कोभिड–१९ को ऊर्जा क्षेत्रमा पर्ने प्रभाव

अन‌ि यो पनि

–रामहरि पौड्याल
[email protected]
कोभिड–१९ ले संसारकै आर्थिक, सामाजिक अवस्था नराम्ररी खल्बल्याएको छ । हाल पनि विश्वका झन्डै ६० प्रतिशत जनसंख्या बन्दाबन्दीका कारण घरभित्रै बस्न बाध्य छन् । व्यापार व्यवसाय ठप्पप्रायः छन् । यसबीच विश्वको आर्थिक अवस्था अबका दिनमा कस्तो हुन्छ भन्नेबारेमा विभिन्न प्रारम्भिक अनुमानहरु आउन थालेका छन् । विश्व बैंकका अनुसार दक्षिण एसियाली क्षेत्रमा सन् २०२० मा क्षेत्रीय आर्थिक वृद्धिदर कोभिड–१९ भन्दा अगाडि प्रक्षेपण गरिएको ६.३ प्रतिशतको विपरीत १.८ प्रतिशतदेखि २.८ प्रतिशतका बीचमा हुनेछ, जुन विगत ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक वृद्धिदर हुनेछ । कोभिड–१९ ले गर्दा पर्ने दूरगामी असरका कारण यो आर्थिक अवस्था सन् २०२१ सम्म लम्बिन सक्ने प्रक्षेपण छ ।

विश्व बैंकको अनुमानअनुसार आर्थिक वर्ष सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर जम्मा १.८ प्रतिशतमात्रै हुने बताइएको छ । यसका प्रमुख कारणहरु घट्दो विप्रेषण (रेमिट्यान्स), पर्यटन र उद्योग, व्यवसायमा आएका अवरोधहरु हुन् । युएनडिपीको पछिल्लो प्रतिवेदनअनुसार आउने वर्ष हाम्रो प्रतिव्यक्ति आम्दानी ४ प्रतिशतले घट्नेछ । यो मानवविकास वृद्धिमा ३० वर्षयताकै सबैभन्दा खतरनाक सूचना हो । विश्व बैंकको जुन महिनामा प्रकाशित वल्र्ड इकोनोमिक अवस्थाको आधारभूत पूर्वानुमानले २०२० मा विश्व जिडिपीमा ५.२ प्रतिशत संकुचन आउने प्रक्षेपण गरिएको छ ।
नेपाल अढाई महिनाभन्दा बढी समयदेखि बन्दाबन्दीमा छ ।

अहिलेसम्म करिब ७ हजार ५ सयको हाराहारीमा नेपालीहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् भने २१ जनाको मृत्युसमेत भइसकेको छ । उद्योग, व्यवसायहरु ठप्प अवस्थामा छन् । आपूर्ति सञ्जाल टुटेको छ । पूरै समाज विभिन्न प्रकारका राहतको पर्खाइमा छ । वैशाख मसान्तसम्ममा अर्थतन्त्रमा १.३१ खर्बभन्दा बढी नोक्सानी भएको केन्द्रीय तथ्याङ्क विभागबाट अनुमान गरिएको छ भने लकडाउन अझ बढेको स्थितिमा यो नोक्सानी द्रुतगतिमा बढ्नेछ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को झन्डै ४ प्रतिशत हो । कोभिड–१९ कै कारण वैदेशिक रोजगारीमा गएका ठूलो संख्याका युवाहरु स्वदेश फर्कंदा रेमिट्यान्समा सन् २०२० मा दक्षिण एसियामा २२.१ प्रतिशत ह्रास आउने तथ्याङ्क विश्व बैंकको अध्ययनले देखाएको छ । केही अध्ययनहरुले नेपालमा यसको असर ४० प्रतिशतसम्म हुने अनुमान गरेका छन् ।

कोविड–१९ ऊर्जाको माग र ग्लोबल उत्सर्जन
कोरोना भाइरसको लकडाउनले गर्दा ऊर्जाको मागमा ७० वर्षयता सबैभन्दा भारी गिरावट आएको छ । यद्यपि, नवीकरणीय ऊर्जाको उत्पादनले घट्दो जीवाश्म इन्धनको मागबीच ऊर्जा मिश्रणमा ठूलो भूमिका खेलेको छ । ऊर्जाको मागमा गिरावट आएसँगै वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा पनि ठूलो कटौती भएको छ । कोभिड–१९ ले ऊर्जाको मागलाई सन् २००८ को आर्थिक मन्दीभन्दा धेरै असर पु¥याएको र वायुमण्डलमा नाटकीय तवरले कार्बन उत्सर्जनमा कमी आएको कुरा हालसालै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नयाँ रिपोर्टमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सय दिनका डेटाहरुलाई विश्लेषण गरी तयार पारेको रिपोर्टअनुसार सन् २०२० मा विश्वमा ऊर्जाको प्रयोग ६ प्रतिशतले घट्ने जनाइएको छ । यो ऐतिहासिक गिरावट हो विश्व ऊर्जा क्षेत्रमा, जुन भारतको कुल ऊर्जा मागबराबरको गिरावट हो । इन्डिया विश्वको तेस्रो ठूलो ऊर्जाको उपभोक्ता हो । नेपाल विद्युत् प्राधिकरणको माग ४० प्रतिशतले घटेको छ । ऊर्जाको क्षेत्रमा माग २५ प्रतिशतले घटेको छ ।

ऊर्जाको मागमा विश्वव्यापी गिरावट
ऊर्जाको विश्वव्यापी मागमा यो वर्षको पहिलो चौमासिक नतिजाअनुसार ३.८ प्रतिशतले गिरावट आएको छ गत वर्षभन्दा । विश्वका झन्डै आधा बढी ६० प्रतिशत मान्छेहरु लकडाउनमा रहेका छन् । यो गिरावट २००८ को आर्थिक मन्दीभन्दा ७ गुनाले बढी मानिएको छ । चाइनाको २ महिना लामो लकडाउनले ऊर्जाको मागमा ७ प्रतिशत गिरावट आएको थियो मार्चको अन्त्यसम्ममा ।

अमेरिकामा ६ प्रतिशत गिरावट आएको छ वर्षको प्रथम चौमासिक सम्ममा । त्यस्तै, गरी युरोपमा पनि उल्लेख्य मात्रामा ऊर्जाको मागमा गिरावट आएको देखिन्छ । इटाली जुन युरोपको कोरोनाको इपिसेन्टर बन्यो त्यसमा २५ प्रतिशतसम्म गिरावट भएको थियो । भारतमा ऊर्जाको माग ३० प्रतिशतले घट्यो पूरै देश लकडाउनमा गएको बेला । कोभिड १९ ले कलकारखानाहरु बन्द भएकाले कोइलाको मागमा ८ प्रतिशत कमी आयो । २०२० को पहिलो चौमासिकसम्ममा दोस्रो विश्वयुद्धपछिको यस्तो ठूलो गिरावट मानिएको छ । तथापि, यो न्युक्लियर पावरमा यस्तो गिरावट देखिएन ।

नवीकरणीय ऊर्जाको बढ्दो माग
सबै ऊर्जाका मागहरु ओरालो लागिरहेका कथा सुन्दै र पढ्दै आइरहँदा नवीकरणीय ऊर्जाको माग यो लकडाउनमा बढ्दै गएको देखिन्छ । ५० वर्षमा पहिलोपटक लो–कार्बन टेक्नोलोजीले कोइलालाई उछिन्यो २०१९ मा र त्यो क्रमशः अझै अघि बढिरहेको छ । नवीकरणीय ऊर्जाको रेकर्डेड उत्पादनले बेल्जियम, हंगेरी जर्मनी, इटाली, अमेरिकालाई उत्साहित बनाइरहेको छ । घट्दो उत्पादन लागत, बढ्दो नवीकरणीय ऊर्जाको मह¤वले गर्दाखेरि पाइपलाइनमा भएका धेरै धेरै आयोजनाहरु थपिँदै रहने विश्लेषण आइइएले गरेको छ ।

जीवाश्म इन्धनको घट्दो माग नवीकरणीय ऊर्जाको बढदो उत्पादनले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा नियोगले कार्बनडाइअक्साइडमा ठूलो गिरावट आएको बताएको छ, जुन विगत १० वर्षअघिको लेबलमा पुगेको मानिन्छ । यो स्थितिलाई सन् २००९ मा भएको आर्थिक मन्दी ताकाको समयभन्दा ६ गुणाले कार्बन न्यूनीकरण भएको बताइएको छ । कोभिड–१९ महामारीअघि कार्बनडाइअक्साइडको उत्सर्जन अघिल्लो दशकको तुलनामा १५ गुणाले बढेको थियो ।

नेपालको सन्दर्भ
कोरोना भाइरस (कोभिड–१९) विनाशकारी प्राकृतिक विपत्तिभन्दा ठूलो महामारी बनेर आयो । यो बेला विश्व आतंकित छ । अर्थव्यवस्थाका पिल्लरहरु ढलिरहेका छन् । यसबाट नेपाल कसरी जोगिन सक्छ र ! देशको सिंगो अर्थतन्त्र पनि दिनहुँ तासको घरझैँ भत्किरहेको छ ।

सरकारले देशभर गरेको लकडाउनले विद्युत् माग घटेपछि सञ्चालनमा रहेका जलविद्युत्गृहले क्षमता घटाएर विद्युत् उत्पादन गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण बढी विद्युत् खपत गर्ने उद्योगधन्दा, कलकारखाना बन्द हुँदा नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका विद्युत्गृह कम क्षमतामा चलेका हुन् । उद्योगमा ३ सयदेखि साढे ३ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो ।

यो वर्षको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा विद्युत्, ग्यास (ऊर्जा) र पानीको योगदान १.४१ प्रतिशत हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । विभागका अनुसार यस क्षेत्रको कुल मूल्य अभिवृद्धि गत आवको तुलनामा चालू आवमा २८.७५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्षको तुलनामा चालू आवमा विद्युत् उत्पादन वृद्धि भएकाले यस क्षेत्रको योगदान वृद्धि हुने जनाइएको छ । ऊर्जा क्षेत्रको विस्तार भए पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीको असर न्यून गर्न गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा अवरोध देखिएको विभागले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको उच्च माग करिब १३ सय मेगावाट थियो । तर, लकडाउनले माग करिब ५० प्रतिशत घटेको छ । अहिले उच्च माग ९ सय मेगावाट (एक वा आधा घन्टामात्र) भए पनि औसत साढे ६ सय मेगावाट छ । उत्पादित वस्तुको खपत आधा घटेपछि आम्दानीमा पनि सोहीबराबरको असर पर्ने भयो ।

कोरोना महामारीपछि माग घटेपछि अहिले पनि रातिको समयमा झन्डै तीन सय मेगावाटबराबरको विद्युत् खेर गएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । रातिको समयमा अहिले माग ४ सय मेगावाटमात्रै छ, तर भारतबाट आयात घटाएर निजी क्षेत्र र प्राधिकरणको गरी ६ सय ८८ मेगावाट विद्युत् उत्पादन हुने अवस्था छ । भारतीय बजारमा २.४९ भारू अर्थात् झन्डै प्रतियुनिट ४ रूपैयाँमा बिक्री भइरहेको छ, तर नेपालमा प्रतियुनिट लागत करिब १० रूपैयाँ छ ।

विद्युत् प्राधिकरणको तथ्याङ्कले २५ सय मेगावाटबराबरका आयोजना निर्माणाधीन छन् भने तीन हजार मेगावाट पिपिए भएर वित्तीय व्यवस्थापनको चरणमा छन् । झन्डै पाँच हजार मेगावाटबराबरका आयोजनाले पिपिएका लागि निवेदन दिएका छन् । विभागका अनुसार झन्डै १८ हजार मेगावाटबराबरका आयोजनाहरु अध्ययनको चरणमा छन् ।

लकडाउनका कारण उद्योगधन्दा बन्द हुँदा माग ह्वात्तै घटेकाले नेपालले भारतबाट विद्युत् आयातमा कटौती गरेको छ । यसअघि चार सयदेखि पाँच सय मेगावाट दैनिक भारतबाट विद्युत् आयात हुँदै आएकामा लकडाउनपछि दुई सय मेगावाटमा सीमित भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा १००० मेगावाट थप विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । तर, पछिल्लो व्यवधानका कारण ४०० मेगावाट हाराहारीमा मात्रै उत्पादन हुने देखिएको छ, नेपाल विद्युत् प्राधिकरणका अनुसार ।

अन्त्यमा,
हाम्रो समाज कमजोर थियो, हाम्रो जीवनशैली असुरक्षित थियो र असमानताहरु सिर्जना गर्दै थियो । पहिले नै जलवायु परिवर्तनबाट पीडित, हाम्रो अर्थव्यवस्था अब एक भाइरल ज्वरोद्वारा गम्भीर खतरामा छ ।
यसरी विश्वव्यापीरुपमा ऊर्जाको ठूलो परिमाणमा आएको गिरावटले वातावरणमा अनपेक्षित परिवर्तन देखिएको छ । आकास सफा भएको छ । पानीका स्रोतहरु, खोलानालाहरु सङ्लिएका छन् । टाढा–टाढाका हिमालहरु दृष्टिगोचर भएका छन् । वनजंगलमा हरियाली वनस्पति, पशुपक्षी, जलचर सबैलाई निष्फिक्री विचरण गर्ने अपूर्व अवसर मिलेको छ । यो लकडाउनले दिएको सकारात्मक पक्ष हो । वातावरणमा गरिने अनुसन्धानका लागि स्वर्णिम अवसरसमेत हो ।

महामारीपछिको भविष्यको खाका बनाउने आफ्नो जीवनशैलीलाई बदल्ने सुअवसरसमेत हो सबैलाई । नेपालले यो लकडाउनबाट केही सिकोस्, नवीकरणीय ऊर्जा, बिजुली गाडीको मह¤व, साइकल लेनको रणनीतिक चासो, ऊर्जाको क्षेत्रमा आत्मनिर्भरता, इनर्जी सेक्युरिटी, बढ्दो बजेटघाटा, सहरमा हुने धूलोधूवाँ सबैको उपायलाई आफ्नो स्थायी रणनीति बनाओस् ।
(लेखक बेलायतको स्वान्जी युनिभर्सिटीमा नवीकरणीय ऊर्जा विषयका पिएचडी स्कलर हुन् ।)

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया