एकल महिलाको सम्मान गरौँ

अन‌ि यो पनि

संयुक्त राष्ट्रसंघको सहासभाले सन् २०१० डिसेम्बरमा हरेक वर्ष जुन २३ मा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् हराएका, सम्बन्धविच्छेद गरेका, बिहे नगरी बसेका ३५ वर्षमाथिका महिलालाई एकल महिला भनी परिभाषित गरेको छ । हरेक दिवसहरु आफैँमा मह¤वपूर्ण हुन्छन् । एकल महिला दिवस पनि लाखौँ एकल महिला तथा तिनीहरुका आश्रितले भोग्नुपरेका गरिबी, विभेद र अन्यायलाई सम्बोधन गर्नका लागि जुन २३ मा मनाइँदै आएको हो । यद्यपि, एकल महिलाहरुले अझै पनि सामाजिक विभेद, हिंसा र सम्मानित जीवन जिउन पाएका छैनन् । अझै पनि एकल महिलाका पीडा, सामाजिक अवहेलना सार्वजनिक भइरहेका छन् । नेपाली समाजमा अझै पनि बोक्सीको आरोप झेल्ने एकल महिला नै बढी हुन्छन् । जसलाई सम्मान गरिनुपर्ने हो तिनै व्यक्तिमाथि सामाजिकरुपमा अन्याय, अभाव र अमानवीय व्यवहार हुँदै आएका पाइन्छन् । हामीले एकल महिला दिवस मनाउन थालेको एक दशकको अवधिमा नेपालमा पनि राजनीतिक क्षेत्रमा थुप्रै परिवर्तन भए । लैंगिक समानता र महिला अधिकारसम्बन्धी विभिन्न ऐन, कानुन बने । तर, पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा एकल महिलाका हकअधिकारहरु ओझेलमा परिरहेका छन् ।

नेपालमा कुल जनसंख्याको ६ प्रतिशत अर्थात् १६ लाख बढी एकल महिला रहेका छन् । राज्यको सबैभन्दा उच्च पदमा अर्थात् राष्ट्रपतिमा एकल महिला (विद्यादेवी भण्डारी) नै रहे पनि एकल महिलाले भोग्नुपरेको पीडा, समस्या र विभेदमा कमी आउन सकेको छैन । एकल महिलाका यावत् समस्याबारे पक्कै पनि राष्ट्रपति भण्डारी अनभिज्ञ छैनन् । कुनै पनि महिला एकलरुपमा जीवन बिताउँदैमा, श्रीमान्बाट अलग हुँदैमा ती महिलाको जन्मसिद्ध अधिकार हनन हुनुहुँदैन । राज्यले १६ लाख हाराहारीमा रहेका ती महिलालाई सम्मानजनकरुपमा समाजमा जीवनयापन गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हुन्छ । पछिल्लो समय एकल महिलाबारे आमधारणा र व्यवहारमा केही परिवर्तन आए पनि एकल महिलाबारे समाजमा भिन्दै दृष्टि राख्ने गरिन्छ । एकलरुपमा संघर्ष गर्दै आएका महिला अवश्य पनि सम्मानका हकदार हुन्छन् । ती वर्गमाथि समाजमा चेतना भएकाहरुबाट सहयोग, सान्त्वना, हौसला र असल व्यवहारको खाँचो हुन्छ । तर जसले सहयोग, सद्भाव र माया गर्नुपर्ने हो तिनैबाट दुव्र्यवहार, हिंसा, आक्षेप भोग्नुपर्ने नियतिका कारण एकल महिलाको जीवन नारकीय बन्न पुग्छ । समाजमा शिर ठाडो पारेर बाँच्न पाउने अधिकारबाट वञ्चित हुँदा एकल महिलाहरु झनै पीडित बन्न पुग्छन् ।

समाजमा एकल महिलाका रुपमा संघर्ष गर्नेहरु हाम्रै आमा, काकी, फुपू, सासू, दिदीबहिनी नै हुन् । एकल महिला भएकै कारण समाज, परिवार र आफन्तबाटै मानसिकरुपमा प्रताडित हुनुपर्ने नियतिले विभेद कायमै रहेको देखाएको छ । पछिल्लो समय एकल महिलाका पक्षमा काम भएका पनि छन् । जस्तैः सरकारी सेवामा रहेका श्रीमान्को निधनपश्चात् निवृत्तिभरण, बिमा तथा क्षतिपूर्ति पाउने, श्रीमान्को नाममा रहेको सम्पत्ति पाउने, सम्बन्धविच्छेद नै गर्नुपर्ने अवस्थामा पनि महिलाले अंश लिई अलग हुन पाउने र स्वेच्छाले विवाहसमेत गर्न पाउने अधिकार कानुनले व्यवस्था गरेको छ । एकल महिला तथा तिनका आश्रित परिवारको जीवनरक्षाका लागि सरकारले विभिन्न सीपमूलक, रोजगारमूलक, कानुनी सहायता तथा औषधि उपचारलगायतका कार्यक्रम सञ्चालन गरे पनि विभिन्न विभेदपूर्ण व्यवहार, कुरीतिहरु अन्त्य नहुँदा एकल महिलाले सम्मानजनक जीवन बाँच्न पाएका छैनन् । एकल महिलाका लागि धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार कार्यान्वयनका लागि सरकार सचेत बन्नुपर्छ । कानुनको प्रभावकारी कार्यान्वयन गरी एकल महिलाप्रति भइरहने विभेदपूर्ण व्यवहार, परम्परा वा कुरीतिको अन्त्य गरी एकल महिलालाई सम्मान गर्नु आवश्यक छ ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया