चितवनको पुँजीगत खर्च ३३ प्रतिशतमात्रै

अन‌ि यो पनि

भरतपुर । आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा चितवनमा ३३ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा संघ र प्रदेशबाट विनियोजन भएको पुँजीगत बजेट खासै खर्च हुन सकेको छैन । गत आव २०७५/७६ मा भन्दा यस आवमा करिब १५ प्रतिशत पुँजीगत खर्च घट्ने कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनको अनुमान छ ।

चितवनका लागि यस आवमा संघ र प्रदेशबाट गरी आठ अर्ब ४३ करोड ५० लाख ७९ हजार रूपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो । जेठ मसान्तसम्म २ अर्ब ८२ करोड ९९ लाख ८३ हजार २२३ रूपैयाँ खर्च भएको छ । जेठमा मात्रै ४९ करोड १९ लाख ६४ हजार ४४८ रूपैयाँ पुँजीगत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिए ।

पुँजीगत खर्चलाई विकास खर्चका रुपमा लिइन्छ । नेपालमा आर्थिक वर्ष सकिन लाग्दामात्रै विकास निर्माणका कामले तीव्रता पाउने परिपाटी छ । यही अवधिमा कोरोना महामारी सुरू भएपछि सरकारले लागू गरेको लकडाउनका कारण विकास निर्माणका कामहरु हुन सकेनन् । लकडाउनमा पैदल हिँडेर घर गएका कामदारहरु आउन पाएका छैनन् भने भारतीय कामदारहरु अझै केही समय आउने अवस्था छैन ।

‘अघिल्लो आवको जेठसम्ममा करिब ५० प्रतिशत पुँजीगत खर्च भएको थियो, गत आवमा भन्दा यस आवमा झन्डै १५ प्रतिशतसम्म पुँजीगत खर्च घट्छ कि भन्ने आँकलन गरेका छौँ’, उनले भने ।

संघीय पुँजीगत बजेटबाट ३९.८० प्रतिशत र प्रदेशको पुँजीगत बजेटबाट १८.९० प्रतिशतमात्रै खर्च भएको उनले बताए । असारमा पुँजीगत र चालू खर्च गरी संघतर्फको दैनिक एक करोड २१ लाख १८ हजार र प्रदेशतर्फको दैनिक ६७ लाख २० हजार रूपैयाँ निकासा भइरहेको उनी बताउँछन् ।

पुँजीगत बजेट धेरै पाएका सरकारी कार्यालयहरुमध्ये सडक डिभिजनको पुँजीगत खर्च २२.०३ प्रतिशत छ भने सघन सहरी विकासको ७८.०९ प्रतिशत पुगेको छ ।

आर्थिक वर्षको जेठ मसान्तसम्ममा सडकले ४६ करोड ८९ लाख ९८ हजार पुँजीगत खर्च गरेको छ भने सघन सहरीले ७४ करोड ३१ लाख ९६ हजार रूपैयाँ खर्च गरेको छ । सडकले दुई अर्ब १२ करोड ९१ लाख ६४ हजार र सघनले ९५ करोड १६ लाख ६१ हजार रूपैयाँ पुँजीगत बजेट पाएका थिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया