हाम्रो सजगता र संक्रमणको अवस्था

अन‌ि यो पनि

–सन्तोष पन्त

पृष्ठभूमि

गत वर्ष पौष महिनामा चीनमा पहिलोपटक देखा परेको कोभिड–१९ को संक्रमणको महामारी तीव्र गतिमा विश्वभर फैलिएकोले महामारीको नियन्त्रण गर्न विकसित देशहरुलाई समेत हम्मेहम्मे परेको छ । ठूलो, सानो, धनी, गरिब कोही नभनी संक्रमणले सबै तह र तप्काका मानिसहरुलाई संक्रमित बनाएको छ । विश्व स्वास्थ्य संगठन नै अलमलमा परेको जस्तो देखिने यो भाइरसको संक्रमण कतिञ्जेलसम्म रहने हो, कतिको ज्यान जाने हो, विश्व अर्थतन्त्र कता जाने हो ? सबैलाई चिन्ताको विषय बनेको छ । कोरोना भाइरस संक्रमणबाट संक्रमित व्यक्तिमा देखिने लक्षणको उपचार गर्नेदेखिबाहेक औषधि, खोप आदि कुनै पनि विकल्प पत्ता नलागेको यो महामारीको एउटामात्रै बच्ने उपाय भौतिक दूरी कायम र स्वास्थ्य सतर्कता हो । जसका लागि प्रायः सबै देशले लकडाउन (बन्दाबन्दी)लाई अपनाएकोमा नेपालले पनि एक जना संक्रमित भएको अवस्थामा लकडाउनको आदेश जारी ग¥यो । गत वर्ष चैत्र ११ गतेदेखि लागू भएको पहिलो र दोस्रो लकडाउनको अवधिमा प्रायः कोही पनि घरबाट निस्केनन्, घरका परिवारहरु पनि एउटै कोठामा सुतेनन्, खाना खाँदा पनि प्रायः पालो गरेर खाए, दीर्घरोगी, वृद्ध, बालबालिका र गर्भवती महिलामाथि धेरै हेरविचार गरियो । कोही कसैको घरमा गएनन्, माइती—मामली, दाजु—भाइ, इष्ट—मित्र सबै भौतिकरुपमा टाढा भए । मेरो कारणले मेरा परिवारका सदस्य, इष्टमित्र आदिलाई संक्रमण नसरोस्, म संक्रमणको कारण बन्नुहुँदैन भन्दै सजगता अपनाएको पाइयो । हामी घरबाट ननिस्केसम्म कोरोना हाम्रो घरसम्म आइपुग्दैन भन्ने मान्यतालाई आत्मसात् गरी निस्कँदै निस्केनन् । अत्यावश्यक कामले बाहिर निस्कनेहरु पनि अत्यन्त सचेत भएर निस्के । मुखमा मास्क, हातमा पञ्जा, शरीरमा लामा–लामा कपडा, जुत्तामोजा, यथासम्भव चिप्ला कपडा आदि लगाए, कतिले त पानी नपरेको समयमा बर्सादी लगाएर हिँडेको पनि देखियो । जे होस्, समुदायमा संक्रमण नभित्रिँदैको अवस्थामा हामी अत्यन्त सजग भयौँ, जुन आवश्यक पनि थियो ।

विगतको अवस्था

कोरोनाको कहर यति लामो समयसम्म रहला, यति लामो समयसम्म कुनै औषधि वा खोप ननिस्केला भन्ने पूर्वानुमान कसैले पनि नगरेकोले राज्यले समेत कुनै तयारी गर्न सकेन । जब जब विकसित देशहरु आत्तिँदै गए हामी पनि आत्तिँदै गयौँ, तर विदेशबाट नेपालमा भित्रिएका नेपालीहरु बाहेक अरुलाई लामो समयसम्म नफैलिएपछि झिनो आशा पलायो, हाम्रो हावापानी, हाम्रो शरीरको रोगप्रतिरोधात्मक क्षमता, हाम्रो भान्छा आदि यसलाई परास्त गर्न सक्ने खालका छन् भन्ने लाग्यो । कोरोनाविरूद्धको औषधिका रुपमा विज्ञानले प्रमाणित नगरे पनि शरीरमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भनी मानिएका मह, बेसार, कागती, गुर्जो, मेथी, अदुवा आदिको सेवनको दर ह्वात्तै बढ्यो । यसले हामीलाई केही फाइदा पु¥याएको पक्कै होला, तर जब भारतबाट नेपालीहरु भित्रिने क्रम बढ्यो सरकारले उनीहरुलाई उचित व्यवस्थापन गर्न सकेन, पहिलो चरणमा त भारतमै रोक्ने प्रयास पनि भयो । मातृभूमि र परिवारको मायाले उनीहरुलाई सरकारले कोरेको लक्ष्मणरेखाले छेक्न सकेन, जसरीतसरी नेपाल भित्रिए । भारत सरकारले समेत नेपालीहरुलाई सरकारसँगको भद्र सहमतिअनुसारको व्यवहार गरेन, अझै रेलसेवा सञ्चालन गरेर सीमासम्म ल्याएर थुपार्न, कुबाटोबाट नेपाल भिœयाउने कार्यमा सहयोग गरेको देखियो । नेपाल सरकारले भारतमा रहेका नेपालीहरुलाई भारतमै रोक्न नसक्ने देखेपछि पुनः नियन्त्रित गतिमा नेपाल भिœयाउने तयारी ग¥यो, तर चाप यति ठूलो भयो कि थेग्नै सकेन र अव्यवस्थितरुपमा भिœयाउन बाध्य भयो । कति नेपाली भारतलगायत तेस्रो मुलुकमा छन्, कति नेपाल फर्किन सक्छन् भन्ने तथ्याङ्क नभएकोले सरकारबाट त्यसको व्यवस्थापनको तयारी हुन सक्ने त कुरै भएन, एक–दुईबाहेक क्वारेन्टाइनमा भद्रगोल देखियो, जसका कारण संक्रमण समुदायमा फैलियो ।

सरकारले पटकपटक गरेर करिब ३ महिना लकडाउन (बन्दाबन्दी)को आदेश जारी गरे पनि पर्याप्त व्यवस्थापन तथा परीक्षण गर्न नसकेको भनी टीकाटिप्पणी भए भने आमसर्वसाधारणको चुलो बल्नसमेत छोड्यो, अब रोगले भन्दा भोकले मरिन्छ भन्ने गुनासाहरु छरपस्ट भए । कोरोना संक्रमण कहिलेसम्म यकिन नभएकोले सुरक्षित र सजग भई यसैसँग बाँच्न सकेमात्रै भोकले मरिँदैन भनी सरकारलाई लकडाउन खुकुलो गर्न दबाब सृजना भयो । करिब ३ महिनाको लकडाउनमा संक्रमणबाट बच्ने सुरक्षा सजगताबारे सबै नेपाली जानकार छन् भन्नेमा सरकारसमेत विश्वस्त भयो अनि कोरोना संक्रमण बढ्दै गर्दा, समुदायमै फैलिइसकेको अवस्थामा पनि नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ जेठ २८ गते बसेको बैठकले लकडाउन (बन्दाबन्दी)को आदेश यही आषाढ १ गतेदेखि खुकुलो हुने भनी निर्णय ग¥यो । एकआपसमा दुई मिटरको दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्डलाई अनिवार्यरुपमा पालना गर्ने गरी लकडाउनमा आएको सहजतालाई हामी आमनेपालीले लकडाउन खुलेको, संक्रमणको सम्भावना नभएको अर्थमा बुझेको जस्तो देखिन्छ अहिले । एकातिर कोभिड–१९ को संक्रमण झन्डै १० हजार पुग्नु, २३ जनाको मृत्यु हुनु, करिब १ लाख व्यक्ति अझै पनि अव्यवस्थित क्वारेन्टाइनमा रहनु र ७ हजारभन्दा बढी आइसोलेसनमा हुनुका साथै हजारौँको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहनुले नेपालको अवस्था भयावह देखिन्छ भने अर्कोेतिर लकडाउनको आदेशमा आएको खुकुलोपनासँगै हाम्रा व्यवहारमा भएका परिवर्तनले झनै भयावह बनाएको छ ।

वर्तमान अवस्था

हुन त, कोरोनासँगै बाँच्न सक्नुपर्दछ भनी हामी धेरैलाई जानकारी भइसकेकोले पनि हामीले लकडाउनको सुरूका दिनमा पालना गर्ने गरेको सजगतालाई बिस्तारै घटाउँदै लगेको अवस्था त थियो नै । तर, आषाढ १ गतेदेखि जब लकडाउनको मोडालिटी फेरियो, हामीले सबै अवस्था सामान्य भएको जस्तो व्यवहार गर्न थाल्यौँ । करिब ३ महिना भेट्नु नपरेको साथी–सँगाती, माइती–मामली, इष्ट–मित्र, दाजु–भाइ सबैलाई यो एक हप्तामै भेटिसक्यौँ । लामो समयसम्म भौतिक उपस्थितिमा नभएका सभा, गोष्ठी, बैठकहरु समेत आयोजना ग¥यौँ । उद्घाटन, शिलान्यास, विवाहलगायतका समारोहहरुमा निस्सङ्कोच सहभागी भयौँ । सामूहिक तस्बिर खिच्न र पोस्ट गर्नसमेत भ्यायौँ । सरकारी कार्यालय, वित्तीय संस्थाहरु, प्रायः सबै प्रकारका व्यापार व्यवसायहरु खुल्ला ग¥यौँ । शिक्षकहरुलाई विद्यालयमा उपस्थित गरायौँ, घरदैलो कार्यक्रम सम्पन्नसमेत ग¥यौँ, भर्ना अभियान पनि सुरू ग¥यौँ । आर्थिक वर्षका अन्तमा हुने विकास निर्माणका कार्यहरु समेत दु्रतगतिमा सम्पन्न गर्ने धुनमा लाग्यौँ, जसका लागि जो जहाँ जानुपर्ने हो पुग्यौँ पनि र हिँडिरहेका पनि छौँ ।

हिजोका दिनमा डेरी, खाद्य स्टोर, वित्तीय संस्थाहरुमा पहुँचको नियन्त्रणका लागि लगाइएको डोरीको अस्थायी ब्यारिअर पनि हटाएको अवस्था छ भने भौतिक दूरी कायम गर्न जमिनमा लगाइएका सर्कलहरु समेत मेटिएको अवस्था छ । व्यवसाय गर्नेहरुले नगदको लेनदेन गर्दा लगाउने गरेका पञ्जा आज छैनन् । कतिको त अनुहारमा मास्क नै छैन र भएका मास्कहरु पनि कतिका मुखमा मात्र छन्, कतिका चिउँडो र गलामा झरिसके । हिजोका दिनमा कोही नजिक आउँदा झस्कने हामीहरु टाँसिएरै बस्न सुरू गरेका छौँ भने कसैको घरभित्र प्रवेश गर्न नमान्ने हाम्रा पाइलाहरु आज सरासर कसैको भान्छा, बैठकसम्म पुग्न हिचकिचाउँदैनन् । लामो अवधि सेवन गर्न नपाएको मादक पदार्थका लागिसमेत बाटो खुलेको छ ।

सडकमा जोर–बिजोर प्रणालीमा निजी सवारी चलाउने भन्ने आदेश भए पनि प्रहरीको चेक प्वाइन्ट छलेर, विभिन्न बहाना बनाएर, खल्तीमा औषधि राखेर हिँड्ने क्रम पनि जारी नै छ । म दैनिक हिँड्नैपर्ने मानिस हुँ भन्ने पार्नका लागि जुनसुकै होस् परिचयपत्रको फित्ता घाँटीमा राखेर हिँड्ने गरेको, सवारीमा विभिन्न प्रकारका ब्यानर, सूचना टाँसेर अत्यावश्यक सेवा देखाउने गरेको पनि देखिन्छ । मोटरसाइकलमा चालकमात्रै र अन्य सवारीमा चालकबाहेक २ जनामात्रै भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन ।

बालबालिकाहरु सहित ४ जना राखेर मोटरसाइकल चलेको, जिप, कारभरि मानिस ओहोरदोहोर गरेको आदि प्रशस्त देख्न पाइन्छ । सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरे पनि साना सवारीहरु ट्याक्सी, अटो, म्याजिक, ई–रिक्सा आदि फाट्टफुट्ट चल्न थालेको देखिन्छ भने यात्रीहरु ओसार्न बार्गेनिङ गरेको पनि सुनिन्छ । यात्रीहरुले मालवाहक सवारीको प्रयोग गरेर वा अन्य प्रयोजनका सवारी प्रयोग गरेर लामो यात्रासमेत तय गरेका छन् । नियन्त्रित सिट क्षमताको त के कुरा अटोमा चालक सिटको दायाँबायाँ पनि मानिस चढेको देखिएको छ । यसरी हामी बिस्तारै सरकारका निर्देशन, स्वास्थ्य सतर्कता आदिलाई पालना गर्न छोड्दै, मिच्दै हिँड्न थालेकोले समुदायमै फैलिइसकेको संक्रमणको जोखिमले जुनसुकै बेला पनि हामीलाई समात्न सक्छ । अहिलेको करिब १० हजारको संक्रमणले त हामीलाई यो अवस्थामा पु¥याएको छ भने झनै बढेमा के हुने होला, कल्पना गरौँ त !

निष्कर्ष

हाम्रो देशमा स्वास्थ्य सेवाका लागि करिब ९ हजार शøया, कोभिड–१९ उपचारमा करिब २ हजार शøया र देशमा कुल ६०० को संख्यामा मात्र भेन्टिलेटर उपलब्ध भएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले संक्रमितमध्येका १५ प्रतिशतलाई अस्पतालमै उपचार गराउनुपर्ने र ५ प्रतिशतलाई भेन्टिलेटर नै चाहिने तथ्य औँल्याएकोले हामी अहिलेसम्म जेनतेन अस्पतालमा बेडसम्म प्राप्त गर्ने अवस्थामा छौँ भने देशभरका सबै भेन्टिलेटर चलेको अवस्थामा र कोरोना संक्रमणका बिरामीलाई मात्र प्रयोग गरेको अवस्थामा भेन्टिलेटर प्राप्त गर्ने अवस्थामा छौँ । तर, हजारौँ संख्यामा रिपोर्ट आउन बाँकी रहेको अवस्थामै देखिएको यो भयावह स्थितिले कोरोनाविरूद्धको लडाइँमा हाम्रो क्षमता अत्यन्त कम रहेको देखिएकोले भोलिका दिनमा हामीले अस्पताल नपाउने, बेड नपाउने, उपचार नपाउने आदि कुरामा सोच्न बाध्य बनाएको छ ।

तसर्थ, हामी सबैले बुझ्नु जरूरी छ कि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको मात्र हो, लकडाउन खोलेको पटक्कै होइन । अहिले संक्रमणको भय झन् बढेको छ, तसर्थ हामी गत चैत्र, वैशाख महिनामा जसरी सजगता अपनाएका थियौँ त्यसैगरी सजगता अपनाउँदै आफ्ना दैनिकी सञ्चालन गर्न आवश्यक छ । मबाहेक बाँकी सबैलाई कोरोना संक्रमण भएको हुन सक्छ, मैले भौतिक दूरी र सजगता कायम गर्नुपर्दछ भन्ने एक सूत्रीय सोच राखौँ र व्यवहारमा लागू गरौँ । सबै सुरक्षित होइन्छ र कोरोनालाई परास्त गर्न सकिन्छ । अन्यथा, हामी अत्यन्त जोखिमको अवस्थामा रहेकोले जुनसुकै बेला जे पनि हुन सक्छ, समयमै विचार गरौँ ।

(लेखक सेवानिवृत्त प्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् ।)

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया