुम्बामा पूजा गर्ने र सोही दिन जुटपानीको तुलाराम चोकमा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै,१३ गते नारायणीकला मन्दिरमा पृथ्वी नारायण साह स्मृति प्रतिष्ठानले गर्ने कार्यक्रममा सहभागी भई नारायणगढकै पशुपतिनाथ गौरेश्वर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पश्चिम चितवनको मेघौलीका जनताले पनि राजालाई भेट्ने इच्छा व्यक्त गरेको भएपनि त्यहाँ जाने या नजाने भन्ने टुङ्गो लागि नसकेको अधिकारीले जानकारी दिनुभयो ।
राजसंस्थाको अन्त्यपछि पहिलो पटक चितवन आउन लाग्नु भएका साहको धार्मिकस्थलको अवलोकन भनिए पनि जनतासँग जनसम्र्पक बढाउन आउन लागेको बुझिएको छ ।
साहले जनताको गुनासो सुन्ने र जुनसुकै नागरिकले पनि साहलाई भेट्ने इच्छा प्रकट गरे व्यवस्था मिलाइने सहसचिव अधिकारीले जानकारी दिनुभयो ।
Discussion about this post