खैरहनीको नगरसभा : कृषिमा युवालाई बिनाव्याज कर्जा

अन‌ि यो पनि

रत्ननगर । खैरहनी नगरपालिकाले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फर्किने नगरभित्रका युवाहरुलाई कृषि पेसामा आकर्षित गर्न बिनाव्याज कर्जा लगानी गर्ने भएको छ ।

शनिबार आयोजना गरिएको सातौँ नगरसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गर्न व्यावसायिक घुम्ती रिफन्ड कोषमार्फत बिनाव्याजको कर्जा लगानी गर्ने घोषणा गरेको हो ।

बजेट असार १० गते सार्वजनिक गर्ने योजना रहेको भए पनि सो नगरपालिकाले त्यसका लागि ६० लाखको घुम्ती रिफन्ड कोष निर्माण गर्ने बुझिएको छ । व्यावसायिकरुपमा कृषि पेसा गर्ने युवाहरुलाई एउटा कार्यविधि बनाएर निश्चित रकम निव्र्याजी उपलब्ध गराउने योजना बनाइएको मेयर लालमणि चौधरीले जानकारी दिए । कृषि सुधारका लागि माटो परीक्षण प्रयोगशाला, नयाँ कृषि प्रविधि थोपा सिंचाइ, मल्चिङ प्लास्टिक, पोली हाउसलगायतमा अनुदान उपलब्ध गराइने उनले बताए ।

माछापालन, मौरीपालन, केराखेतीलाई समेत प्रोत्साहन हुने खालका कार्यक्रम ल्याइएको छ । धानबालीमा लाग्ने रोगको रोकथाम गर्न राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र र रामपुर कृषि क्याम्पससँगको समन्वयमा नयाँ जातका धानबालीहरुको परीक्षण उत्पादन सुरू गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी आर्थिक वर्षमा भूमि बैंक स्थापना गरी बाँझो रहेका जमिन र नदी उकास जग्गालाई अभिलेखीकरण गरी समूहमा खेती गर्नेलाई लिजमा दिने नीति लिइएको छ । जग्गा उपयोग गरेबापत समूहले तिर्ने रकम सम्बन्धित जग्गाधनीलाई उपलब्ध गराइने छ ।

विद्युत्को पहुँचबाट टाढा रहेका विपन्न समुदायका घरमा मिटर जडान खर्च नगरपालिकाले उपलब्ध गराउने, विपन्न परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रममार्फत ती समुदायको घर निर्माण गर्ने योजना रहेको मेयर चौधरीले बताए । त्यस्तै, अति गरिब परिवारका लागि कम्तीमा १० परिवारको पहिचान गरी उनीहरुको समस्या समाधानका लागि साझा सुविधा केन्द्र स्थापना, खरको छानो विस्थापित गर्ने कार्यलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

त्यस्तै, बेरोजगार तथा विदेशबाट फर्किएका युवालाई मागका आधारमा पशुपालन व्यवसाय सञ्चालनका लागिसमेत घुम्ती कोषमार्फत निव्र्याजी ऋण दिइनेछ । पशुपालन व्यवसायको विकासका लागि उत्पादनका आधारमा अनुदान, बाख्रापालन प्याकेज कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

कोरोनाको महामारी रहेका बेला खैरहनी नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको अभाव हुन नदिने, उचित प्रोत्साहन उपलब्ध गराउने, कठार स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन गर्ने, ६० वर्ष उमेर पूरा भएका महिला स्वास्थ्य स्वयंसेविका सेवानिवृत्त हुँदा संघीय सरकारको कानुनबमोजिम उपलब्ध हुने सुविधाका अतिरिक्त नगरपालिकाको तर्फबाट थप सुविधा प्रदान गरी सेवानिवृत्त प्रक्रियामा अनिवार्य गराइने नगरपालिकाले नीति लिएको छ । नीति तथा कार्यक्रममा नगर सदस्यहरुले जिज्ञासासहित राय पेश गरेका थिए ।

नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले आर्थिक प्रतिवेदन पेश गरे भने उपप्रमुख सुनिता थपलियाले नगरसभामा सहजीकरण गरेकी थिइन् । त्यसैगरी, नगरसभाको अवसर पारेर नगरपालिका परिसरमा निर्माण गरिएको सभाहलको उद्घाटन गरिएको छ । सभाहलको मेयर लालमणि चौधरी र उपमेयर सुनिता थपलियाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्माले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया