सात पालिकाको नगरसभा आज : चितवनको बजेट आठ अर्ब

अन‌ि यो पनि

भरतपुर । चितवनका सात स्थानीय सरकारको नगरसभा आज बुधबार बिहानबाट हुँदैछ । कोरोना भाइरसका कारण यसपटकको नगरसभामा कुनै तामझाम देखिने छैन । सकेसम्म नगरसभा छोटो समयमा सक्ने गृहकार्यमा स्थानीय तह जुटिरहेका छन् ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि चितवनका सात पालिकाले आज कुल आठ अर्बको बजेट ल्याउँदैछन् । सबैभन्दा कम बजेट इच्छाकामना गाउँपालिकाको हुनेछ भने बढी भरतपुर महानगरको रहनेछ ।

यसपटक चितवनका सबै स्थानीय सरकारको बजेट चालू आर्थिक वर्षको तुलनामा केही कम छ । कोरोना भाइरसको असर सर्वत्र परिरहेको छ । बजेटमा पनि यसको प्रत्यक्ष असर पर्दा यसपटक बजेटमा केही कमी आएको हो । यद्यपि, संघीय सरकारबाट स्थानीय तहमा आउने बजेट नै पहिलेको तुलनामा घटेर आएको छ ।

भरतपुर महानगरपालिका प्रवक्ता अरूण पीडित भण्डारीले आर्थिक वर्ष २०७७/७८ को लागि तीन अर्ब १८ करोड ५६ लाख ४३ हजार ३३५ रूपैयाँको बजेट छैटौँ नगरसभाले पास गर्ने बताए । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजारको बजेट ल्याएको थियो ।

प्रवक्ता भण्डारीले भने, ‘बजेट थोरै घटेको छ, तर पनि यो अवस्था (कोरोना) मा यसलाई सन्तोषजनक मान्नुपर्छ ।’ उनले कुल बजेटको गौरवका आयोजनामा ७० प्रतिशत, स्वास्थ्य शिक्षामा नौ प्रतिशत, सिंचाइ, पशु र कृषिमा ९ प्रतिशत, वातावरण, सीप विकास महिला तथा बालबालिका र युवा, खेलकुदमा चार प्रतिशत छुट्टयाइएको बताए ।

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ५ करोड बजेट ल्याएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बजेटमा कोरोनाको प्रभाव परेकाले केही घटेको बताए ।

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ५ करोड ३२ लाख रूपैयाँको बजेट ल्याएको थियो । प्रमुख वनका अनुसार कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई बजेटले प्राथमिकता दिएको छ ।

खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि ७७ करोड ८५ लाख ८२ हजार बजेट आजको सातौँ नगरसभाले पास गर्दैछ । खैरहनीका नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘यसपटकको बजेटमा विपन्न तथा एचआइभी एड्स प्रभावितलाई निःशुल्क स्वास्थ्य बिमा, मिर्गौला रोगपीडितलाई डायलासिस गर्न जाँदा चाहिने गाडी भाडा उपलब्ध गराउनेलगायतका कार्यक्रम नयाँ छन् ।’

खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ८२ करोड ६० लाखको बजेट ल्याएको थियो । प्रमुख चौधरीले भने, ‘यसपटकको बजेटमा सामाजिक सुरक्षाभत्ता जोड्दैनौँ, जसले गर्दा बजेट स्वतः घट्यो ।’

यसपटक राप्ती नगरपालिकाले ८२ करोडको बजेट ल्याएको छ । राप्ती नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले एक करोड ५० लाखसम्म पाउनेछन् । राप्ती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ९४ करोड २४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको थियो । राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।

माडी नगरपालिकाले यसपटक एक अर्ब पाँच करोड बजेट ल्याएको छ । माडी प्रमुख ठाकुर ढकालले पहिलेको तुलनामा बजेट घटेको बताए । २०७६/७७ का लागि माडीले ८५ करोड हारााहारीमा बजेट ल्याएको थियो । यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य व्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको उनी बताउँछन् । माडी नगरले दिएको दूधमा प्रतिलिटर ३ रूपैयाँ अनुदान कायम रहनेछ ।

कालिका नगरपालिकाले २०७७/७८ का लागि ७० करोड हाराहारीमा बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको तुलनामा बजेट घटेको छ । चालू वर्ष कालिकाको बजेट ७७ करोड ३३ लाख ३४ हजार रहेको थियोे । उनका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ ।

इच्छाकामना गाउँपालिकाले यसपटक ५५ करोड ९६ लाख ५७ हजार बजेट ल्याएको छ । आज गाउँपालिकाको सातौँ गाउँसभाले बजेट पास गर्नेछ । गाउँपालिका प्रमुख गीताकुमारी गुरूङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यसपटकबाट सुरू भएको बताइन् । उनले भनिन्, ‘कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएका छौँ ।’

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...