रत्ननगर । वैशाख १ गतेदेखि सुरू भएको वन्यजन्तु सप्ताहअन्तर्गतका विभिन्न कार्यक्रमहरु आइतबार सम्पन्न भएका छन् ।
वनमन्त्री महेश आचार्यले निकुञ्जमा पालिएका सङ्कटापन्न पाँच घडियाल गोहीलाई राप्ती नदीमा छाडेर कार्यक्रमको समापन गर्नुभएको हो । विसं २०४१ देखि अहिलेसम्म निकुञ्जले विभिन्न नदीमा एक हजार ६ वटा गोही छाडिसकेको छ । अब निकुञ्जको प्रजनन् केन्द्रमा ४७५ गोही रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताउनुभयो ।
उहाँका अनुसार यसवर्ष विभिन्न नदीमा ११५ गोही छाडिएका छन् । तर बाँच्ने दर भने न्यून छ । सो अवसरमा वनमन्त्री आचार्यले इकोसिष्टममा गोहीको भूमिका महत्वपूर्ण हुने भएकाले यसको संरक्षण आवश्यक भएको बताउनुभयो ।
उहाँले यसका लागि नदी प्रदूषण घटाउन चेतनामूलक कार्यक्रम र अनुगमनको आवश्यकता भएको औँल्याउनुभयो । आइतबार निकुञ्जको कार्यालय कसरा तथा गोही प्रजनन् केन्द्रको अवलोकन गर्दै मन्त्री आचार्यले सङ्कटापन्न गोहीको संरक्षणमा निकुञ्जले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गर्नुभयो । निकुञ्जले १९ औं वन्यजन्तु सप्ताहअन्तर्गत विभिन्न संरक्षणमूलक कार्यक्रम र सरसफाइ गरेको थियो ।
Discussion about this post