लकडाउन (कविता)

अन‌ि यो पनि

खै कसरी पोखूँ
यो मनमा उर्लिएका व्यथाहरु
कसलाई सुनाऊँ
यो सन्नाटाले निलेको बेला
बन्द कोठामा थुनिएर
बस्नुपर्दाको कथा ?

मसितै छ
खबर हेर्ने एउटा टिभी
स्टाटसहरु पढ्ने
सानो मोबाइल
र आतङ्क भुकिरहने
पुरानो रेडियो पनि,
फुङ्ङ उडेको अनुहार लिएर
छेवैमा बसेको छ
अल्छी ग्यास चुलो
मलाई नै उपहास गरेर
हाँसिरहेछन् कोठाका
निर्जीव भित्ताहरु
र मसँगै छ
मेरो छटपटी सहन नसकेर
थकित बनेको
एउटा दुःखी ओछ्यान पनि ।

बूढापाकाहरुले भन्थे
मान्छे एक्लै आउँछ
र एक्लै जान्छ
यतिखेर
म बोध गरिरहेछु
जीवनको तीतो सत्य
यस्तो लाग्छ कि
जिन्दगी आखिर
खेल न रहेछ
माया गर्छु
र साथ दिन्छु जुनिभर
भन्नेलाई नै समयले
आज टाढा पु¥याइदियो ।

कोही खाडीमा छन्
कोही युरोपमा छन्
त कोही
मुङ्लानमा पनि छन्,
लकडाउन भएको बेला
जिन्दगीले आफ्नो गति
हराएको छ
प्रसव पीडा सहेर
र हजारौँ
कष्टहरु कटाएर
हुर्काएका सन्तानहरु
स्क्रिनमा देखिन्छन्
तर स्पर्श दिन सक्दैनन्
जुन ठाउँमा छन्
उसै ठाउँमा
आतङ्कको बन्दी बनेका छन् ।

म एक्लो होइन
सिङ्गो संसार नै दुखेको छ
यतिखेर
सन्त्रासको सर्बतभन्दा
हिम्मत जरूरी छ
गुनासो गर्ने मनभन्दा
भरोसा देखाउने
आत्माको खाँचो छ,
समाचार सुन्छु
विरक्ति जगाएर जान्छन्
देश सम्झिएर फर्किनेहरु
सिमानामा बन्दी छन्
नदीहरु त बगिरहेछन्
तर मान्छेको जीवन
लकडाउनमा छ
ठीक यो बेला
म पनि नियममा बसेर
शब्दहरु खेलाइरहेछु ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया