भरतपुर महानगरको नीति र कार्यक्रम पारित

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले सोमबार मेयर रेनु दाहालको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ४४औँ बैठकमार्फत बजेटसहित आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रमलाई सर्वसम्मत ढङ्गबाट पारित गरिसकेको छ ।

छैटौँ नगरसभाकेन्द्रित उक्त बैठकमा अन्य विषयमा पनि गहन छलफल भएको महानगरका प्रवक्ता एवम् वडा नं–१० का अध्यक्ष अरूण पीडित भण्डारीले जानकारी दिए ।

मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा नगरकार्यपालिकाका सदस्यसहितको बैठकले महानगरभित्रका सबै वडाले मालपोत कार्यालयसँग समन्वय गरेर आआफ्नो वडामा रहेको जमिनको मूल्याङ्कन गर्दै जग्गाको निश्चित मूल्य तोक्ने निर्णय गरेको उनले बताए ।

यस्तै, जिल्ला समन्वय समिति प्रमुखको निवास बनाइदिने पनि निर्णय गरेको उनले बताए । ‘जिल्ला समन्वय समितिले भरतपुर महानगरपालिकालाई सिटी हल निर्माणका लागि चार बिघा ११ कट्ठा जग्गा उपलब्ध गराएको थियो, त्यसको सट्टामा त होइन, तर आवश्यकतालाई हेरेर महानगरपालिकाले जिसस प्रमुखको निवास निर्माण गरिदिने निर्णय गरेको हो’, उनले भने ।

महानगरभित्र भूमिहीन मानिसहरुको अव्यवस्थित बसोवास रहेकोले हरेक वडाले यही असार १५ गतेसम्म त्यस्ता मानिसहरुको विवरण तयार गरी महानगरपालिकामा बुझाउने निर्णय गरेको उनले बताए । यस्तै, शिक्षा क्षेत्रमा कक्षा १ देखि ८ सम्म क्रमशः भरतपुर महानगरपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने निर्णय गरेको छ ।

‘महानगरपालिकाभित्रको भूगोल, पर्यटन, यहाँको राजनीतिक, जाति तथा जनजातिलगायतका विषयलाई समेटेर पाठ्यक्रम बनाउने र त्यसलाई लागू गर्ने निर्णय भएको छ’, प्रवक्ता भण्डारीले भने, ‘यसवर्ष कक्षा १ मा लागू गर्ने निर्णय भएको छ ।’

अन्य निर्णयहरुमा वडा नं–१६ मा कृषि क्षेत्र घोषणा गरिसकिएकोले प्लटिङ तथा कुनै पनि उद्योगधन्दा सञ्चालन गर्न नपाइने गरी कृषि उत्पादनमा केन्द्रित हुने निर्णय गरिएको छ । वर्तमान परिस्थितिमा कोरोनाको जोखिममा रहेर ‘फ्रन्ट लाइन’मा बसेर काम गर्ने सबै कर्मचारीको जीवन बिमा गरिदिने निर्णय भएको उनले बताए ।

स्थानीय कर्मचारी बिरामी भइहालेमा उनीहरुलाई बस्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिदिने, स्थानीय कर्मचारीहरुको वृद्धि विकासका लागि नियमावली बनाएर सोहीअनुसार कर्मचारीको वृद्धि विकास गर्ने र ‘एक वडा, एक हाटबजार’ र केरूङ्गा ड्रेनको विषयमा पनि गहन छलफल भएको उनको भनाइ छ ।

‘यस्तै, केही समयअघि वडा नं–४ का वडा सदस्य प्रेमराज पाठकको निधन भएकोले उनको परिवारलाई केही आर्थिक सहयोग गर्ने विषयमा पनि निर्णय भएको छ’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया