पर्यटनको सम्भावना बोकेको रानीपोखरी ओझेलमा

अन‌ि यो पनि

किरणगञ्ज । पर्यटनको प्रचुर सम्भावना भए पनि प्रचारप्रसारको अभाव र पर्याप्त भौतिक पूर्वाधार निर्माण हुन नसक्दा भरतपुर महानगरपालिका वडा नं–१९ र २० मा पर्ने किरणगञ्जमा रहेको रानीपोखरी ओझेलमा परेको छ । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि व्यवस्थित गर्न नसक्दा पर्याप्त सम्भावना बोकेको रानीपोखरीमा पर्यटक भिœयाउने र यहाँको प्रचुर सम्भावनालाई नियाल्ने दरिलो प्रयास हुन नसकेको हो ।

करिब पाँच बिगाहा जमिनमा फैलिएको रानीपोखरी क्षेत्रको बीच भागमा ठूलो पोखरी रहेको छ । उक्त पोखरीमा वर्षैभरि पानी रहन्छ । वरिपरि डिलमा २३ वटा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति रहेका छन् । पोखरीको डिलमा हिँड्नका लागि कंक्रिटले ढलान गरेर बाटो बनाइएको छ । जस्ताले छाएका टहरा र मन्दिर तथा गुम्बा पनि छन् । फलामका र कंक्रिटका कुर्सीहरु ठाउँठाउँमा छन् । आकर्षक हात्तीको मूर्ति पनि पोखरी परिसरमा देख्न सकिन्छ ।

पर्यटकका लागि रानीपोखरीको बीचमा बाराहीको मन्दिर, भ्यू–टावर र गोलघर निर्माण भइरहेको रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरूङ बताउँछन् । यसै आवमा सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत रानीपोखरीमा पहिलो चरणमा पार्क तथा पूर्वाधार निर्माणका लागि रविना कन्स्ट्रक्सनले १४ करोड ६७ लाख ७६ हजार ६१९ रूपैयाँको लागतमा बनाउने ठेक्का पाएको र काम भैरहेको उनले बताए ।

रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माणको आयोजनाका लागि नौ करोड ४५ लाखबराबरको योजना रहेको र पहिलो चरणमा पार्क बन्नुका साथै मन्दिर, भ्यू–टावरलगायतका पूर्वाधार निर्माणका योजनाका साथै भरतपुर–१९, किरणगञ्जमा रानीपोखरी तथा मिलडाँडा जोड्ने ५ किमी कालोपत्रे सडक पनि बन्ने अध्यक्ष गुरूङले जानकारी दिए ।

पचास लाख रूपैयाँको लागतमा २०७१ सालमा ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा राष्ट्रिय प्रस्तर मूर्ति रचना कार्यशालामा बनाइएका ढुङ्गाका आकर्षक मूर्तिले रानीपोखरीको मुहार नै फेरिदिएको हो ।

‘अन्तर्राष्ट्रिय कार्यशाला गर्ने सोच छ, तर बजेट अभाव छ’, अध्यक्ष गुरूङले भने, ‘खुला मूर्ति सङ्ग्रहालय बनाउने सोच हाम्रो हो, म सबैसँग सहयोग गर्न आग्रह गर्छु ।’ सदरमुकाम भरतपुरबाट १३ किलोमिटरमात्रै पश्चिममा रहेको जिल्लाको सुन्दर पर्यटकीय गन्तव्य भएर पनि बजेट अभावले व्यवस्थित गर्न नसक्दा रानीपोखरी ओझेलमा परेको अध्यक्ष गुरूङ बताउँछन् ।

‘घुमेर आनन्द लिन सकिने ठाउँ हो यो, पूर्वाधारहरु पनि धेरै नै बनेका छन्, यो एउटा राम्रो पिकनिक स्पट हो । खानेपानीको अभाव नहोस् भन्नका लागि बोरिङसमेत धसाएका छौँ, चारतले भ्यू–टावर पनि बनाउँदै छौँ’, अध्यक्ष गुरूङले भने ।

‘यसको कुल क्षेत्रफल चार बिगाहा हो, पोखरीमात्रै दुई बिघाको छ । झन्डै दुई बिघा क्षेत्रफल रहेको यस पोखरीमा खुट्टाले पाइडल चलाउनुपर्ने दुईवटा डुङ्गा छन् पोखरीभित्र निर्माण कार्य चलिरहेको र पानी सुकाउन परेकोले हाल बन्द गरिएको छ’, अध्यक्ष गुरूङले बताए ।

यो पोखरी प्राकृतिकरुपमा बनेको नभएर कसैले खनेको जस्तो देखिन्छ । पानी सधैँ पर्याप्त हुन्छ । यो कहिले बन्यो यसै भन्न सकिँदैन । स्थानीयवासीले थाहा पाएअनुसार मल्लकालमै यहाँ रानीका नाममा पोखरी खनिएको हो । वरपर कतै बस्ती नभएको समयमा घुम्दै आउने कुनै राजाले पोखरी बनाएको अनुमानका आधारमा त्यसको नाम रानीपोखरी राखेको अनुमान छ ।

यो पोखरी यसअघि चर्न आएका गाईभैँसीले पानी खाने ठाउँ थियो । वरपर नौवटा थुम्काहरु छन् । यस क्षेत्रमा विसं २०१३ सालमा बस्ती बसेको हो । त्यो बेलामा नै यो पोखरी रहेको स्थानीय सीता गुरूङले भनिन् । पोखरीका माछा खान थरीथरीका बकुल्ला झुम्मिन्छन् । अरु सिकारी चरा पनि पौडी खेल्छन् । चरा अवलोकन गर्न पनि पोखरी राम्रो गन्तव्य बन्न सक्छ । रुखबिरूवा र थुम्का टन्नै भएको पोखरीको डिलैडिल घुम्दा मन रमाउँछ । वरपर गाउँको दृश्य पनि लोभलाग्दो छ ।

प्रतिकृया

मुख्य समाचार

अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया