भरतपुर । देवघाट क्षेत्र विकास समितिको बैंक खाताबाट २५ हजार ९०० रूपैयाँ अज्ञात व्यक्तिले झ्वाम पारेका छन् । समितिको बैंकमा प्रयोग हुने चेकबुकको बीच भागमा रहेको एकप्रति चेक हराएपछि यो घटना सार्वजनिक भएको हो ।
समितिका निर्देशक र लेखापालको हस्ताक्षरबिना चेक साटिदैन । तर, रकम झिक्ने व्यक्तिले दुवैजनाको हस्ताक्षर किर्ते गरेर चेक साटेको पाइएको छ । क्षेत्र विकास समितिको पदाधिकारी यसअघि नै हटिसकेका छन् । नयाँ पदाधिकारी अझै नियुक्त भएका छैनन् । खाली चेकमा रकम भर्ने र किर्ते गर्ने काम भएको हो ।
यस घटनाले विकास समितिको कार्यालयको लापरबाही देखाएको छ । कार्यालयको हिसाब अडिट गर्ने क्रममा चेकबाट रकम हराएको पत्ता लागेको स्रोतले बतायो ।
क्षेत्र विकास समितिको प्राइम बैंक भरतपुरमा रहेको खाताबाट उल्लेखित रकम हराएको सम्बन्धमा चैत्र २४ गते नै थाहा भएपनि भित्रभित्रै मिलाउने प्रयास भएको थियो । उक्त चेक कसले साटेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको समितिका अध्यक्ष जयकुमार सुवेदीले बताए ।
‘चेकमा लेखिएको अक्षरका आधारमा कर्मचारीहरुसँग सोधपुछ गर्ने काम गरिरहेका छौँं, निर्देशक सुवेदीले भने,‘घटनामा संलग्नलाई छिटै पत्ता लगाउनेछौँ ।’
कार्यालयका लेखापाल किरण पौडेलले चेक प्रयोग गरी रकम झिकिएको बताउँदै संलग्नको खोजी भइरहेको बताए ।
Discussion about this post