झुपडीमा बस्ने चेपाङका लागि पक्की घर

अन‌ि यो पनि

रत्ननगर । कालिका नगरपालिका वडा नं–७ का गणेशबहादुर चेपाङको मुहारमा सोमबार खुसी झल्किएको थियो । सिमसिम पानी परिरहेका बेला उनको घरमा रौनक उत्तिकै थियो । सानो झुप्रोमा पाल टाँगेर जीवनयापन गर्दै आएका गणेशबहादुर ओत लाग्ने पक्की घरमा बस्दा हुने आनन्द कल्पना गरिरहेका थिए । स्थानीय सरकारप्रमुखले आफ्नो घरको शिलान्यास गरिरहँदा उनले गाउँलेहरुसँग खुसी साट्दै थिए ।

गणेशबहादुरजस्तै सीमान्तकृत चेपाङ समुदायको अनुहारमा खुसी छर्न कालिका नगरपालिकाले चेपाङ समुदायका लागि आवास निर्माण सुरू गरेको छ । मेयर खुमनारायण श्रेष्ठले सोमबार तिनै गणेशबहादुरको घर शिलान्यास गरेका छन् । आर्थिक अभावका कारण झुपडीमा बस्दै आएका चेपाङहरुलाई सो नगरपालिकाले आवास निर्माण सुरू गरेको हो ।

चालू आर्थिक वर्षमा ९५ वटा घर निर्माण गर्ने योजनासहित उक्त नगरपालिकाले पाँचौँ नगरसभामा बजेट विनियोजन गरेको थियो । मेयर आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले असार मसान्तसम्म ३९ वटा घर निर्माण गर्ने लक्ष्यका साथ सोमबार आवासको शिलान्यास गरेको हो ।

वडा नं–७ मा चालू आर्थिक वर्षमा गणेशबहादुरको मात्र घर निर्माण हुनेछ । पहाडी बस्तीअन्तर्गत पर्ने वडा नं–३, ७, ८, ९, १० र ११ मा विपन्न चेपाङ परिवारका लागि असार मसान्तभित्रै ३९ वटा घर निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको मेयर श्रेष्ठले बताए । घरको नक्सा निर्माणदेखि अन्य प्राविधिक तयारी पूरा भएकाले घर बनाउन धेरै समय नलाग्ने उनको दाबी छ ।

घरको डिजाइन नगरपालिका आफैँले गरेको छ । दुईवटा कोठा, भान्छा र शौचालय भएको टिनले छाएको चिटिक्कको घर निर्माण हुने मेयर श्रेष्ठले बताए । उच्चस्तरको ब्लकले बारेर बनाउन लागिएको घरको लागत ४ लाख ८४ हजार ४ सय रूपैयाँ हुनेछ ।

‘घर नभएकालाई आवास, शिक्षा नपाएकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्ने योजना छ’, मेयर श्रेष्ठले भने, ‘अब कालिका नगरपालिकाको कोही पनि नगरवासी गरिब भएकै कारणले आवास नभएर रात काट्न पर्दैन ।’ आर्थिक तथा सामाजिकरुपमा पछाडि पारिएका चेपाङ समुदाय अन्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था रहेको छ । मेयर श्रेष्ठले घरमा अन्न नहुने अवस्थाको अन्त्य गर्न सीपमूलक कार्यक्रम र कृषि क्षेत्रमा आकर्षण बढाउने बताए ।

दोस्रो चरणमा आउँदो आर्थिक वर्षमा थप घर बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । ‘९५ वटा घर बनाउने नगरपालिकाको योजना थियो’, उनले भने, ‘लकडाउनका कारण अहिलेका लागि पहिलो चरणमा ३९ वटा घर बनाउन लागिएको हो ।’

आगामी वर्षका लागि नगरपालिकाले आवास निर्माणका निम्ति नीति तथा कार्यक्रममा समावेश गरिसकेको छ । घर निर्माणका क्रममा सामग्री नपुग्ने ठाउँमा ढुवानीमा घरधनीले श्रमदान गर्नुपर्नेछ ।

नगरपालिकाले लाभग्राहीका लागि मापदण्ड तयार गरी छनोट प्रक्रिया अघि बढाएको थियो । हाल प्रयोगमा रहेको घरको क्षेत्रफल, प्रतिव्यक्ति वर्गफिट, घरभित्रको भुइँ, घरको गारो, घरको छानो, जग्गाको स्वामित्वलगायतका मापदण्ड राखेर सबैभन्दा कमजोर अवस्थामा रहेका परिवारका लागि नगरपालिकाले घर निर्माण गरेको हो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...