संक्रमित परिवेश (कथा)

अन‌ि यो पनि

– लक्ष्मी गाइजू

चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरुबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्ककारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरु पनि मेरै खोजीमा थिए ।

‘म कुनै चोर हुँ ?’ आफैँलाई प्रश्न गर्छु । ‘म कुनै हत्यारा हुँ या आतङ्ककारी हुँ ?’
आफ्नै मन चिच्याउँछ र मनैले जवाफ दिन्छ, ‘होइन ।’

त्यसोभए सबैजना किन मलाई खोज्दै हिँडेको त ? कुनै चोरलाई, कुनै आतङ्ककारी या हत्यारालाई खोज्दैनन् होला यतिका मिहिनेत गरेर । तर मलाई पत्रकार, पुलिस, समाचारहरुले किन पछ्याइरहेका छन् ? मलाई शान्तिसँग बाँच्न पनि दिइरहेका छैनन् ।

‘तिनीहरुले खोज्यो भन्दैमा म किन यतिको तेज भाग्दैछु त ?’ मनबाट आएको अप्रत्याशित प्रश्न मनैलाई तेर्सियो । ‘म कुनै म्याराथुनमा भाग लिँदैछु ? मलाई कुनै दौड जित्नुछ ? या मलाई संसार जित्न हिँडेका सिकन्दरहरुजस्तै विश्वविजेता बन्नुछ ! म किन यति तेज भाग्दैछु ?

मनको भित्री अनकन्टार ठाउँबाट तेर्सिएका यी प्रश्नहरुले मेरो मनलाई छियाछिया बनाइदियो । किनकि, सबै प्रश्नको उत्तर मेरै मनलाई मात्र थाहा थियो । सबैले किन मलाई खोज्दैछन् ? मात्र म जान्दछु ।

ती सबैको एउटै उत्तर हो, मृत्युदेखिको मेरो डर । म मर्न चाहन्नँ । जीवन कति सुन्दर छ, त्यो सुन्दर जीवन म अझ बाँच्न चाहन्छु । तर, तिनीहरु ‘तँ मर्दैछस्, त्यसैले आत्मसमर्पण गर’ भन्दै मेरो खोजी गर्दैछन् ।

म मेरो घरको एउटा अँध्यारो कोठामा लुकेर बसेको छु । ममाथि कोरोना संक्रमणको शंका गरेका छन् । विदेशबाट फर्किंदा प्लेनमा एक जना कोरोना संक्रमित भेटिएपछि साथमा आउने सबैको खोजी सुरू भएको थियो । विश्वमा लाखौँ मानिसलाई सिध्याइसकेको कुरा समाचारमा तथ्याङ्क दिँदै गर्दा आफ्नो पनि मृत्युको घोषणा भइसकेको र अब हलालमात्रै हुन बाँकी भएको महसुस भयो । त्यसैले, मृत्युबाट भाग्दै आज म अँध्यारो कोठाको एउटा सानो खाटमा कुँजिएर बसेको छु । म चाहन्छु, जसरी पुलिस, पत्रकारहरुले मलाई खोज्दै, पत्ता लगाउन सकेनन् त्यसरी नै मृत्यु वा कालले पनि मलाई नभेट्टाओस् । त्यसैले त म चार दिनदेखि आफूलाई बन्द कोठाभित्र बन्दी बनाएर बसेको छु ।

तर, सोचेजस्तो कहाँ भइदियो र ? रूघा त मलाई चार दिनअघि नै लागेको थियो । घाँटी खसखसाउने र खोकी लाग्ने त अस्ति नै सुरू भइसकेको थियो । आज त ज्वरो पनि चर्को हुनथाल्यो । के म अब साँच्चीकै मर्दैछु त ? म मर्ने नै भएँ त ? शंका त आफैँलाई पनि लाग्दै छ । रूघा, सुख्खा घाँटी, खोकी, बढ्दै गरेको ज्वरो र श्वासप्रश्वासमा समस्या हुन थालेको छ । तर, म संक्रमित भएँ भनेर स्वीकार्न चाहन्नँ । त्यसैले त म खोजी हँुदा पनि सम्पर्कमा गइनँ ।

म लुकेर बसेको कुरा आमालाई पनि थाहा नभएको होइन । उहाँ पनि आफ्नो छोरालाई संक्रमण भएको नहोस् भन्ने चाहनुहुन्छ सायद ! त्यसैले त मेरो साथ दिँदै हुनुहुन्छ । तर, मेरो सम्पर्कमा उहाँलाई पनि रूघा लाग्न थालेको थियो । तापनि, उहाँ पनि मजस्तै यो कोरोना संक्रमणको लक्षण हो भनेर स्वीकार्न चाहनुभएन सायद !

एक–दुई दिनमै तलमाथि गर्दै रहने मेरी आमाले पनि बेस्सरी खोक्न थाल्नुभयो । म सिकिस्त हुँदै गइरहेको थिएँ । आमा मलाई भेट्न आउन छोड्नुभएको थियो । म घरमै भएको कुरा आमाले परिवारका अरु कसैलाई भन्नुभएको थिएन । त्यसैले दाइ, भाउजू, बहिनीलाई आमाको खोकीमाथि कोरोनाको शंका लाग्ने कुरै भएन । किनकि, न बाहिरको सम्पर्क थियो घरमा न आमा बाहिर कतै जानु नै भएको थियो ।

आमा पनि ज्वरोले थलिनुभएछ । मेरो रेखदेख गर्ने कोही भएनन् । म झन्झन् शिथिल भएँ । मलाई सास फेर्न गा¥हो हुनथाल्यो । मानौँ, कुनै अज्ञात व्यक्तिले मेरो घाँटी जोडले अँठ्याइरहेको छ । पछिपछि मेरो शिथिल कानमा घरका अरु सदस्यहरुले पनि जोडजोडले खोकेको आवाज सुनिन थाल्यो । चारैतिर नीरस आवाज र कर्कश खोकीबाहेक सुनिएन ।

मृत्युदेखि भाग्दै गरेको म । आखिरमा मृत्युले मेरो घाँटी अँठ्याएजस्तो भान हुनथाल्यो । म जीवन र मरणको दोसाँधमा थिएँ । छटपटाउँदै सकी–नसकी आफ्नो शरीरलाई घिसार्दै म कोठाबाट बाहिर निस्केँ । मेरो एक जोडी कमजोर चक्षुले बीभत्स दृश्यहरु देखे । घरका सबैजना लापर्बाहरुपमा लडेका थिए । खोकी त खोकी, घाँटीमा समात्दै बसेका आमा, दाइ, भाउजू, बहिनी, भदा सबैजना पसिना पसिना भएका थिए ।

थुसथुस खोक्दै गरेका आवाज त बाहिरबाट पनि आउँदै थियो । झ्यालबाट बाहिर कमजोर दृष्टि फ्याकेँ । उहाँ त घिमिरे काका हुनुहुँदोरहेछ । जसको आवाज केही दिनअघि हाम्रो घरमा गुञ्जिएको थियो । उहाँ खोक्दै र हाच्छिउँ गर्दै गुरूजुको घरमा छिर्नुभयो । अरुबेला हाँसो र मजाक सुनिने यो टोलमा आज जताततै खोकेको र हाच्छिउँ गरेको आवाजमात्रै प्रतिध्वनित हुँदै थियो ।

‘यो सब के भयो ?’ मेरो मन अत्तालियो । के यो मेरै गल्ती हो ? मेरै लापर्बाहीका कारण परिवार, टोल, छिमेकी सबै कोरोना संक्रमित भए ? उफ् ! यो मैले के गरेँ ? आफूलाई बचाउने नाममा मैले सबैलाई मृत्युको मुखतिर धकेलेँ । म यी सबैजनाको हत्यारा कहलिन्छु । आफ्नो मनमाथि सब दोष कोचेँ । सास फेर्न गाह्रो भयो । आँखा धमिलो हुँदै गयो । चारैतिर अँध्यारो भयो । म अचेत भएँ र डङ्ग्रङ्ङ भुइँमा पछारिएँ ।

झसङ्ग बिउँझेँ । पसिनैपसिनाले निथु्रक्क भिजेको रहेछु । अँध्यारो कालो कोठा झन् अँध्यारो हुनथाल्यो । सपनाको एक–एक चित्र आँखासामु नाच्न थाल्यो । आफ्नो अन्तिम अवस्था, आमा र परिवारको अवस्था, बाहिर छिमेकीहरुको अवस्था । मेरै कारण भएको परिवार र छिमेकीहरुको हबिगत सम्झेर मन बेचैन भयो । मन पोल्न थाल्यो । यो सपना कुनै कहानी थिएन । सम्भाव्य परिस्थितिको भयानक चित्र थियो । त्यसैले, मैले आफूलाई सुधार्नुपर्छ ।

अझै पनि मलाई नै खोजिँदै गरेको समाचार प्रसारण हुँदै थियो । मृत्युदेखि भागेर कहाँ पो जान सकिएला ? मनले भन्यो । ‘हो त, म मेरो सपनाजस्तो भयावह स्थितिको कारण बन्न चाहन्नँ, त्यसैले मैले सम्पर्कमा जानुपर्छ ।’ आफूलाई सम्झाएँ । त्यसै पनि कति संक्रमित मानिसहरु निको भएर घर पनि फर्केका छन् । बेलैमा विचार पु¥याए अवश्य म पनि स्वस्थ भएर घर फर्किने छु । मनलाई आशावादी बनाएर अँधेरो कोठालाई एकपटक नियालेँ र सम्पर्कको निम्ति दिइएको नम्बरमध्ये एउटामा डायल गरँे, ९८५…..। घण्टी गयो, घण्टी गइरह्यो…..।

[email protected]

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया