देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रम : जनताको आयस्तर वृद्धि गर्ने लक्ष्य

अन‌ि यो पनि

देवघाट । देवघाट गाउँपालिकाले सोमबार भएको छैठौँ गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत्, पुललगायत गौरवका आयोजनासहित अन्य पूर्वाधारलाई पनि उच्च प्राथमिकताका साथ राखिएको छ ।

आगामी वर्षमा विगतमा भएका अधुरा कामलाई निरन्तरता दिँदै गाउँपालिकाभित्रको प्राकृतिक स्रोत, साधन र मानवीय पुँजी परिचालन गरी आर्थिक, सामाजिक पूर्वाधार र सांस्कृतिक क्षेत्रको विकास गरी जनताको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

तनहुँ जिल्लाकै सबैभन्दा पिछडिएको स्थानीय तह भएकोले विकासका हरेक पूर्वाधार मह¤वपूर्ण हुने हुँदा हरेक क्षेत्रलाई उत्तिकै मह¤वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

आगामी दिनमा कोरोना र विपदबाट नागरिक जीवनको रक्षा गर्दै आर्थिक तथा सामाजिक विकासलाई निरन्तरता दिने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापामगरले बताए ।

सामाजिक विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइजस्ता आधारभूत विषयलाई उच्च प्राथमिकतामा राख्दै मौलिक लोकसंस्कृति, साहित्य एवम् परम्परालाई जगेर्ना गर्नुका साथै युवा वर्गलाई उद्यमशीलता, खेलकुद एवम् मनोरञ्जनतर्फ आकर्षित गरी विकासको मूल प्रवाहमा ल्याउने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

विस्तृत योजना प्रतिवेदन (डिपीआर) भएका योजनालाई प्राथमिकतामा राखी एकवर्षमा पूरा हुन नसके बहुवर्षीय योजनाको रुपमा बजेट योजनालाई निरन्तरता दिने, प्रदेश र केन्द्र सरकारको सहयोगमा योजना पूरा गर्ने पनि उक्त कार्यक्रममा उल्लेख छ ।

राजस्व तथा अन्तरिक स्रोततर्फ

गाउँपालिका क्षेत्रभित्र सञ्चालित उद्योग, व्यापार व्यवसायलाई दर्ता गर्ने प्रकृया अगाडि बढाइने, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन–२०७२ अनुसार नक्सा पास गरी राजस्व संकलन गर्ने, सामुदायिक वनबाट निकासी भएका काठहरुको निकासी कर संकलनलाई प्रभावकारी बनाइने लक्ष्य लिइएको छ ।

आर्थिक क्षेत्रतर्फ कोरोना महामारीका कारण सिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन गरिबी निवारण उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकता दिने, न्यूनतम रोजगारीलाई सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन पर्यटन, यातायात पूर्वाधारलगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी एकीकृतरुपमा थप आन्तरिक रोजगारी सिर्जना गरिनेछ ।

कृषि तथा पशुपंक्षी विकासतर्फ भने कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने, कृषि जमिन बाँझो रहन नदिन विगतका नीतिलाई निरन्तरता दिने, वडा कार्यालयबाट खाली र पर्ती जग्गाको लगत लिने, तत्काल उत्पादन नदिने फलफूलका लागि प्राविधिक सहयोग, मल, बीउ, भिटामिन तथा तालिमको व्यवस्था गरिनेछ ।

बाली तथा पशुपंक्षी बिमामा सहजीकरण गर्ने, कोटा र कोटवैदीमा पशुपंक्षी अनुसन्धान केन्द्र सञ्चालन गर्ने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा समेटिएको छ ।

पर्यटनतर्फ गाउँपालिकालाई पर्यटकीय हरित क्षेत्रको रुपमा विकास गर्ने, पर्यटकीय सम्भावना बोकेका स्थानहरुको दृश्यावलोकन गर्न मेला–महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रहरुमा भ्यू टावर निर्माण गर्ने, होमस्टे र वनभोजस्थललगायतका कार्यक्रम सञ्चालन गर्ने, रोजगारमुुलक पर्यटन व्यवसायलाई विशेष जोड दिने, त्रिशूली र कालीको संगमस्थलाई पालिकास्तरीय धार्मिक पर्यटन मेला गराउने लक्ष्य लिइएको छ ।

शिक्षातर्फ ‘एक वडा एक मातृ विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाइने, विद्यालयको भौतिक सुधारमा जोड दिइने, सूचना प्रविधिमा आधारित पाठ्यसामग्रीको विकास गर्ने, विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गरिने, विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने, देवघाटमै क्याम्पस सञ्चालन गर्न पहल गर्ने नीति लिइएको छ ।

स्वास्थ्यतर्फ कोरोना महामारीले सिर्जना गरेको जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गर्ने, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा औषधि तथा स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गरिने छ ।

देवघाट स्वास्थ्यचौकीको स्तरवृद्धि गरी १५ शøयाको अस्पताल बनाउन केन्द्र सरकारबाट स्वीकृति भइसकेकोले अस्पतालको सुदृढीकरण गरी स्रोत साधन सम्पन्न बनाइने, आयुर्वेद औषधालय, प्राकृतिक उपचार पद्धति तथा स्वास्थ्य क्लिनिकहरुको विकास र विस्तारमा सहयोग गरिनेछ ।

पूर्वाधारतर्फ शालिग्राम करिडोरलाई गौरवशाली मार्गको रुपमा विकास गर्न र बञ्चरे पहाडको बाटो सुधार एवम् स्तरोन्नतिका लागि पनि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने, विगतमा निर्माण गरिएका सबै कच्ची सडकहरुलाई बाह्रै महिना चल्ने गरी स्तरवृद्धि गराइने, सिंच्याङग–सर्वाङ्ग सडकलाई पूरा गर्दै लैजानुका साथै आवश्यक बजेटको लागि केन्द्र सरकारसँग माग गर्ने गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए ।

उक्त नीति तथा कार्यक्रमलाई असार १५ गते छलफल गरिने गाउँपालिकाले जनाएको छ । सोही दिन आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटसमेत प्रस्तुत गरिने गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया