बढ्दो जोखिम, फितलो संयन्त्र

अन‌ि यो पनि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन खुकुलो बन्दै जाँदा जोखिम भने झनै बढ्दै गएको छ । विश्वका अधिकांश मुलुक लकडाउन अन्त्य गर्ने र केही सर्तसहित खुकुलो बनाउने अभ्यासमा लागेका देखिन्छन् । शुक्रबार एकैदिन १ लाख ८० हजार र शनिबार १ लाख ५७ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । विश्वका २१३ मुलुक र आसपासमा फैलिएको कोरोना संक्रमण ८० भन्दा बढी देशमा तीव्ररुपमा बढ्दै गएको छ, जसमा नेपाल ६७औँ नम्बरमा परेको छ । विश्वभर ९० लाख बढी मानिस संक्रमित भएकोमा ४ लाख ७० हजार बढीको ज्यान गइसक्दा पनि यस महामारी नियन्त्रण उन्मुख नदेखिनु चिन्ताको विषय बनेको छ । संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या अधिक भएपछि विश्व स्वास्थ्य संगठनले फेरि चेतावनी दिएको छ । डब्लुएचओले कोरोना भाइरसको संक्रमण अझै तीव्र गति र भयावह चरणमा प्रवेश गरिसकेको भन्दै सावधानी अपनाउन भनेको हो । तथापि, लामो लकडाउनले आजित भएपछि विभिन्न देशले लकडाउन खुला गराउने तयारी थालेका छन् । त्यस कारण, यस प्रकोपले पार्ने जनधनको क्षतिको अनुमान गर्न कठिन भएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशन र लकडाउन खुकुलो भएसँगै सार्वजनिक स्थल तथा बजारमा देखिएको अस्वाभाविक भीडका कारण नेपालमा संक्रमण भयावह बन्ने सङ्केत देखिएपछि सरकारले ‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन’ सर्वसाधारणमा आग्रह गरेको छ । सरकारी कार्यालय तथा सहरबजारमा अस्वाभाविक भीडभाड देखिएपछि असार १० गतेदेखि लकडाउन थप कडाइ हुन सक्ने सम्भावना देखिएको छ । सरकारले अनावश्यक भीडभाड नगर्न, कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न र घरबाहिर निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढेसँगै सरकारले केन्द्रीय राजधानीमा संक्रमण फैलिन नदिन विशेष सावधानी अपनाएको छ । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने सुरक्षा मापदण्ड, २०७७ जारी गरी अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हालसम्म नेपालमा करिब नौ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक औसत ५०० को हाराहारीमा संक्रमितहरु थपिँदै गएका छन् । कुल ७७ जिल्लामध्ये अब संक्रमण फैलिन २ जिल्लामात्र बाँकी छ । स्वास्थ्य मन्त्रालयले साउन महिनाको अन्त्यसम्ममा ३९ हजार संक्रमित हुन सक्ने आँकलन गरेको छ ।

नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए भदौ पहिलो सातासम्म कोरोना संक्रमित उच्च बिन्दुमा पुग्ने विश्लेषण सरकारले गरेको छ । सरकारले आँकलन गरेको ३९ हजारलाई नै उच्च बिन्दु मानेर स्वास्थ्य सामग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले यसअघि कोरोना संक्रमितको संख्या १५ हजारभित्र सीमित राखेर रणनीति बनाएको थियो । तर, पछिल्लो समय क्वारेन्टाइनस्थलहरु नै कोरोना सार्ने अखाडा बन्न थालेको र त्यहाँ राखिएकाहरुलाई आरडिटी गरेर घर पठाउँदा संक्रमण समुदायमा फैलिने खतरा तीव्र देखिएको छ । अहिले पनि कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टाइनमै छन् भने ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । कतिपयमा मृत्यु भइसकेपछिमात्रै संक्रमण पुष्टि भएका छन् । कोरोना संक्रमणले कस्तो रुप लिन्छ भनेर अनुमान गर्न गाह्रो भएको अवस्थामा सरकारले जनसाधारणलाई सचेतनासँगै मास्कलगायतका स्वास्थ्य सामग्री सर्वसुलभ उपलब्ध गराउनुपर्छ । दैनिक १० हजारको परीक्षण गर्ने लक्ष्य लिए पनि नमुना संकलन र स्वाब परीक्षणमा ढिलाइ भइरहेको छ । महामारी रोकथामका लागि फितलो संयन्त्रले नागरिकमा निराशा जागृत हुन्छ, जसले सरकारको विश्वासमाथि सङ्कट उत्पन्न गराउँछ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया