अन्तर्राष्ट्रिय कसीमा आयामको ‘दासहरुको कुम्भमेला’

अन‌ि यो पनि

–एच. के. श्रेष्ठ
[email protected]
समालोचनाको यात्रा गर्दा, बहुमुखी प्रतिभाशाली क्षमतावान् नवसमालोचनाका हस्ती टी. एस. इलियटले समीक्षामा लेखक, सर्जक, सिर्जनाकार वा स्रष्टाका व्यक्तिगत र उसको ऐतिहासिक सन्दर्भ बिर्सेर समीक्षा गर भनेकोे सुझाव मनन गर्दागर्दै पनि ‘दासहरुको कुम्भमेला’का निबन्धकारको व्यक्तित्व केही खोल्नैपर्ने हुन्छ । ‘सङ्गीत आयाम’ नाम र उनको घनघोर सङ्घर्षपूर्ण जीवन निश्चय नै विरोधाभासपूर्ण छ ।

‘लेखकीय’मा पस्केको उनको भनाइ र जीवन्त जीवनमा भोगेको भोगाइले सङ्घर्ष नै सङ्घर्षको जीवन पुष्टि गर्दछ । तर जीवन सङ्घर्षको वेदना, नाम सङ्गीत कसरी ? जोन किट्सको ‘नेगेटिभ क्षमता’को मर्म र मूल्यको महानता उनमा पाउँछौँ, जहाँ उनले कठिन पीडाबोधक जीवनमा पनि सौन्दर्यपूर्ण संसार देख्न सकेरै होला सङ्गीत आयाम भनेर आफूलाई चिन्ने नाम राखे । ‘सादा जीवन, उच्च विचार’को आदर्श गोरेटो सङ्गीत आयामको जीवनमार्ग हो । अन्तरमुखी हुनाले केही आलोचकहरुले अन्यथा आरोप लगाए पनि बजाउन जान्नेका लागि सुमधुर बाजा हो सङ्गीत, नजान्नेका लागि अन्यथा हुनसक्ला !

बौद्धिक मजदुर हुनाले आफ्नो दर्जा बुद्धिजीवीकै रुपमा दर्ज गर्न सफल छन् उनी । त्यसो त, बुर्जुवा बुद्धिजीवीको कित्ताबाट सुरक्षित हुन उनी पद, पैसा, सुविधा र लालचबाट बिटुलिएका छैनन् । उनको सिर्जनशील साहित्यिक उत्पादन ‘कला कलाका लागि’ नभएर ‘कला जीवनका लागि’ भएकोमा त्यसमा मरिमेटेको देख्दा निःसन्देह आयाम माक्र्सवादी बुद्धिजीवी वा साहित्यकार हुन् भन्ने मेरो ठहर छ ।
तडकभडकविरूद्ध विद्रोही सङ्गीत सधैँ प्रकृतिवादी जीवनशैलीमा रमाउँछन् । सङ्घर्षको पसिनालाई सुन्दर देख्ने उनी शाब्दिक खेती गरेर पद्य र गद्य उत्पादन दुनियाँलाई मिठासका साथ खुवाउँदै आएका छन् । सङ्ख्या गौण र गुणात्मकता प्रधान मान्ने आयाम मौलिकता, भरपूर सिर्जनशीलता र उत्कृष्ट रचनाका ध्यानी हुन् । काव्ययात्रामा कविताबाट यात्रा सुरू गरेर निबन्धसङ्ग्रहको कठिन बाटोमा आइपुग्दा उनले अन्य विधाहरुका लागि प्रवेश परीक्षा पनि पास गरिसकेका छन् ।

अङ्ग्रेजी भनाइ छ– ‘सम बुक्स आर टु रिड, सम आर टु चिउ बलम, सम आर टु स्वलो ।’ मैले उनको निबन्धसङ्ग्रहलाई चपाएर निल्दै गर्दा देखेको सङ्गीत र लेखेको सङ्गीतमा निकै फरक पाएँ । फ्रेञ्च साहित्यकार मिचेल दे मन्टेगले सर्वप्रथम न्वारान गरेको ‘निबन्ध’ शब्दको जगमा बेलायती बहुप्रतिभाशाली साहित्यकार बेन जोन्सनले सर्वप्रथम सन् १६०९ मा स्थापित गरेको ‘निबन्धकार’ पदावली सङ्गीत आयामलाई खुब सुहाएको देख्छौँ । सत्रौँ शताब्दीको बेलायती निबन्धकारका मह¤वकोे सट्टामा उनी अहिले पूर्वीयअन्तर्गत नेपाली साहित्यको फाँटमा भेटिन्छन् ।

एक्काइसवटा निबन्धहरुको पुँजी (निबन्धसङ्ग्रह) ‘दासहरुको कुम्भमेला’ तपस्वी र धैर्य मानसिक योगदानको उपज देखिन्छ । ‘चीजहरु पहिल्यै नै त्यहाँ छन्, लेखकले त्यसलाई संगठित र औपचारिकता दिने हो’ भन्ने अस्तित्ववादी धाराका महान् फ्रेञ्च साहित्यकार जाँ पल सात्रले ‘ह्वाई राइट ?’ (किन लेख्ने ?) मा उठाएको धारणासँग उनको धारणाले ल्याप्चे लगाएको अनुभूत हुन्छ । “पुस्तकलाई पाठकले नपढेसम्म पुस्तक लेखाइको अर्थ हुँदैन वा पुस्तकको जीवन पाठकले दिने हो” भन्ने सात्रकै अर्को मान्यता ‘दासहरुको कुम्भमेला’ले दह्रोरुपमा पकडेको छ । निबन्धमा स्थापित हरेक निबन्ध पाठककेन्द्रित र पहुँचको लाग्दछ ।

शङ्कर म अम्बरलाई छुँदैछु, शब्दहरुसँग, मेरो स्पर्शको कटुवाल, लोलिता मेरी लोलिता, रातको अँगालोमा उज्यालोको कुरा, पात्रहरु, आत्महत्याको प्रश्न, दार्शनिक बन्ने गोरेटोमा, साइकल यात्रा, आरोह–अवरोह, दासहरुको कुम्भमेला, अनुभूतिको महायात्रा, उज्यालो÷अँध्यारो, जीवनको विनिर्माण, उत्सवमय भ्रमहरु, मनसुने झरी, दुर्घटना र दृश्यहरु, जग्गा दलालको आत्मकथा, मोफसलको कथा, यात्रैयात्रा, गुरू र विद्यार्थीको कथा र अध्ययनको मौसम शीर्षकहरुले पुस्तकलाई नेतृत्व गरेका छन् । एक्काइस निबन्धको बीचमा सम्पादन गरिएको ‘दासहरुको कुम्भमेला’ शीर्षकबाट नै सिङ्गो पुस्तकको नामकरण भएको छ, जसले सिङ्गै पुस्तक बोकेर हिँडेको छ । साहित्यको वास्तविक संसारसँग सम्बन्ध रहनुपर्ने र मानव अस्तित्वको दैनिक समस्यासँग नजिक हुने क्षमता साहित्यले राख्नुपर्ने नवसमालोचनावादी मान्यताको गुण विभिन्न शीर्षकले नै जाहेर गर्दछन् ।

यो निबन्धसङ्ग्रह जन्माउन निबन्धकार आयामले कति प्रसव पीडा, कति फराकिलो र गहिरो अध्ययनशील तपस्या गरेका छन् भन्ने कुरा उनले तेस्र्याएका विश्व दार्शनिक, साहित्यकार, विचारक र सन्दर्भका तथ्यहरुले तथा व्यापक विषयहरुले नै जिकिर गर्दछन् । उनको अध्ययनको दायरा अन्तर्राष्ट्रियरुपमै फराकिलो भएको हुँदा बुर्जुवा साहित्यकारहरुलाई दह्रो झापड भएको छ, कृति । लगभग हरेक शीर्षकको निबन्धभित्र हामी अन्तर्राष्ट्रिय साहित्यिक आकासका बाजहरुको उल्लेख भेट्छौँ । जे. एम. कोत्से (पेज २९), भ्लादिमिर नावोकोभ (पेज १५), शेक्सपियर (पेज २४), डी. एच. लरेन्स (पेज २५), अल्बर्ट कामु, अरून्धति रोय (पेज ३०), जोन किट्स र सेली (पेज ३१), आइन्स्टाइन (पेज १२४), नेल्सन मण्डेला (पेज १२५), चाल्र्स डार्विन, हिटलर, जर्ज बुस (पेज १२६) आदिको उठान अन्तर्राष्ट्रिय ज्ञान पहुँचका द्योतक हुन् ।

अध्ययनको असीमितताले स्रष्टा आयाममा टी. एस. इलियटको ‘ट्रयाजिडी एण्ड इन्डिभिजुयल ट्यालेन्ट’ले अवलम्बन गरेको मर्म भेटिन्छ । हरेक सर्जक वा लेखकहरुले अग्रज लेखकहरुको आवश्यक बौद्धिक गुणलाई परम्परागतरुपमा लिने र आफ्नो व्यक्तिगत क्षमता तथा मानसिक, बौद्धिक निकायलार्ई अति सिर्जनशील बनाएर नयाँ रचना कला तयार गर्ने गुण यो निबन्धसङ्ग्रहले अँगालेको छ । निबन्ध भनेकै ठूलो प्रयास हो, जहाँ विचारलाई लेखनमा उतार्नुपर्छ भन्ने वैचारिक विमर्शको सघन उपस्थिति छ यसमा । निबन्ध निजी विचारको बन्धन हो, तर लेखकका विचारहरु स्थानीय, क्षेत्रीय र राष्ट्रियरुपबाट पनि फड्किएर विश्वव्यापी बन्न पुग्दछन् । सुसङ्गत, खँदिलो वा युक्तिसङ्गत बहसलाई उत्तेजनात्मक प्रश्नको प्रतिक्रियामा उठाउने र पाठकले पछ्याउने बनाएर लेखक प्रामाणिक वा पत्यारयोग्य हुने निबन्धगत उद्देश्यको अर्को गुण भेटिन्छ यस कृतिमा, अर्थात्, निबन्धको मुख्य तागत गुण प्रत्यारोपण हो । उनका हरेक निबन्धले पाठकलाई पठनको क्रममा विश्वास दिलाउँदै लाने क्षमता अवलम्बन गरेको छ ।

‘साहित्य सुगन्धमय छ’ भन्ने मिल्टनको भनाइजस्तै आयामका हरेक निबन्ध सरल, रसिलो र सुगन्धित छ । विभिन्न तथ्य, प्रमाण, सन्दर्भ, बिम्ब, प्रतीक, उदाहरण र तर्कहरुको बलियो प्रस्तुतिले पाठकलाई पछ्याइरहने बनाउने चतु¥याइँ प्रचुर छ । संवेदनशील निबन्ध लेखकले आफ्नो पहिचान र मौलिकतालाई रक्षा र सुरक्षा गर्नेमा निकै ध्यान दिएको पाइन्छ । उनका निबन्धमा अनुभूति र विचारको मेल छ । चित्रमयताको आस्वादनमात्रै होइन भावमयताको आरोहण निबन्धसङ्ग्रहले बोकेको छ । सिङ्गो निबन्धसङ्ग्रह नियाल्दा निबन्धकार आफैँ पाठक, लेखक र समालोचकको बहुआयामिक भूमिकामा भेटिन्छन् ।

प्रत्येक निबन्धमा जनस्तर अर्थात् व्यापक क्षेत्रका पाठकको मनोविज्ञानलाई राम्ररी अध्ययन गरेको, विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, सौन्दर्यशास्त्र आदिका विषयलाई विषयवस्तुका रुपमा समेटिएको भेटिन्छ । केही निबन्धभित्रका घटना, परिस्थिति, पात्र र प्रवृत्तिलाई आलोचनात्मक दृष्टिबाट हेरिएको छ । ती पक्षहरुमाथि लेखक स्वयंले समीक्षात्मक प्रस्तुति पेश गरेकाले उनी बहुभूमिकामा देखिन्छन् । निबन्धहरु काव्यात्मक अनुभूतिका कवितात्मक रुप र भावनात्मक सम्प्रेषणमा परिष्कृत छन् । लेखकको वैयक्तिकता प्रस्फुटित हुनाका साथै यसमा वर्णित विषयहरुप्रति संवेदनाशीलता र भावनात्मक एकात्मीय सम्बन्ध प्रगाढ छ ।

निबन्ध एक ढङ्गले ‘चेतनाको पुनर्जागरण’ हो भन्ने अन्तर्राष्ट्रिय मान्यतामा यसले दसीको काम गरेको छ । सामान्य पाठकदेखि दीक्षितको तयारी (रेडिमेड) खुराक पैदा गर्दछ । प्रेजेन्टेसनको अन्तर्राष्ट्रिय मान्यता ‘थेसिस, बहस, समाधान र रक्षा’को अवयव प्रायः निबन्धहरुमा घुलित छ । दासहरुको कुम्भमेला, आत्महत्याको प्रश्न, साइकल यात्रा, आरोह–अवरोह, जीवनको विनिर्माण, जग्गा दलालको आत्मकथा आदि लगायत थुप्रै निबन्धमा यी पक्ष टड्कारोरुपमा उजागर छन् । सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र मानवीय समस्याहरुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्ने, खरो बहस चलाउने, कतिपयमा समाधान देखाउने र आफ्नो विचारको रक्षा बलियो गर्ने लेखकको कुशल कलाकारिता हो ।

‘लेखक भनेको मानव आत्माको इन्जिनियर हो’– लेनिनको यो भनाइलाई सार्थक बनाउँदै विभिन्न मुद्दाहरुमार्फत स्रष्टा समाजको आत्मा छाम्न पुगेको छ, कृतिले । कारण र असर, तुलना र भिन्नता, वर्णनात्मक, बहसात्मक र विश्लेषणात्मक निबन्धका विश्व मान्यताका रुपहरुले यो निबन्धसङ्ग्रहलाई प्रमाणीकरण गरेको छ । निबन्धको प्रारम्भकै शीर्षक शङ्कर, म अम्बरलाई छुँदैछु, पात्रहरु, आत्महत्याकै प्रश्न आदिमा पहिलो रुप प्रशस्तै पाइन्छ । मेरो स्पर्शको कटुवाल, मनसुने झरी, दुर्घटना र दृश्यहरु, यात्रैयात्रा आदिमा वर्णनात्मक, उज्यालो÷अँध्यारो, आरोह–अवरोह आदिमा तुलना र भिन्नतारुप प्रधान, दार्शनिक बन्ने गोरेटोमा, अध्ययनको मौसम, दासहरुको कुम्भमेला आदिमा बहसरुप प्रबल र अनुभूतिको यात्रा, उत्सवमय भ्रमहरु, यात्रैयात्रा आदिमा विश्लेषणात्मक रुपले गुण जमाएको पाइन्छ । कतिपय निबन्धभित्र उनलाई कडा व्यङ्ग्यकार जोनाथन स्विफ्टझैँ भेटिइन्छन् ।

अर्को कोणबाट लिँदा निबन्धका मुख्य चार प्रकार– बयानात्मक, वर्णनात्मक, व्याख्यात्मक र अुननयी वा हृदयग्राहीमा सिर्जित छ निबन्धसङ्ग्रह । पुस्तक सानो छ, तर हरेक कोणबाट हेर्दा भीमले ब्रह्माण्ड थामेझैँ विषयवस्तुको हिसाबले यसले विश्वसमाज थामेको छ । सबै निबन्धमा धेरै अनुच्छेदले यो छोटो होइन लामो निबन्धको खालमा पर्छ ।

फ्रेन्च निबन्धकार तथा समालोचक रोलाँ बार्थको विचार “लेख्नु भनेको त्यो बिन्दुमा पुग्नु हो, जहाँ मैले होइन भाषाले मात्र कार्य गर्दछ” भन्ने सूत्र यसले मनन गरेको पाइन्छ । हरेक निबन्धमा सरल, दैनिकी र सरस भाषा प्रयोग छ । फ्रायडियन मनोविश्लेषणको चेतन, अर्धचेतन र अचेतन मनोविज्ञानलाई सक्दो ध्यान दिएको पाइन्छ । विषय, पाठक, सन्दर्भ र पात्र तथा घटनापरक भषिक त¤वहरुको शब्दछनोट अर्थात् भाषिक चयनमा ध्यान पु¥याइएको छ । सुझबुझ बढाउने, सिकाइ प्रक्रियालाई सहयोग पु¥याउँदै अन्य विचार बनाउने र सूचना र स्रोत ग्रहणपछि विश्लेषण गर्दै आलोचनात्मक निर्णय गर्ने निबन्ध पढ्नुको खास तीन कारणमा पनि यो निबन्धसङ्ग्रह चुकेको छैन । लेखक मानवपक्षका विभिन्न अवयवहरुमा घोत्लिएको पाइन्छ । सुख, दुःख, वेदना, मर्म, पीडा, कष्ट, विस्मात्, खुसी, आवेग, रिस, माया, घृणाजस्ता तमाम मानवीय निर्देशनलाई सर्लक्कै बोध गरेको भेटिन्छ ।

जीवन भनेको सुखान्त र दुःखान्तको समानान्तर तरिकाले जाने रुप हो भन्ने ध्येय यसमा प्रचुर छ । मानवजीवनको रमणीय पाटो सङ्गीतबाट सुरू भएको निबन्धमा कतै पीडा, कतै वेदना, कतै समस्या, कतै आशा, कतै निराशा, कतै उमङ्गको अनुभूति गराउन उद्धृत भएका शीर्षकहरु छन् । विचार, तरङ्ग, कल्पना, भाव, रुप र बिम्ब तथा प्रतीकले भरिभराउ छन् निबन्धहरु । निबन्धकार कति कारूणिक छन् भन्ने कुरा पात्रको गहिरो पीडामा प्रवेश गरेकाले पुष्टि हुन्छ । विगतका कवितासङ्ग्रह ‘चक्रव्यूह र युद्धपीडाहरु’ र ‘शरणार्थी उज्यालो’ले पोखेका वेदनाका छालहरु काफी छन् । सङ्गीत सिक्दा भोगेको पीडा, साइकल यात्राको पीडा, कटुवालको पीडा, जग्गा दलालको पीडा आदि त्यसका ज्वलन्त उदाहरण हुन् ।

‘दासहरुको कुम्भमेला’लाई अन्तर्राष्ट्रिय विचारकको अवधारणाअन्तर्गत हेर्न मिल्दछ । उदाहरण नै लिनुपर्दा ‘जीवनको विनिर्माण’ शीर्षकको निबन्धलाई ज्याक्स डेरिडाको ‘डिकन्स्ट्रक्सनिजम’ (विनिर्माणवाद)को स्वरुपमा व्याख्या गर्न सकिन्छ । माक्र्सवादी दर्शनबाट हेर्दा ‘दासहरुको कुम्भमेला’लाई बुर्जुवा साहित्यबाट चोखिएको माक्र्सवादी सिर्जना भन्न मिल्छ । हरेक शीर्षकको विषय जनजिब्रोमा भिजेका, उठेका मुद्दा, समाजका यथार्थ चित्रण र भाषाहरु पाठकको पहुँचका छन् ।

सौन्दर्य अर्थात् रुप पक्षलाई आवश्यक सेटिङ मिलाएर सार पक्षलाई प्राथमिकतामा उठाइएको छ । साहित्य निरपेक्ष सत्ता नभएर यो सामाजिक अर्थव्यवस्थाबाट सञ्चालित हुन्छ । साहित्यकार सामाजिक प्राणी भएकाले समाजको अर्थव्यवस्थाले उसको मानसिकता अर्थात् चेतनाको निर्माण गर्दछ भन्ने माक्र्सवादी मान्यताले परिव्याप्त छ आयामको निबन्धकृति । यही मान्यता उनका अरु विभिन्न कृतिहरुले समेत प्रमाणित गर्दछन् ।

‘जग्गा दलालको आत्मकथा’, ‘आत्महत्याको प्रश्न’लगायत हरेक निबन्धका घटनाहरुमा प्रत्यक्ष वा परोक्ष उत्प्रेरकका रुपमा आर्थिक त¤व नै देखिन्छ । वर्गीय समाजमा ठूलाले सानालाई, हुनेले नहुनेलाई, धनीले गरिबलाई, मालिकले कामदारलाई, सहरले गाउँलाई हेर्ने व्यवहार; गर्ने र मान्ने दृष्टिकोण दमनकारी भएको कुरा उनका निबन्धमा उजागर गरिएका छन् । कामदार वर्गमा उठेर आउने इच्छा, आकाङ्क्षा र भावनालाई सहायकरुपमा विभिन्न परिस्थितिले र मुख्यरुपमा आर्थिक पक्षले नै दमन गर्दछ ।

समाजमा खराब र आपराधिक प्रवृत्ति र घटना–परिघटनाहरुको साइनो आर्थिक नै हो भन्ने विषयवस्तु उनका धेरै निबन्धमा पाइन्छ । ‘दासहरुको कुम्भमेला’ नै छाता संरचनाको निबन्ध हो । हरेक निबन्धमा यसको भाव जोडिएको छ । प्रकृतिको दास मान्छे हुनुपर्नेमा मान्छेको दास मान्छे बनाइने र हुने गम्भीर विषय छ । मान्छे जन्मेदेखि सुरू भएर नमरून्जेलसम्म सर्वत्र दासको अस्तित्वको सिकार भएको हामीहरुले देख्छौँ । जुनसुकै देश, जुनसुकै भेष, वर्ग, जात, क्षेत्र, लिङ्ग र समुदायमा दास मानसिकता बन्ने र बनाउने प्रक्रिया सशक्त छ । लोभ, लालच, पैसा, पद, सुखभोगका निम्ति दास बन्न पनि तयार हुने र पहुँच, पद, शक्ति र सत्ता (निकाय)मा रहनेले आआफ्नो स्वार्थका लागि दास बनाउन कहिल्यै नछोड्ने तीतो सत्यलाई निबन्धमा पर्दाफास गरिएको छ । ‘दास’ मानसिकताको सञ्जाल चौतर्फी छ, जसबाट अछूतो कुनै क्षेत्र छैन भन्ने मौलिक दर्पणका रुपमा आएको छ ‘दासहरुको कुम्भमेला’ ।

यसको मतलब ‘दासहरुको कुम्भमेला’ निबन्धसङ्ग्रहमा कमजोरी नै छैनन् भन्ने होइन । लेनिनले भनेजस्तो गल्ती नगर्ने को होला ? तर, निबन्ध सेटिङ र प्लटिङभित्र केही कमजोरीहरु निश्चित छन् । त्यसलाई मूर्तीकरण गरी औँल्याउन यसमा सम्भव भएन । एउटै समीक्षामा सबै असम्भव हुनु स्वाभाविक हो । समीक्षा गर्ने काम अपजसको भारी बोकाइ पनि हो । समीक्षा रचना वा लेखका अभावलाई निको पार्ने छुरा बन्नुपर्ने देवकोटीय धारणालाई स्वीकार्नैपर्छ । तर, समालोचकको ध्येय लेखकलाई गिराउने र हतोत्साही बनाउने नभई लेखकलाई थप जिम्मेवार बनाउने अवधारणाबाट प्रेरित हुन्छ र हुनुपर्छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी जनकौली निवासी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया