हराउँदै हात मिलाउने संस्कार : चाल्र्सदेखि ट्रम्पसम्मको नमस्कार !

अन‌ि यो पनि

हात मिलाउनुको सन्दर्भ

हात मिलाउने चलन ईशापूर्व ५ सय शताब्दीतिर ग्रीसमा सुरू गरिएको सभ्यता हो । त्यतिबेलाको हतियार एवम् शस्त्रबन्ध सभ्यताबाट हतियारमुक्तिको सभ्यतातिर बिस्तारै विश्व अघि बढ्दै थियो अर्थात् निशस्त्रीकरणको आवश्यकता महसुस गरिँदै थियो । ग्रीसलाई सभ्यताको उद्गम पनि मानिन्छ । ग्रीसमा लडाइँ, हतियार र शस्त्रको अतिप्रयोगबाट आजित र थकित जनमत बिस्तारै प्रेम, शान्ति र करूणाको खोजीमा थियो । हात मिलाउने परम्परा तात्कालीन ग्रिसेलीहरुको शान्ति र प्रेमको चाहनामा विकसित परम्परा थियो । त्यतिबेला हात मिलाउनु भनेको शान्तिको सन्देश प्रवाह गर्नु थियो । हतियारका ठाउँमा हात मिलाएर आपसी आत्मीयता साटासाट गर्न पाउँदा ग्रिसेलीहरु साँच्चै नै प्रसन्न थिए ।

शस्त्र त दुई पक्षका बीचमा बेमेल र अनेकताका कारण उठ्छ र हिंसाको अवस्था सिर्जना हुन्छ । तर, जब हामी एक हुन्छौँ, मिल्छौँ त्यसपछि प्रेम र शान्तिको उदय हुन्छ । तसर्थ, हामी अब एकीकृत छौँ, हामी दुवै पक्षका बीचमा केवल आस्था र विश्वास छ, हामी फरक छैनौँ भन्ने भाव हात मिलाउनुका पछाडिको भाव थियो भने बिस्तारै मनुष्य सभ्यता निशस्त्रीकरण, प्रेम र करूणाको सभ्यतातिर प्रवेश गर्दै छ भन्ने सन्देश दिनु पनि हात मिलाउनु र दुई हात मिलाएर हल्लाउनुको अर्थ थियो ।

हात मिलाउने संस्कार अस्वस्थ प्रमाणित

यसबीचमा विश्वभरि नदीहरुमा धेरै पानी बगिसकेको छ । ग्रीसबाट सुरू भएको हात मिलाउने सभ्यताले पूरै विश्वभ्रमण गरिसकेको छ । संसारमा सबैभन्दा धेरै मानिस यही हात मिलाएर अभिवादन र आत्मीयता साटासाट गर्ने संस्कारमा अभ्यस्त भइसकेको अवस्था पनि छ । तर, शान्ति र भाइचाराको भावनाबाट सुरू भएको भए पनि कोरोना भाइरसको आजको यो महामारीसम्म आइपुग्दा हात मिलाउने संस्कार रूग्ण र अस्वस्थकर रहेछ भन्ने प्रमाणित भएको छ र यसको विकल्पमा अभिवादनका अन्य शैलीहरुको नयाँ प्रयोग सुरू भएको छ ।

कोरोना (कोभिड—१९) भाइरसको महामारीका कारण आजका मितिसम्म करिब ५ लाख मानिसको ज्यान गुमेको छ भने दुई सय पन्ध्रभन्दा धेरै राष्ट्रहरु यसको महामारीबाट आक्रान्त हुन पुगेका छन् । लाखौँ प्रभावितहरु उपचारपछि घर फर्किएका छन् भने करोडौँ यसको उच्च जोखिममा छन् । मुख्यतया चीन, इटली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका, ब्राजिल, मेक्सिकोमा यसको प्रभाव अल्लि धेरै देखियो भने अन्य मुलुकमा पनि यसको कुनै न कुनै प्रभाव देखिएकै छ, कति मुलुकहरु उच्च जोखिममा छन् ।

