राजेश घिमिरे
नेपाली चलचित्रका महानायकको परिचय बनाएका राजेश हमाल अहिले गुपचुपजस्तै छन् । उनले चलचित्रबाट फुर्सद पाउन थालेको चर्चा छ । पचास र साठीको दशकसम्म राजेश हमाललाई पोस्टरमा राखेमात्रै पनि फिल्म चल्छ भन्ने मान्यता थियो, तर अहिले समय बदलिएको छ । पहिलेको मान्यताको ठीकविपरीत हमाललाई फिल्ममा खेलाइए पनि पोस्टरलगायतका प्रचार सामग्रीमा राख्न छाडियो ।
हमालले चरित्र अभिनयमा केही स्थान पाइरहे पनि कुनै समय नेपाली चलचित्र क्षेत्रमा राज गरेका अभिनेता शिव श्रेष्ठ अहिले पूर्ण रुपमा बेरोजगार छन् । नायक भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, सरोज खनाल, कृष्ण मल्लको पनि फिल्मी क्षेत्रमा कुनै चर्चा छैन । पचास र साठीको दशकमा निकै चर्चामा रहेका अभिनेत्रीहरु करिष्मा मानन्धर, कृष्टी मैनाली, बिपना थापा, निरूता सिंह, रेजिना उप्रेती, झरना बज्राचार्य, जल शाह, मेलिना मानन्धर, सृजना बस्नेतको पनि चर्चा शून्य छ । त्यसो त, चलचित्रकर्ममा महिलालाई उमेरले पनि अवरोध गर्ने गरेको छ । तर पनि उनीहरु उमेरअनुरुपको अभिनयमा समेत जम्न सकिरहेका छैनन् । रेखा थापा, झरना थापासम्म आफैँले फिल्म बनाएर भए पनि फिल्मकर्ममा सक्रिय नै छन् ।
पछिल्लो समयमा अभिनेताका रुपमा बलिउडमा उदाएका आर्यन सिग्देल, जीवन लुइँटेल, राजबल्लव कोइराला, सौगात मल्ल तथा अभिनेत्रीहरु नम्रता श्रेष्ठ, प्रियंका कार्की, नीशा अधिकारी, गरिमा पन्त, केकी अधिकारी, सुमिना घिमिरे, बेनिशा हमाल, रीमा विश्वकर्मालगायत व्यस्त देखिन्छन् । उनीहरु भन्दा पनि पछाडि संयम पुरी, अनमोल केसी, सलोन बस्नेत, नम्रता सापकोटालगायतले कलिउडमा स्थान बनाइसकेका छन् । यी सबैले दर्शकका सामु आफ्नो परिचय बनाइसकेका छन् । आफूलाई कलिउडको स्टारका रुपमा दर्ज गरिसकेका छन् ।
नेपालमा अझै पनि फिल्मको व्यापार राम्रो बनाउनका लागि नाम चलेका कलाकार नै चाहिन्छ भन्ने मान्यता छँदैछ । त्यसै मान्यताअनुरुप निर्माता, निर्देशकहरुले पुराना स्टारहरुलाई छाडे पनि फिल्म चलाउने नाममा हालका नयाँ स्टारहरुलाई आफ्नो फिल्ममा लिन प्रतिस्पर्धा भने गरिरहेकै छन् । तर, कुनै पनि स्टार भनिएका अभिनेता वा अभिनेत्रीले खेलेका एक–दुईवटाभन्दा बढी फिल्म सफल बन्न सकेको छैन । स्टार भनिएकालाई दोहो¥याएर, तेह¥याएर लिँदा लगानी डुबाएर चलचित्र क्षेत्रबाट पलायन भएका लगानीकर्ता प्रशस्तै छन् । पटकथा, संवाद र प्राविधिक रुपमा भन्दा चलेका र चिनिएका अनुहारमा ध्यान दिँदा सोचेभन्दा उल्टो नतिजा बढी आउने गरेका दुःखद् दृष्टान्तहरु छन् ।
भारतमा जस्तो हिरोको नामले फिल्म चल्ने अवस्था नेपालमा छैन । हाल बलिउडमा जस्तै कुनै समय नेपालमा पनि राजेश हमालको एङ्ग्री ब्वाईको भूमिका दर्शकले खुबै रूचाउँथे । तर, अचेल राजेश हमालको त्यस्तो क्रेज छैन । फिल्ममा ठूलै भूमिकामा छन् भने पनि प्रचार सामग्रीमा उनी लुकाइन्छन् । त्यस्तै, अहिलेका चल्तीका नायकद्वय आर्यन सिग्देल र जीवन लुइँटेलको कलिउड प्रवेश बिल्कुलै ओजनदार थियो । तर, अहिले उनीहरुलाई दर्शकले त चिन्लान्, उनीहरुले खेलेको फिल्मभित्र गुदी केही भेटिँदैन । नम्रता श्रेष्ठ र नीशा अधिकारी नायिकाका रुपमा चर्चाको शिखरमा पुगे, दर्जन बढी फिल्म खेले । तर, सफल फिल्म एक–दूईवटा भन्दा दिन सकेनन् । लगानीकर्ता डुबे, नायक–नायिका मात्र हिट भए ।
तर, तथ्यहरुले भन्छन्, ‘अहिलेका नेपाली दर्शकले स्टारभन्दा कथा र प्राविधिक पक्ष हेर्छन् ।’ २०७० सालमा सुपरहिट फिल्म ‘छ एकान छ’ र ‘नाइँ नभन्नु ल–२’ मा ठूलो पर्दाका कोही सुपरस्टार छैनन् । ‘छ एकान छ’ सानो पर्दाका हास्य टेलिश्रृंखलाका कलाकारहरु खेलेर हिट भयो भने ‘नाइँ नभन्नु ल–२’ बालबालिकाको अभिनयले सुपरहिट भयो । दुवै चलचित्रले इतिहास रचे । यीबाहेक अन्य नेपाली चलचित्रले ठूलो उपलब्धि हासिल गर्न सकेनन् । केहीले थोरै नाफा निकाले, केहीले लगानीसम्म उठाए, तर प्रायः ले निर्माता डुबाए ।
‘नाइँ नभन्नु ल–२’ ले नेपालमा फिल्म चल्न नाम चलेका स्टारको आवश्यकता छैन भन्ने गतिलो प्रमाण पेश गरेको छ । बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई मूख्य पात्र रहेको यस चलचित्रले प्रदर्शनमा आएको दुई हप्ता नबित्दै लगभग दुई करोडको व्यापार गरेर रेकर्ड राखिदियो । यी दुईलाई दर्शकले यसअघि देखेकै थिएनन् । कहीँकतै देखेको भए पनि याद गरेका थिएनन् । बालगायक प्रेम परियारले त सारा दर्शकलाई मोहितै पारे । उनलाई पनि फिल्मी दर्शकले ‘नाइँ नभन्नु ल–२’ मै पहिलो पटक सुनेका हुन् । यस फिल्मका अर्का मुख्य अभिनेता सुरजसिंह ठकुरी पनि चलचित्र क्षेत्रमा नयाँ हुन् । प्रियंका कार्की र सरोज खनाल फिल्मी दुनियाँमा पुराना भए पनि फिल्मको सफलताको पछाडि यी दुईको भन्दा अन्य तीन जनाकै बढी हात रहेको स्पष्ट देखिन्छ । यस फिल्मको संवाद दमदार छ । कथावस्तु नेपाल सुहाउँदो छ, प्राविधिक पक्ष पनि ठीक छ अनि कोही पनि कलाकारलाई अस्वाभाविक लाग्ने गरी प्रस्तुत गरिएको छैन । कथा बन्ने समयमा कतै–कतै चुके पनि फिल्म हेर्दा खासै पट्यार लाग्दैन । यत्तिको फिल्म बनाउने डुब्नुहुँदैन भन्ने नै लाग्छ दर्शकलाई । बालकलाकार अनुभव र सुज्ञानी अनि बालगायक प्रेम परियार र निर्देशक विकास आचार्यले नेपाली चलचित्र क्षेत्रमा फस्टाएको स्टारडमको बिगबिगीलाई दह्रो झापड दिएका छन् । निर्देशक आचार्यले ‘नाइँ नभन्नु ल–२’ मार्फत फेरि एक पटक आफ्नो खुबी गज्जबसँग प्रदर्शन गर्दै अब्बल दर्जाको नेपाली निर्देशकका रुपमा आफ्नो नाम दर्ज गरेका छन् ।
नेपाली फिल्मका दर्शकहरु अबुझ छैनन् । फिल्मको स्तरअनुसार भाउ दिन सक्षम छन् । यदाकदा कलाकारहरुले नेपाली चलचित्रलाई वास्ता नगरेर बलिउड, हलिउड चलचित्र मात्र हेर्ने गरेको भनेर दर्शकमाथि आरोप लगाउँछन् । तर, दर्शकले नेपाली चलचित्रलाई वास्ता गर्दैनथे भने ‘छ एकान छ’ र ‘नाइँ नभन्नु ल–२’ हेर्न देशभरका हलहरु खचाखच किन हुन्थे ?
चलचित्र सफल हुनुको प्रमुख कारण कथावस्तु र संवाद नै हो, कलाकार त सहायक हुन् । निर्देशकीय क्षमता, गीत, संगीत र प्रचारप्रसारको शैलीले पनि चलचित्रलाई राम्रै प्रभाव पार्छ । तर, नाम चलेका स्टार लिएर मात्रै फिल्म सफल हुन्छ भन्ने मानसिकता बिल्कुलै गलत हो । यदि त्यस्तो हुन्थ्यो भने ‘नाइँ नभन्नु ल–२’ को अघि शिव रेग्मीको अन्तिम फिल्म भनेर व्यापक प्रचार गरिएको ‘मनले मनलाई छुन्छ’ आर्थिक रुपले किन निरीह सावित हुन्थ्यो ? विरेन श्रेष्ठ र गरिमा पन्त अभिनीत ‘मनले मनलाई छुन्छ’ लाई नराम्रो भन्न खोजिएको होइन । शिव रेग्मीले आफ्नै धारमा निर्माण गरेको यो फिल्मको कथा राम्रो छ । तर, संवादलाई उत्कृष्ट बनाउन सकिएको छैन । गीत, संगीत कामचलाउ मात्रको छ । हास्यरसले दर्शकलाई मनोरञ्जन दिए पनि शिव रेग्मीका अन्य फिल्ममा जस्तै यसमा पनि अस्वाभाविक लाग्ने दृश्यहरु धेरै छन् । जस्तैः द्वन्द्वका दृश्यमा नायकलाई जोगाउन कोही व्यक्ति भगवान्झैँ गरी प्रकट हुनु । यस्ता सिक्वेन्सहरु नयाँ पिँढीका दर्शकहरुलाई पच्दैन ।
स्वाभाविक कथालाई, स्वाभाविक ढंगले बुनेर, वास्तविक रुपमा प्रस्तुत गर्न सक्नु निर्देशकको खुबी हो । केही वर्षअघिसम्म शिव रेग्मी धारका चलचित्रले दर्शकको मन खुबै जित्दथे, हलमा पाइला टेक्ने ठाउँसम्म भेटिन्थेन । तर, समयक्रमसँगै नेपाली चलचित्रलाई हिन्दी र अंग्रेजी चलचित्रसँग तुलना गरेर हेर्ने युवा दर्शकहरुको मागलाई शिव रेग्मी धारको फिल्मले सम्बोधन गर्न सकेन । अबका दिन चलचित्रको निर्माण शैलीलाई समयानुकूल परिमार्जन गर्न नसक्ने हो भने मूलधारका चलचित्र भनिने त्यस्ता चलचित्र अनि त्यस्ता चलचित्रहरुले तयार पारेका स्टारहरु संकटमा पर्ने निश्चित छ । प्रचार सामग्रीमा चलेका कलाकारको टाउको राखेर फिल्म चलाउने दिन अब रहेन ।
नेपालमा चलचित्रका लागि करोडौँको लगानी हुन थालिसक्यो । पुराना चलचित्र भवनहरु जीर्ण हुन थाले । नयाँ पुस्ताका युवाहरुलाई आकर्षित गराउन ठूला लगानीमा सिनेमा हलहरु तयार भइरहेका छन् । ती हलहरुलाई पुराना धार र शैलीका फिल्मले ‘बिजनेस’ दिन सक्दैन । परिणामस्वरुप, ठूला लगानीका सुविधासम्पन्न हलहरुमा बलिउड र हलिउडका फिल्मले स्थान पाइरहेका छन् । पछिल्लो पटक वैशाख ३ गते राजधानीबाहिरकै पहिलो सुविधासम्पन्न सिनेमा हल दाबी गर्दैे नारायणगढको लायन्सचोकस्थित केएल महलमा सीम्याक्स सिनेमा सञ्चालनमा ल्याइयो । चलचित्र क्षेत्रका हस्तीहरु शिव श्रेष्ठ, नीशा अधिकारी र अशोक शर्मालाई ल्याएर तामझामका साथ उच्चस्तरको प्रविधियुक्त उक्त सिनेमा हलको उद्घाटन गरियो । उद्घाटनलगत्तै हल सञ्चालकले सबै अतिथिहरुलाई हलका कुर्सीमा बसाए । हिन्दी फिल्म ‘धुम–३’ देखाइयो । नेपाली फिल्मका कलाकार, पत्रकार, व्यावसायीलगायतका अतिथिहरु तीन घन्टा बसेर धुम–३ हेरेर फर्किए । यसको मतलब, ठूला लगानीका हलहरु नेपाली फिल्म चलाउनका लागि बनाइँदैन, किनकि कलिउडले यस्ता हलहरुलाई स्तरीय फिल्म दिन सकिरहेको छैन । पुराना हलहरुमा पुरानै धारका फिल्म चलाएर पुरानै वर्गका दर्शक तान्ने काम धेरै भइरहेको छ अहिले ।
उच्च प्रविधिबाट सञ्चालन गरिएका सुविधासम्पन्न हलहरुले समेत नहिच्किचाउने स्तरको फिल्म निर्माण अबको चुनौती हो । नेपालकै बजार समात्न नसकिरहेको समयमा विदेशी बजार खोज्दै हिँड्नु हास्यास्पद हुन्छ । पहिले नेपाली बजार आफ्नो नियन्त्रणमा राख्न सकियो भने त्यसपछि मात्र विदेशी बजारको खोजी गर्नु उपयुक्त हुन्छ ।
Discussion about this post