रामलालको निर्वाचन क्षेत्रमा बागमती प्रदेशको ४४ योजना

अन‌ि यो पनि

भरतपुर । चितवन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद् रामलाल महतोको निर्वाचन क्षेत्रमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०७७/७८ का लागि ४४ वटा योजना स्वीकृत भएका छन् ।

भरतपुर महानगरपालिकाको १३, १४, २१ देखि २५ नम्बरका वडाहरु र माडीका ९ वडाहरु रहेको चितवन ३ (ख) निर्वाचन क्षेत्रमा विद्यालयको भवन निर्माण, सडक कालोपत्रे, पुल निर्माण, सिंचाइ योजना, खोला नियन्त्रणलगायतको क्षेत्रमा बजेट विनियोजन भएको छ ।

प्रदेश सांसद् रामलाल महतोका अनुसार भरतपुर–६ र १३ मा पर्ने देवनगर खानेपानी योजनाका लागि ४ करोड विनियोजन भएको छ भने भरतपुर–२२, धनौजीमा निर्माणाधीन कभर्ड हलका लागि ३ करोड ६६ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै, भरतपुरको जगतपुर–पार्वतीपुर–शुक्रनगर डिप ट्युवेल सिंचाइ योजनाका लागि १ करोड, जगतपुरको भरतपुर प्राविधिक शिक्षालयका लागि १ करोड, आधारभूत विद्यालय सुन्दरबस्तीका लागि १५ लाख, जनज्योति आधारभूत विद्यालयका लागि २० लाख, राष्ट्रिय मावि शोशी भरतपुर–२५ का लागि २० लाख, पटिहानी बजार–वीरेन्द्रनगर–गर्भेटाँडी हुँदै सवारी खोलातर्फको सडक कालोपत्रेका लागि १ करोड, पटिहानी–पर्सा–जगतपुर कुलो सिंचाइका लागि १ करोड ५० लाख बजेट परेको छ ।

भरतपुरतर्फ १४ नम्बर वडाको घान्दु्रके चोकनजिकको सडक कालोपत्रेका लागि ४५ लाख, २४ को देवीस्थान पार्कलाई २५ लाख बजेट परेको छ । भरतपुर–१४ मा केरूङ्गा खोला नियन्त्रणका लागि ३० लाख, भरतपुर–१३ सीतामाई राप्ती नदी तटबन्धका लागि १० लाख विनियोजन भएको छ ।

यस्तै, माडी क्षेत्रमा वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि निजी, सार्वजनिक तथा नदी उकास जग्गामा जडीबुटीखेतीका लागि ३० लाख, सामूहिक खेतीको निरन्तरताका लागि ३० लाख, रिउ नदी नियन्त्रण गुरूयोजनाअन्तर्गत सिंचाइ एवं नदी नियन्त्रणसम्बन्धी अनुसन्धान तथा परामर्शका लागि २० लाख, बाँदरमुढे खोला कल्याणपुर बजार हुँदै शिवराजपुर जोड्ने सडकका लागि १० लाख, गर्दी र बघौडा खानेपानी आयोजनाका लागि समान ९०/९० लाख तथा कल्याणपुर खानेपानी आयोजनाका लागि ३० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, मुगई सिंचाइ आयोजनाका लागि ३ करोड, राधापुर सहरी स्वास्थ्य क्लिनिकबाट सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट छरछरेसम्मको बाटो कालोपत्रे गर्ने कार्यका लागि ५ लाख, सोमेश्वरगढी जाने सडकमा ढल निर्माणका लागि ३७ लाख, माडी नगरपालिका–२, पर्सा चोकदेखि पूर्व बैराठ जाने सडकको कालोपत्रेका लागि ३० लाख, घाँघर सिंचाइ आयोजनाका लागि ५ लाख, घाँघर खोला नियन्त्रण कार्यअन्तर्गत माडी–८ र ९ मा अनार घाँघर सिंचाइ योजनाका लागि ४० लाख रूपैयाँ विनियोजन भएको छ ।

माडीको चितही खोला सिंचाइ योजनालाई १ करोड, माडी–३ बघौडामा निर्माणाधीन कभर्ड हललाई ३ करोड, माडीको खरकट्टा–शिवद्वार खानेपानी, रत्ने खोलामा पुल, अम्बाबास– लक्ष्मुनिया सडक कालोपत्रेलाई ५० लाखका दरले बजेट परेको छ । ६ नम्बर वडाको पुष्पलाल–मदन भण्डारी पुष्पवाटिका निर्माण, माडी–८ र ९ को घाँघर खोला सिंचाइमा ४० लाखका दरले बजेट परेको छ ।

रिउ खोला नियन्त्रण र करिडोर निर्माणका लागि १ करोड, रिउ बगई सिंचाइ योजनाको मर्मत कार्यका लागि २० लाख, माडी नगरपालिका–२ मा चिताई सिंचाइ आयोजनाका लागि १ करोड, माडी–४ मा रहेको रेडहिल पार्कमा पिकनिक स्थल निर्माणका लागि ३० लाख विनियोजन भएको छ ।

यस्तै, पुष्प–मदन वाटिका निर्माणका लागि ४० लाख, माडी नगरपालिका–२ मा सहिद पार्क निर्माणका लागि २५ लाख, माडी–८ खरकट्टा र शिवद्वारमा खानेपानी आयोजना सञ्चालनका लागि ५० लाख, माडी नगरपालिका–३ मा बहुवर्षीय क्रमागतअन्तर्गत कभर्ड हल निर्माण कार्यका लागि ३ करोड विनियोजन भएको चितवन क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद् रामलाल महतोले जानकारी दिए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...