भरतपुर । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको समीक्षा वैठक जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव साधुराम सापकोटा र साथी संस्थाका संयोजक बन्दना राणाको सहजीकरणमा सञ्चालन गरिएको बैठकमा १३२५ र १८२० सम्बन्धी हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राष्ट्रिय कार्ययोजना समन्वय समिति बनेको र जिल्लाका अन्य विषयगत सरकारी कार्यालयहरु सदस्य रहेको र यसै अन्तर्गत विषयगत कार्यालयले हालसम्म गरेको कामको समीक्षा गरियो ।
सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ ले महिला, शान्ति र सुरक्षाको विषयलाई उठान गरेको र सन् २००० मा नेपाल सरकारद्वारा हस्ताक्षर गरिएको यस प्रस्ताव अन्तराष्ट्रिय कानुन सरह हुने र सबै सदस्य राष्ट्रले बाध्यकारी रुपमा पालना गर्नु पर्नेे हुनाले नेपाल सरकारले समेत यसको कार्यान्वयन गरी सोको प्रतिवेदन संयुक्त राष्ट्र संघलाई पठाउनुपर्ने हुन्छ । १३२५ र १८२० को ३ वर्षको मध्यावधि अनुगमन प्रतिवेदनमा जिल्लाको तथ्याङ्कसमेत समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको बैठकमा स्थानीय विकास अधिकारी तिलक पौडेल, केएर नेपालका बन्दना खाँड, आदर्श गृहकी मिना खरेल, कालिका सामुदायिक महिला विकास केन्द्रका संयोजक कृष्ण पन्त, महिला विकास अधिकृत सीता थापा, स्थानीय शान्ति समितिका संयोजक जीतनारायण श्रेष्ठ, निशा न्यौपाने जनस्वास्थय प्रमुख केहरसिं गोदारलगायतले आफ्नो संस्थाबाट महिलाका क्षेत्रमा गरिएका कामहरुको आदानप्रदान गर्नु भएको थियो ।
Discussion about this post