लकडाउनले मेघौलीका केरा कृषक मारमा

अन‌ि यो पनि

मेघौली । भरतपुर–२८, अन्दौलीका किसान लोकनाथ सापकोटा आफ्नो केराबारी नगएको धेरै दिन भैसक्यो । उनलाई केराबारी तहसनहस भएको अवस्थाले जानै मन लाग्दैन । ‘गयो भने झन् धेरै पीडा हुन्छ’, उनले भने, ‘धेरै दिनदेखि गएको छैन ।’

उनले अन्दौलीमा तीन बिगाहामा केराखेती गरेका छन् । उनको बारीमा ३० प्रतिशत केरा बिक्रीका लागि तयारी अवस्थामा थियो । त्यहीबेला कोरोना नियन्त्रणका लागि लकडाउन गरियो । लकडाउनका कारण देशभरको जनजीवन ठप्प भयो । उनको बिक्रीका लागि तयारी अवस्थामा रहेका सबै केरा बारीमै सडे । त्यसपछिका दिनमा तयार भएका केरासमेत बारीमै सडिरहेका छन् ।

‘अहिलेसम्म कम्तीमा ४–५ गाडी केरा सडिसक्यो, यस्तै ५–६ लाख रूपैयाँ गुमाइसकेको छु’, उनले भने, ‘लकडाउन खुकुलो भए पनि समयमा मलखाद नपाउँदा बाँकी रहेका बिरूवाहरुको पनि आश मरेको छ, अझै कति गुमाउनुपर्ने हो !’ समयमै मलखाद उपलब्ध गराउन सरकारसँग माग गर्छन् उनी ।

भरतपुर–२८, अन्दौलीकै शशिधर सापकोटाको केराबारीसमेत तहसनहस अवस्थामा छ । उनको बारीमा रहेका धेरैजसो केरासमेत सड्न थालेका छन् । बिक्रीका लागि तयारी अवस्थामा रहेका केरा बारीमै सड्न थालेपछि केही त गाउँलेलाई निःशुल्क पनि बाँडेका छन् । उनले भने, ‘कि त बारीमै सड्न दिनुप¥यो कि त बाँडेर सक्नुप¥यो, अरु विकल्प पनि त छैन ।’

भरतपुर–२८, अन्दौलीकै चक्रपाणि सापकोटाको एक बिगाहामा लगाइएका सबै केरा बारीमै सडेको छ । उनले यस्तो अवस्था सबै केरा कृषकको रहेको बताए । उनले बामे सर्न थालेको यस क्षेत्रको केरा व्यवसाय धराशायी हुने अवस्था आएको बताए । ‘केरा कृषक आर्थिकरुपमा टाट पल्टिने अवस्था आयो’, उनले भने, ‘लकडाउनका कारण धेरै जनाको केराबारी तहसनहस भएको छ ।’

भरतपुर–२८ मा मात्रै कम्तीमा ५० बिगाहामा व्यावसायिक केराखेती भैरहेको स्थानीय व्यवसायी पवन चापागाईंले बताए । धेरै केरा लकडाउनका कारण नोक्सान भएको छ । उनले लकडाउनका कारण लाखौँको केरा नष्ट भएको बताए । ‘कोरोना संक्रमण अरु थप लम्बियो भने अझ धेरै केरा नष्ट हुन्छ’, उनले भने, ‘कतिपय किसान विस्थापित हुने हुन् कि भन्ने त्रास बढ्दै गएको छ’, उनी भन्छन् ।

निकुञ्ज तथा सामुदायिक वनका वन्यजन्तुहरुले बालीनाली खाइदिने गरेका कारण तटीय क्षेत्रका किसानहरुको केराखेतीप्रति आकर्षण बढेको छ । यहाँ विगत लामो समयदेखि केराखेती हुँदै आएको छ । पछिल्ला वर्षहरुमा पश्चिम चितवनमा व्यावसायिक केराखेतीमा आकर्षण बढेको व्यवसायी चापागाईंले बताए ।

यतिबेला केराको बिक्री र उत्पादनको उपयुक्त सिजन हो, तर राम्रो मूल्य पाउने बेला किसानले केराको बजार नपाउँदा उनीहरुलाई थप पिरोलो परेको छ । अघिल्ला वर्ष केरा बिक्री गर्न भ्याइनभ्याइ हुने किसान यतिबेला बारीमा पाकेर सडेको केरा हेरेर दिन कटाइरहेका छन् ।

फागुनदेखि भदौसम्म केरा बिक्रीको मुख्य सिजन मानिन्छ । यही सिजनमा परेको लकडाउनले केरा किसानहरु ठूलो समस्यामा परेका चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले बताए । लकडाउनका कारण बजार पाउन नसकेर केरा पाकेर कुहिँदै गएको उनले गुनासो गरे ।

उनले भने, ‘सबैतिर बन्द छ, न उपभोक्ता छन् न कुनै बजार खुल्ला छ । केरा उत्पादक किसानले यतिबेला लाखौँको घाटा सहनु परेको छ ।’

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया