आचार्य लक्ष्मण भण्डारी
हामीकहाँ ईश्वरसम्बन्धी अनेक बहसहरु हुँदै आएका छन् । एक थरीले ईश्वर हुन्छन्, ईश्वरको अस्तित्व सर्वत्र विद्यमान छ भन्ने विश्वास गर्दछन् भने अर्का थरी ईश्वर भन्नु केवल मानिसको कल्पना हो, अथवा केही सामन्ती सोच भएका मानिसहरुले गरिब, दीनदुःखीमाथि शासन गर्नका लागि निर्माण गरेको सभ्यता हो भन्ने ढङ्गको धारणा व्यक्त गर्दछन् । त्यसबाहेक, ईश्वर छन् भनेर उनको अस्तित्व स्वीकार्नेहरुमध्ये पनि दुई थरी धारणाहरु प्रचलनमा छन् । एक थरी भन्दछन् ईश्वर देखिँदैनन्, उनी निराकार स्वरुपमा रहन्छन् । अर्का थरी भन्दछन्, ईश्वर निराकार होइनन्, उनी त साकार हुन्छन् । उनी सर्वत्र प्रकाशित छन्, त्यसैले उनी साकार स्वरुपमा रहन्छन् । यस्ता किसिमका बहस र विवादहरु वर्षौँदेखि चल्दै आएका छन् ।
श्रीमद्भगवद्गीताले भने ईश्वरका दुवै अस्तित्वलाई स्वीकार गरेको छ । गीताका अनुसार ईश्वर साकार र निराकार दुवै स्वरुपमा रहन्छन् । हामीले दुवै तरिकाले ईश्वरलाई बुझ्न सक्दछौँ । वास्तवमा गीताको यही दर्शन नै सबैभन्दा आधिकारिक र प्रामाणिक देखिन्छ । जस्तै, हाम्रो शरीर छ । हामी हिँडिरहेका छौँ, खाइरहेका छौँ, बोलिरहेका छौँ । त्यसो भए, हाम्रो अस्तित्व के हो त ? हामी देखिने हौँ कि नदेखिने ? हाम्रा हातगोडा छन्, नाकमुख छन्, शरीर छ । हाम्रो शरीर नै हामी हौँ त ? यदि हाम्रो अस्तित्व शरीर मात्रै हो भने किन मरेपछि जलाएर खरानी बनाइन्छ ? यदि हामी देखिने शरीर मात्रै हुन्थ्यौँ भने हामी मरेर जाँदा पनि मानिसहरुले हाम्रो शरीरलाई माया गर्ने थिए, जलाउने वा गाड्ने गर्ने थिएनन् । यसको अर्थ के हो त भन्दा हामी नदेखिने पनि रहेछौँ । हाम्रो देखिने शरीरलाई नदेखिने आत्माले वा चेतनाले अस्तित्वशील बनाएको हुँदोरहेछ ।
त्यसोे भए नदेखिने मात्रै हाम्रो अस्तित्व हो त ? नदेखिने आत्माहरु वरपर हावामा कति छन् कति, तर ती शरीरबिना कहिल्यै पनि अस्तित्वमा आउन सक्दैनन् । हावामा थुपै्रथुप्रै दृश्यहरु छन्, आवाजहरु छन् । हाम्रो टेलिभिजनको सेट भएपछि मात्र ती दृश्यहरुलाई हामीले देख्न सक्दछौँ । हामीसँग रेडियो सेट नभईकन आवाज सुन्न सक्दैनौँ । यसको अर्थ के हो त भन्दा नदेखिने र नसुनिने दृश्य एवम् श्रव्य देख्न र सुन्नका लागि देखिने र सुनिने मेसिन वा सामग्रीको आवश्यकता पर्दछ । त्यसरी नै हाम्रो शरीर नभईकन हाम्रो विचार, आत्मा वा चेतनत¤वको अनुभूति पनि हुन सक्दैन ।
यसप्रकार, हाम्रो शरीर देखिने र नदेखिनेको संयोजन हो । हामी देखिने शरीर पनि हौँ र नदेखिने आत्मा पनि । शरीर हाम्रो आकार हो, यो पनि सत्य हो र हामी आत्मत¤व हौँ यो पनि सत्य हो । हामीले जे देख्दछौँ, तीबाहेक पनि धेरै कुरा छन् । भगवान् निराकार कि साकार भन्ने प्रश्न पनि यही सत्यसँग सम्बन्धित छ । बगैँचामा पूmलहरु फुलेका छन्, देखिने पूmल पनि सत्य हो । पूmललाई बनाउने अदृश्य शक्ति पनि छ, त्यो पनि सत्य हो । हामी जुन विधिबाट पनि ईश्वरको अस्तित्व स्वीकार्न सक्दछौँ र उनीप्रति आस्थावान् हुन सक्दछौँ ।
अर्जुनले भगवान् श्रीकृष्णलाई प्रश्न गर्दछन्, ‘एक थरी भक्त, जो अनन्य प्रेममा संलग्न प्रेमीजन निरन्तर हजुरको भजन एवम् ध्यानमा रहेर तपाईँका सगुणस्वरुप परमेश्वरको चिन्तन गर्दछन् भने अर्काथरी, अविनाशी सच्चिदानन्दघन निराकार ब्रह्मको अति श्रेष्ठ भावले चिन्तन गर्दछन् । ती दुईमध्ये कुनचाहिँ उपासक श्रेष्ठ हो, प्रभु ?’ जवाफमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, ‘आफ्नो मनलाई एकाग्र बनाएर निरन्तर मेरो ध्यानभजनमा संलग्न जुन भक्तजन अतिशय श्रद्धाले युक्त भएर मेरो सगुणस्वरुपको चिन्तन–भजन गर्दछन्, ती मेरा लागि योगीहरुमा पनि अति उत्तम मानिन्छन् । तापनि, जो पुरुष आफ्ना इन्द्रियहरुलाई संयममा राख्दै मन र बुद्धिदेखि पर सर्वव्यापी अकथनीय, सदा एक रस, नित्य, अचल एवम् निराकार अविनाशी सच्चिदानन्द ब्रह्मलाई निरन्तर एकचित्त भएर ध्यान एवम् भजन गर्दछन्, ती सम्पूर्ण प्राणी मात्रको हितमा तल्लीन एवम् समताभावले युक्त योगीहरुले पनि मलाई प्राप्त गर्न सक्दछन् ।’ यसरी, भगवान् श्रीकृष्णले साकार र निराकार दुवै परमात्माका स्वरुप हुने र जुन विधिबाट पनि उनको आराधना वा उपासना गर्न सकिने कुरा बताउनुभएको छ । यसको अर्थ के हो भने परमात्मा देखिने र नदेखिने अर्थात् साकार र निराकार दुवै स्वरुपमा अवस्थित छन् । निराकार ब्रह्मको चिन्तनबाट पनि ईश्वरको चिन्तन र ध्यान गर्न सक्दछौँ भने देखिने स्वरुपमा पनि ईश्वरको उपासना एवम् ध्यान गर्न सकिन्छ ।
गीताले थप के बताएको छ भने ईश्वरको साकार स्वरुपको भन्दा निराकार स्वरुपको चिन्तन र ध्यान कठिन हुन्छ । निराकारको चिन्तन र ध्यानको साधना निकै कठिन र धेरै परिश्रम आवश्यक पर्ने खालको हुन्छ । ‘जसले सच्चिदानन्दघन निराकार परब्रह्ममा आसक्ति एवम् श्रद्धा व्यक्त गर्न चाहन्छ, त्यस्तो भक्तले साधनाका क्रममा निकै क्लेश, परिश्रम र दुःखको अनुभूति गर्नुपर्दछ, किनकि निरन्तर देहको अभिमान र स्वरुपको अभ्यासबाट गुज्रिरहनु परेकाले अव्यक्त र अदृश्य ईश्वरीय गतिलाई दुःखपूर्वक प्राप्त गर्न सकिन्छ ।’— यो भगवान् श्रीकृष्णको भनाइ हो ।
भगवान् श्रीकृष्णले निराकारका तुलनामा साकारको उपासना र ध्यानको विधि सहज र प्राकृतिक हुने कुरा बताउनुभएको छ । उहाँले यसो भन्नुपछाडि धेरै कारणहरु छन् । सबैभन्दा पहिलो कारण, मानिसले निराकारको स्मरण गर्न सहज छैन । जसरी मन चित्र र मूर्तिहरुमा सजिलै अडिन्छ, अमूर्त र अदृश्यमा अडिन सक्दैन । साना केटाकेटीलाई हामीले ठूलाठूला दर्शनका कुराहरु त पढाउनुछ, तर विभिन्न चित्र र स्थूल विषयलाई देखाएर ती गहन र विशाल सिद्धान्तलाई सिकाउन सक्दछौँ । हाम्रो मन आपैmँमा अति चञ्चल छ । यो जता विषय छ, जता चित्र छ, जता रुप छ, उतैउतै जान मन पराउँछ ।
साकार उपासनाले के भन्दछ त भन्दा आखिर ईश्वर साकार र निराकार दुवै हुन् भने हामीले सजिलो र वैज्ञानिक बाटो किन अवलम्बन नगर्ने ? हामीले खोजेको त अवश्य निराकारकै प्राप्ति हो । तर, आकारबिना निराकारको दर्शन गर्ने कुरा कहिल्यै सम्भव हुँदैन । हामीले हिमालको बारेमा कसैलाई ज्ञान दिनुछ भने कम्तीमा बरफ देखाएर हिउँ भनेको यस्तो हुन्छ भन्न सक्नुपर्दछ । नदेखिएको हिमालबारे हावामा कुरा गर्नुभन्दा यस्तो हुन्छ भनेर सचित्र वर्णन गर्दा त्यो सिकाइ प्रभावकारी हुने गर्दछ ।
मूर्तिपूजाको विज्ञान पनि यही हो । भगवान्का सबै सम्भावना कायम रहन्छन् । उनी अपार रहस्यका जनक हुन् । उनी उत्तिखेरै प्रकट हुन सक्दछन् भने उत्तिखेरै हराउन पनि सक्दछन् । यसैले, हामीले देखेका रुप र अवस्थाहरु ईश्वरका आफ्नै रुप हुन् । ईश्वरलाई हामीले जुन रुपमा पनि भज्न, चिन्तन गर्न र उपासना गर्न सक्दछौँ किनकि उनी जुन रुपले पनि पूज्य छन् । गीतामा भगवान् श्रीकृष्णले पनि भन्नुभएको छ, मलाई जसले जुन रुपमा चाहन्छ, त्यही रुपमा चिन्तन र ध्यान गर्न सक्दछ ।
यदि कृष्णको मूर्ति पूजा गर्दै जाने हो भने अन्त्यमा व्यक्ति स्वयम् कृष्णस्वरुप बन्दछ भने उसको मूर्ति हराउँछ । जस्तै, हामी कुनै मन परेको मानिसको फोटो हेर्दाहेर्दै उसका गुण, विशेषता, धर्म, उसँगको उठबस सबै सम्झँदै जाँदा हातको उसको फोटो हेरेको अनुभूति नै हुँदैन, मूर्तिको पूजा गर्दै जाँदा अन्त्यमा भगवान्का लीलाहरु सम्झँदासम्झँदै उहाँसँग नजिक भएको अनुभूति त हुन्छ, तर यता मैले मूर्तिको पूजा गरेको छु भन्ने थाहै हुँदैन । यसको अर्थ के हो भने मूर्ति, चित्र र तस्बिरहरु केवल साध्यसम्म पुग्ने साधन हुन् । ती साध्य त होइनन्, तर ती नभईकन पनि हुँदैन, किनकि ती साध्यसम्म पुग्ने प्रथम र प्रारम्भ बिन्दु हुन् ।
मानिसकोे मनोविज्ञान नै विभिन्न चित्र र दृश्यहरुले बनेको हुन्छ । हामीले सपना देख्दछौँ । हामीले देखेका ती सबै सपनाहरुमा चित्रहरु हुन्छन्, दृश्यहरु हुन्छन् । हामीले चाहे जुनसुकै शब्दको उच्चारण गरौँ, ती प्रत्येक शब्दका चित्रहरु हाम्रो मनस्थितिमा अङ्कित हुने गर्दछन् । हामीले देखेका र भोगेका विषय, व्यक्ति र ठाउँका दृश्यहरु हाम्रो मनस्थितिमा कोरिने कुरा त अनौठो हुँदैन नै, हामीले नदेखेका, नभोगेका र केवल सुनेका व्यक्ति, वस्तु र विषयहरु पनि हाम्रो मस्तिष्कमा चित्र बनेर सुरक्षित हुने गर्दछन् ।
जस्तै, मानौँ हामी अमेरिका गएका छैनौँ । कसैले अमेरिकाका बारेमा हामीलाई सुनाएकै भरमा पनि अमेरिकाको आफ्नै किसिमको चित्र हाम्रो मानसपटलमा कोरिएको हुन्छ, यद्यपि हामीले बनाएको चित्र र वास्तविक चित्रमा कतै कुनै मेल नहोस् । यस्तो कुनै शब्द, विषय, वस्तु वा व्यक्ति छैन, जुन बिनाचित्र हाम्रो मस्तिष्कमा सुरक्षित भएको होस् । हाम्रो मनको विज्ञान नै के हो भने यसले हरेक कुरालाई मूर्ति, चित्र वा रुप बनाएर स्वीकार्ने र सुरक्षित राख्ने गर्दछ ।
संसारका सबै कुराहरु चित्र र दृश्य बनाएर हाम्रो मस्तिष्कमा सुरक्षित राख्ने तर भगवान्लाई मात्रै निराकार र दृश्यहीन बनाएर राख्ने कुरा कत्तिको उचित र विज्ञानसङ्गत होला ? हाम्रा हरेक विचारहरु अमूर्त छन्, अदृश्य छन्, तर ती प्रत्येक विचार दृश्य बन्न सक्दछन्, चित्र र रुपमा बदलिन सक्दछन् । दृृश्य पनि दुई किसिमका हुन्छन् ः देखिने र नदेखिने । हामीले हाम्रो जुन घर बनाएका छौँ, त्यो देखिने घर हो । तर, त्यो घर जुन आकार र प्रकारमा बनेको छ, त्यो आकार र प्रकार घर बन्नुअघि नै हाम्रो मस्तिष्कमा कोरिइसकेको थियो, अथवा घरको नक्सा कोर्ने इन्जिनियरको मस्तिष्कमा कोरिइसकेको थियो । मस्तिष्कभित्र कोरिएको चित्र बाहिरका मानिसले देखेका थिएनन्, त्यसैले त्यो नदेखिने चित्र थियो । जब त्यही नदेखिने चित्र देखिने घरमा बदलियो, त्यसपछि त्यो देखिने चित्र भयो । त्यसलाई सबैले देख्न सके ।
मान्छेको मनको विज्ञान नै दृश्यहरुमार्फत अदृश्यलाई धारण गर्नु हो । ईश्वर निराकार छन्, यसमा कुनै शङ्का छैन तर मान्छेको मन दृश्यहरुमा अभ्यस्त हुने भएका हुनाले दृश्यहरुकै सहारामा अदृश्य एवम् निराकार ईश्वरको अनुभूति गर्ने विधि सर्वाधिक उपयुक्त र सरल छ भनेर भन्नु गीताको आशय देखिन्छ । निराकार उपासना धेरै श्रम गर्न सक्ने, जागृत र विशेष योग्यता भएका साधकहरुको विधि हो । जस्तै, उमेर पुगेका र परिपक्व व्यक्तिलाई सिकाउन प¥यो भने हामीले कुनै पनि दृश्य, चित्र वा विषय नदेखाईकन पनि सिकाउन सक्दछौँ, त्यसरी नै भगवद्साधनाका क्षेत्रमा माथि उठिसकेका र धेरै कुरा जानिबुझिसकेका साधकहरुका लागि निराकार ब्रह्मको चिन्तन अर्थात् निराकार निर्गुण उपासना पद्धति उपयुक्त हुन सक्दछ ।
तर, हामीकहाँ यस्ता मान्छे कति छन् ? हाम्रो समाज कस्तो छ ? मानिसहरु कुन अवस्थामा छन् ? यी सबै कुरा विचार गरेर नै भगवान् श्रीकृष्णले सबैका लागि सधैँका लागि सरल र सहज उपासना वा ध्यानको विधि भनेको सगुण र साकार उपासना विधि नै तुलनात्मक रुपमा उपयुक्त रहेको सत्य उपदेश गर्नुभएको हो ।
संसार भनेकै साकार र निराकारको संयोजन हो । हाम्रो शरीर, धर्तीका यी समस्त दृश्य र विषयवस्तुहरु सबै–सबैभित्र निराकारको उपस्थिति छ । त्यस्तै, हरेक निराकारहरु आकारमार्फत नै अस्तित्वमा आउने गर्दछन् । यही नै निराकार र आकारको अन्योन्याश्रित अस्तित्व हो । भगवान् श्रीकृष्णको स्वरुप आममानिसको जस्तै छ । उहाँका पनि विभिन्न गुणहरु छन् । विभिन्न स्वभाव र गुणले उहाँ युक्त हुनुहुन्छ । त्यस्तै, अन्य भगवान् र देवीदेवताहरुका पनि रुप र गुणहरु छन् । यी मान्छेभित्रका साकार उपासनाका प्रमाणहरु हुन् । हामीले कृष्णको मूर्तिमा पूजा गर्दछौँ, ढोग्दछौँ, पूmल–अक्षता चढाउँदछौँ र आफ्नो आस्था एवम् भक्तिभाव प्रकट गर्दछौँ । वास्तवमा हामीले मूर्तिको पूजा गरेका होइनौँ । हामीले त मूर्तिमार्फत श्रीकृष्णका गुण, धर्म र आदर्शहरुको पूजा गरेका हौँ । ती मूर्तिहरु त भगवान् श्रीकृष्णसम्म पुग्ने साधनहरु मात्र हुन्, साध्य होइनन् ।
त्यसैले, हामी सबैले एक चित्त भएर, एक निष्ठ भएर भगवान् श्रीकृष्णको सगुण रुपलाई चिन्तन गर्दै भक्तियोगका साथ निरन्तर ध्यान गर्दै गयौँ भने जन्ममृत्युको निरन्तरताबाट पनि हामी सधैँका लागि मुक्त हुन्छौँ भन्ने गीताको सन्देश छ । श्रीकृष्णको उपासना सगुण उपासना हो । उहाँको चित्र हेरेर, उहाँका गुण र विशेषताहरुको स्मरण गर्दै हामी निरन्तर उहाँको सेवामा लाग्यौँ भने हामी स्वयम् पनि कृष्णमय बन्न सक्दछौँ भन्ने श्रीकृष्णको सन्देश छ । उहाँले भन्नुभएको छ ः
‘मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।
निवसिष्यसि मय्येव अत ऊध्र्वं न संशयः ।।
अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिराम् ।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्जय ।।’
अर्थात्, ममा मन लगाऊ, ममा बुद्धि लगाऊ । यसो भयो भने तिमी मैमा निवास गर्नेछौ, यसमा कुनै शङ्का नगर । यदि मनलाई ममा दृढ र अचल रुपमा स्थापित गर्नका लागि तिमी समर्थ भएनौ भने अभ्यास योगका माध्यमले मलाई प्राप्त गर्ने इच्छा गर ।
अभ्यासभित्र भगवान् श्रीकृष्णका नाम र गुणहरुको श्रवण, कीर्तन, मनन, जप र भगवत्प्राप्तिविषयक शास्त्रहरुको पठनपाठनलगायत गतिविधिहरु पर्दछन् । यी कर्तव्य र क्रियाकलापले पनि मन भगवान्मा लागेन भने सबै कर्महरु केवल परमेश्वर कृष्ण सम्झिएर गर्नुपर्दछ । सबै कर्महरु केवल श्रीकृष्णका लागि हुन् भन्ने सम्झेर कर्म गर्नुुपर्दछ । यदि यसो गर्दा पनि भएन भने पनि सबै कर्म र तिनका फलको त्याग गर्दै निष्काम कर्मयोगी बनेर अघि बढ्ने हो भने त्यो नै श्रेष्ठ हुने कुरा गीतामा बताइएको छ । भनिएको छ ः
‘श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम् ।।
अर्थात्, वास्तविक मूल्य र मर्म नबुझी गरिएको अभ्यासभन्दा ज्ञान श्रेष्ठ हुन्छ, ज्ञानभन्दा मेरो स्वरुपको ध्यान श्रेष्ठ हुन्छ, ध्यानभन्दा पनि सबै कर्महरुको फलको त्याग श्रेष्ठ हुन्छ किनभने त्यागले तत्काल शान्तिको अनुभव गर्न सकिन्छ ।’— यो भगवान् श्रीकृष्णको सन्देश हो ।
‘अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः ।
सर्वारम्भपरित्यागी यो मद्भक्तः स मे प्रिय ः ।।
यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभ परित्यागी भक्तिमान्यः स मे प्रियः।।
अर्थात्, जो आकाङ्क्षाहरुदेखि मुक्त छ, भित्र र बाहिर शुद्ध र दक्ष छ, पक्षपात गर्दैन, दुःखदेखि पर छ, त्यस्तो सम्पूर्ण आरम्भहरु त्याग गर्ने मेरो भक्त मेरालागि विशेष प्रिय छ । जो न कहिल्यै हर्षित हुन्छ, न कसैलाई घृणा एवम् द्वेष गर्दछ, न शोक गर्दछ, न कामना गर्दछ र जो सबै प्रकारका शुभ एवम् अशुभ फलहरुलाई त्याग गरेको छ, त्यो भक्तिले युक्त पुरूष मेरालागि विशेष प्रिय छ ।।’— भगवान् श्रीकृष्णले यसरी आफ्नो वास्तविक भक्तको योग्यताबारे मुख खोल्नुभएको छ ।
भगवान् श्रीकृष्ण सगुण साकार हुनुहुन्छ । उहाँको रुपको चिन्तन, ध्यान र मननका माध्यमले हामी श्रीकृष्णका गुण, धर्म र विशेषताहरुको स्वयम्मा श्रीवृद्धि गर्न सफल बन्दछौँ । भगवान्को निराकार चिन्तन र मनन पनि भगवत्साधनाको एउटा बाटो हो, तर यो निकै उच्च स्तरको र जटिल बाटो हो । हामीले हाम्रो मन जहाँ टिक्छ, त्यसैमा टिकाउनुछ । भगवान् श्रीकृष्णले गीतामा व्यक्त गर्नुभएका भनाइ निकै अर्थपूर्ण, व्यावहारिक र वैज्ञानिक छन् । हामीले पनि गीताको यो विज्ञानलाई बुझी तदनुरुप साकार उपासनामार्फत भगवत्साधनाको अभ्यास गरौँ ।
Discussion about this post