नमस्ते सबैभन्दा स्वस्थ विधि

कोरोना भाइरसका कारण हुन पुगेको क्षति यद्यपि बर्सेनि नियमित रूघाखोकीबाट हुने विश्वव्यापी क्षतिभन्दा कम छ भनेर भनिएको छ, तापनि यसबाट सुरक्षित रहनका लागि केही खास विषयहरुमा विशेष सतर्कता अपनाइएको छ । यो सरूवा रोग भएकाले र हावाबाट भन्दा धेरै मुखको सास, हातको स्पर्शलगायतका माध्यमले ज्यादा फैलिने र सर्ने सम्भावना रहेको भन्ने कुरा आएपछि अब विश्वभरि हात नमिलाउन र त्यसका ठाउँमा नमस्ते गर्न विश्वप्रसिद्ध राजनेताहरुले नै लबिङ गरिरहेका छन् ।

युनिभर्सिटी अफ भर्जिनिया स्कुल अफ मेडिसिनका चिकित्सक विलियम पेट्री भन्छन्— ‘हात मिलाउने कुरा आउट भएको छ भने हात धुने र हातलाई कीटाणुहरुबाट मुक्त तुल्याउनुपर्ने कुरा इन भएको छ ।’ व्यक्तिहरुका बीचको सङ्क्रमण प्रत्यक्ष र द्रुतगतिमा फैलिने जोखिम उच्च हुन्छ भन्ने कुरा विभिन्न देशका राष्ट्रिय जैवप्रविधि सूचना केन्द्रहरुले पनि उल्लेख गरेका छन् । उनीहरुका अनुसार हातमात्रै मिलाउँदा पनि १२४ मिलियन जीवित ब्याक्टेरिया सर्ने गर्दछन् भनेर भनिएको छ ।

कोरोनाको सङ्क्रमणपछि यसको विकल्पमा दुई मुठीहरु आपसमा छुने, दुई खुट्टाहरु परस्परमा छुने, शिरमात्रै झुकाउने, हात हल्लाउने र नमस्ते गर्ने अभिवादनका शैलीहरुको पक्षमा वकालत तथा प्रवद्र्धनको काम भइरहेको छ । तर, यी विकल्पहरुमध्ये पनि नमस्ते गर्दा शून्य सङ्क्रमणको सम्भावना रहेको हुँदा नमस्तेकै लागि विश्वचर्चित राजनेताहरुले यसलाई अभिवादनको संस्कारभित्र समेट्न आफ्ना देशवासीहरुसित आग्रहसमेत गरेका छन् र नमस्तेको पक्षमा विश्वव्यापी जनमत ढल्किएको छ ।

नमस्ते गर्दै विश्वप्रसिद्ध राजनेताहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइरिस प्रधानमन्त्री लियो वरदकारसित न्यूयोर्कको भेटमा हात नमिलाई नमस्ते गरेर कोरोनाको सङ्क्रमणबाट मुक्त हुन सकिने सम्भावनाबारे विश्वजगत्लाई सचेत बनाएका छन् । ‘भारतमा यही परम्परा छ, जापानमा पनि झुकेर अभिभादन गर्ने चलन छ । हामीले पनि हात मिलाएनौँ । नमस्ते गर्न सजिलो पनि छ’ भन्ने अभिव्यक्ति पक्रकारहरुबीच दिएका थिए । वरदकार र ट्रम्पले परस्परमा धेरैपटक नमस्ते गरेर कोरोनाको सङ्क्रमणबाट मुक्त हुनुपर्ने सन्देश प्रवाह गरिरहेका थिए ।

त्यस्तै, बेलायती राजकुमार चाल्र्सले पनि बेलायतमा एउटा वार्षिक अवार्ड वितरण समारोहमा सहभागी हुँदा कसैसित पनि हात नमिलाई नमस्ते गरेर अभिवादन आदानप्रदान गरेको दृश्य पनि विश्वभरि नै भाइरल बन्न पुग्यो । यसले पनि नमस्ते अभिवादनको स्वस्थ विधि हो भन्ने तथ्यलाई प्रसार गर्न बल पुगेको छ ।

स्पेनका राजा फेलिप र उनकी रानीसितको भेटमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि नमस्तेकै अभिवादनमार्फत स्वागत गरेका थिए । यसअघि सधैँ हात मिलाउने राष्ट्रपतिको यो नयाँ संस्कारले नमस्ते निश्चितरुपमा अभिवादनको स्वस्थ विकल्प हो भन्ने सत्यलाई स्थापित गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि केही दिनअघिमात्रै आफ्ना देशवासीहरुलाई सम्बोधन गर्दै हात नमिलाउन, नमस्तेको पूर्वीय संस्कारलाई पछ्याउन र कोरोनाको सङ्क्रमणबाट जोगिन अनुरोध गर्दै सम्बोधन गरेका थिए । नेतन्याहुले धेरै ठाउँमा नमस्तेलाई प्रवद्र्धन र प्रसार गरी कोरोनाको त्रासबाट मुक्तिको प्रयास गरेका छन् ।

चर्चित भारतीय नायक सलमान खानले पनि ‘कोरोना भाइरसको सङ्क्रमणबाट बच्न हामीले नमस्ते र सलाम गरौँ, हात नमिलाऔँ’ भन्ने सन्देश प्रवाह गरेका छन् । त्यस्तै, भारतीय अभिनेता अनुपम खेरले पनि नमस्तेको पक्षपोषण गरेका छन् ।

माथिका सबै विशिष्ट व्यक्तिहरुले नमस्तेको आवश्यकता बोध गरी त्यसको पक्षमा वकालत गर्नुपूर्व नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सबैसित हात मिलाउन छोडेर नमस्ते गर्न अनुरोध गरिसकेका थिए ।

के हो नमस्ते ?

उत्तर र पश्चिमबाट आयातित अभिवादनका अनेक प्रयोगहरुमा रमाइरहेका हाम्रो देशका नवराजनीतिक मानिस र नवधार्मिकहरुले पनि हात मिलाउन छोडेर नमस्ते गर्न थालेको दृश्य देख्न पाइएको छ ।

जतिबेला ग्रीसमा हात मिलाउने परम्पराको थालनी हुँदै थियो त्यतिबेला हाम्रो हिमाल र पहाडमा मानिसले नमस्ते गर्न थालेको हजारौँ वर्ष बितिसकेको थियो । हाम्रा ऋषिमनीषीहरुले चेतनाको अतिविशिष्ट तहबाट ‘नमस्ते’ सभ्यताको विकास गरेका थिए ।

‘नमः’ र ‘ते’ मिलेर नमस्ते शब्दको निर्माण भएको हुन्छ । संस्कृतमा ‘ते’ भनेको तपाईं हो भने ‘नमः’ भनेको अभिवादन, नमन, वन्दन वा सम्मान भन्ने हुन्छ । अझ माथि गएर ‘नमः’लाई पनि दुईटा बनाएर हेर्दा ‘न’ र ‘म’ हुन्छ । ‘न’ को अर्थ होइन अथवा छैन भन्ने हुन्छ भने ‘म’को अर्थ म स्वयम् वा आफू भन्ने हुन्छ । ‘नमः’को मात्रै अर्थ हेर्दा ‘म होइन’ भन्ने हुन्छ । अब ‘नमः’ र ‘ते’लाई सँगै मिलाएर अर्थ लगाउँदा नमस्तेको अर्थ ‘म होइन, तपाईं हो’ भन्ने हुन्छ ।

यसरी, नमस्ते गर्नुको अर्थ आफूलाई भन्दा आफूअगाडिको व्यक्तिलाई मूल्यवान् देख्नु हो, उसको अस्तित्वलाई सम्मान गर्नु हो, उसको भावनालाई सम्मान गर्नु हो, उसको सम्भावना, प्रतिभा, उपस्थिति र प्रभावकारितालाई नमन् गर्नु हो ।

हाम्रा आचार्यहरुले नमस्ते गर्न सिकाएर हामीलाई अरुभित्रको ईश्वरीय अस्तित्वलाई सम्मान गर्न सिकाएका छन् । ‘यदि हामीले अरुभित्रको अस्तित्व र मूल्यलाई नमन् ग¥यौँ भने हामीभित्रको अस्तित्वलाई पनि नमन् गर्न सुरू गरिने छ’ भन्ने सत्य उनीहरुले हाम्राअगाडि छोडेर गएका छन् ।

नमस्तेको अर्थ जति उच्च, उदात्त र आध्यात्मिक छ यो उति नै स्वस्थ पनि छ । नमस्तेले सामाजिकता पनि सिकाएको छ भने विनयको सभ्यतालाई समेत अभिव्यक्त गरेको छ । नमस्ते गर्दा केवल व्यक्तिका दुईवटा हातमात्रै जोडिन्छन् । अरु कसैलाई छुन पर्दैन, स्पर्श गर्न पनि पर्दैन । कसैलाई नछुने भएपछि ती मानिसहरुको शरीरमा रहेका खराब जीवाणु, विषाणु वा कीटाणु के–के हुन्, तिनको सङ्क्रमणबाट पनि हामी मुक्त हुन्छौँ, कुनै पनि प्रकारका सरूवा रोगले आक्रमण गर्न पाउँदैनन् ।

मानिसको भावना सधैँ पवित्र हुन्छ भन्ने पनि हुँदैन । उसको शरीर, हातखुट्टा वा अन्य अङ्गावयव पनि उत्तिकै स्वस्थ र शुद्ध हुन्छन् भनेर भन्न पनि सकिँदैन । यसरी हात मिलाउँदा, चुम्बन गर्दा, अँगालो हाल्दा वा गाला जोड्दा हुन सक्ने सम्भावित नकारात्मकताको सङ्क्रमणबाट पनि नमस्ते गर्दा बच्न सकिन्छ । नमस्तेको हाम्रो संस्कार कति वैज्ञानिक, युक्तिसङ्गत र स्वस्थ रहेछ भन्ने तथ्य यसरी पनि प्रमाणित हुन्छ ।

सधैँको संस्कार, नमस्कार

नमस्ते हामीले वर्षौंदेखि गर्दै आइरहेका छौँ, तर यसलाई उति साह्रो श्रद्धा र आस्थाका साथ भने हामीले गर्ने गरेका छैनौँ । नमस्ते गरिसकेपछि पनि हात मिलाउन मन लागिहाल्ने भएको छ । केही समय कोरोनाको त्रासका कारण हात मिलाउन छोडेर नमस्कार गरे पनि पछि फेरि हात मिलाउने हाम्रो अभ्यास पुनर्जीवित हुन सक्छ । तर, अब त्योभन्दा नमस्तेलाई नै सधैँ अभिवादनका लागि प्रयोग गर्ने गरियो भने अधिक उपयुक्त र सङ्क्रमणको जोखिमबाट हामी सदाका लागि मुक्त हुन सक्छौँ ।

भाइरस नै भाइरसको इतिहास

कलियुग भाइरसको युग हो । सन् १९६७ मा जर्मनीमा मरबर्ग नामक भाइरस देखा परेको थियो । युगान्डाबाट आयात गरिएका बाँदरहरुका कारण फैलिएको त्यो भाइरसले ठूलो त्रास सिर्जना गरेको थियो ।

त्यसपछि अर्को इबोला नामक भाइरस देखा प¥यो । सन् १९७६ मा यो कङ्गो र सुडानमा देखा परेको थियो । मानिस र जनावरको रगत र अन्य कोषका माध्यमले यो फैलिन्थ्यो ।

सन् १९२० को दशकमा रेबिज नामक भाइरस देखा प¥यो । अफ्रिकामा देखा परेको यो भाइरसका कारण पनि विश्व त्रस्त बनेको थियो । रेबिजपछि एचआइभी नामक नयाँ भाइरस भित्रियो । सन् १९८० को पूर्वाद्र्धतिर यो देखिएको थियो र त्यसका कारण ३२ मिलियन मानिसको मृत्यु भएको थियो । यसको महामारी पनि अफ्रिकी देशहरुबाट भित्रिएको थियो ।

त्यसपछि स्मलफक्स नामक भाइरस भित्रिएको थियो । यसको प्रभाव युरोपबाहिरका देशहरुमा ज्यादा परेको थियो । यसका कारण पनि कति प्रभावित भए, कतिको निधन भयो भने कतिलाई यसले आजीवन सङ्कटमा पारिरह्यो ।

सन् १९५० को दशकमा हन्टा भाइरस भित्रियो । इन्फ्लुएन्जा नामक भाइरस पनि इतिहासमा देखा परेको छ । यसका कारण ५० मिलियन मानिसको ज्यान गएको थियो । यो सन् १९१८ मा विशेषरुपमा आएको थियो ।

डेंगु पनि भाइरसको इतिहासमा अङ्कित छ । यसले त बेलाबेलामा दुःख दिएकै छ, अझै पनि । यो सन् १९५० मा फिलिपिन्स र थाइल्यान्डमा देखा परेको थियो । विश्वभरि वार्षिक ५० देखि १०० मिलियन मानिसको मृत्यु यही डेंगुका कारण हुने गरेको बताइन्छ । नेपालमा पनि विशेषगरी गर्मी भएको ठाउँ र तराईतिर ज्यादा डेंगुको महामारी हुने गरेको छ ।

रोटा भाइरस, सर्स कोभ, सर्स कोभ २, मर्स कोभ, एन्थ्राक्स, स्वाइन फ्लुजस्ता अनेक फ्लु र भाइरसहरु बर्सेनिजस्तो आउन थालेका छन् ।

यीमध्ये धेरै भाइरस र ब्याक्टेरियाहरु सर्ने र फैलिने खालका हुन्छन् । त्यसक्रममा हात मिलाउँदा हरेकजसो सङ्क्रमणको खतरा कायम रहन्छ । तसर्थ, हरेकपटक हात मिलाउँदा रोगी मान्छेभित्रको भाइरस, ब्याक्टेरिया सर्ने खतरा हुन्छ । तर, नमस्ते गर्दा कुनै पनि प्रकारका ती सङ्क्रमणहरुबाट पीडित हुनुपर्दैन । यसर्थ, कोरोनाको सङ्क्रमणबाट मुक्त हुनका लागिमात्रै होइन, सबैसबै प्रकारका भाइरसहरु र पटकपटकका सङ्क्रमणहरुबाट जोगिनका लागि पनि हरेकपटक अभिवादनका क्रममा नमस्ते गर्नुको कुनै विकल्प देखिँदैन ।

नमस्ते हाम्रो पुँजी र पहिचान

नमस्ते त हाम्रो पहिचान हो । नमस्तेको अर्थ केवल कोरोनालगायतका विषाणुहरुबाट बच्ने उपायमात्रै होइन, त्यसभन्दा पनि धेरै मह¤वपूर्ण छ । ‘कसैसित पनि धेरै नजिक हुनु भनेको रोगी हुनु हो, त्यसैले ठिक्कको दूरीमा रहनू’ भन्ने सन्देश पनि नमस्तेको सन्देश हो । कसैसित पनि धेरै नजिक हुने अथवा धेरै टाढा हुने दुवै कुरा राम्रा होइनन् । त्यसैले, कसैसितको सम्बन्ध अथवा दूरी त्यति नै उचित हुन्छ जति नमस्ते गर्दा चाहिन्छ ।

यसअघिका आलेखहरुमा हामीले नमस्ते अथवा नमस्कारको अर्थ, मूल्य, सन्देश र दर्शनका बारेमा चर्चा गरेका थियौँ । यसपटक नमस्तेको त्यो आवश्यकता र विज्ञानलाई विश्वव्यापीरुपमा महसुस गरिएको कुरा पढ्न र जान्न पाउँदा हामीलाई पनि खुसी लागेको छ ।

कोरोनाको सङ्क्रमणबाट हामी सबै सुरक्षित रहनुपर्ने कुरा त मह¤वपूर्ण छँदै छ, तर हाम्रा पितापुर्खाले हजारौँ वर्ष पहिले हामीलाई सिकाएर गएको नमस्तेको आवश्यकता र यसको वैज्ञानिकता यति नै बेला पुष्टि हुन पाएको सन्दर्भले भने खुसी नै बनाएको छ । हिजो नमस्ते गर्नुको औचित्य नदेख्नेहरुले पनि यतिबेला त्यो औचित्य देखेका छन् र दिलोज्यानले नमस्तेको अभ्यास गरिरहेका छन् ।

नमस्तेको उद्गम हिमालय

विश्वप्रसिद्ध राजनेता र विशिष्ट व्यक्तिहरुले नमस्ते त गरिरहेका छन्, तर तिनले भारतीय संस्कारका रुपमा यसलाई स्वीकारेका छन् ।

हामी नेपाली । हामी हिमालवासी । हाम्रो सदियौँ पुरानो शिव सभ्यता छ । हाम्रै हिमालयमा गरिएको तपस्याका कारण ठूलाठूला दर्शन, तप र ग्रन्थहरुको विकास भएको छ । अठार पुराणका रचयिता युगद्रष्टा श्रद्धेय महर्षि वेदव्यास यही भूमिका सपूत हुन् । उनले दिएको श्रीमद्भगवद्गीता आज विश्वव्यापी ग्रन्थ बन्न पुगेको छ । तर, खै हामीले त्यो गीता र गीतालाई जन्माउने वेदव्यास नेपाली हुन् भनेर विश्वस्तरमा भन्न सकेको ? सबै ऋषिहरु जसले हामीलाई नमस्ते, ध्यान, आयुर्वेदलगायत अति उत्तम संस्कार दिएर गएका छन्, उनीहरु सबैले तपस्या गरेको साधना र ध्यान गरेको भूमि नै हाम्रो हिमालय हो । यदि हामीले संरक्षण गरेनौँ भने हाम्रा सबैसबै मूल्यहरुलाई अरुले आफ्नो बनाएर हामीलाई जोगी बनाइदिने छन् । हाम्रै सभ्यता भएर पनि अरुले आएर सम्झाइबुझाइ गरिदिनुपर्ने खालको हाम्रो प्रवृत्तिमा सुधार आवश्यक छ ।

कोरोनालाई एकपटक हृदयदेखि नै धन्यवाद, यसकारण कि यसकै कारण हामीले पर्याप्त सतर्कता अपनाउन पाएका छौँ । यद्यपि, कोरोनाकै कारण लाखौँले ज्यान गुमाएका छन् र कतिले अझै जोखिम मोलिरहेका छन्, तर यसकै कारण विश्वभरिका नेताले हाम्रो हिमाली परम्परा र सस्कृतिलाई पछ्याएका छन्, प्रशंसा गरेका छन् । नमस्तेको प्रचारप्रसार भएको छ । एक प्रकारले हाम्रा मान्यता र संस्कारहरु विश्वव्यापी भइरहेका छन् । जसरी विश्वव्यापीरुपमा राजनेताहरुले नमस्ते गरेर स्वस्थ रहन सबैलाई आह्वान गरे, त्यस्तो आह्वान हाम्रा विशिष्टहरुबाट पनि भएको भए कति सुन्दर हुनेथियो होला भन्ने लाग्छ । हामीलाई हाम्रा मूल्यको प्रवद्र्धन गर्नुपर्छ भन्ने चेत कहिले आउने होला खै ? यो प्रश्नले भने जहिल्यै दुःखी बनाउँछ ।

हाम्रा नेताहरु यति विशिष्ट सभ्यतालाई हाम्रो हो भनेर विश्वस्तरमा लबिङ गर्न किन लाज मान्छन् ? सबैभन्दा अघि सरेर नमस्तेका लागि विश्वव्यापी आह्वान गर्ने छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदीलाई गालीमात्रै गरेर बस्ने कि आफू पनि अघि सरेर आफैँले बनाएको संस्कारलाई प्रवद्र्धन गर्नेतिर लाग्ने ? हामी प्रत्येकले सोच्नुपर्ने भएको छ । जे होस्, कोरोना प्रकरणका कारण हाम्रो नमस्ते विश्वव्यापी भएको छ । यो एउटा स्वस्थ र सङ्क्रमणको खतराबाट मुक्त रहेको संस्कारका रुपमा विश्वले ग्रहण गरेको छ । यो पनि हामी सबैका लागि खुसीकै कुरा हो । आउँदा दिनमा पनि हामी हात मिलाउन हतार नगरौँ । एकले अर्कालाई नमस्ते गरौँ, कोरोनालगायत सबै प्रकारका सङ्क्रमणहरुबाट मुक्त रहौँ । नमस्ते !

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया