भरतपुर विमानस्थलको रनवेमा जम्यो पानी, उप्कियो नयाँ पिच

अन‌ि यो पनि

–दिपेन्द्र अधिकारी
भरतपुर । काम सकिएको ३ महिनामै भरतपुर विमानस्थलको रनवे र पार्किङमा त्रुटि भेटिएको छ । दुवै स्थानमा पिचको लेभल नमिल्दा पानी जमेको छ । त्यस्तै, जहाज फर्कने बिन्दु (रनवेको अन्तिम भाग)मा समेत पिचमा कैफियत देखिएको छ ।

रनवेको चौबीसकोठी क्षेत्रमा पानी जम्ने र पिच लेभल नमिलेको समस्या देखिएको हो । ९ करोड ९८ लाख ८५ हजार लागतमा भरतपुर विमानस्थल रनवे ओभरले र अन्य काम भएका हुन् । गत मंसिर महिनाबाट सुरू भएको काम लकडाउनअघि सम्पन्न भएको थियो । दस दिनसम्म विमानस्थल नै बन्द गरेर काम भएको थियो । रातको समयमा काम गर्न असहज भएपछि दिउँसो काम भएको थियो ।

‘काम गर्दागर्दै पिच लेभल र कालोपत्रेमा केही समस्या देखिएपछि तत्कालै सुधार गरियो’, आयोजना प्रमुख हिमज्योति थापाले भने, ‘थप समस्या देखिएकोबारे अवगत छैन, यदि समस्या रहेछ भने तत्काल मर्मतसम्भार हुन्छ ।’ यस आयोजनाको काम गौरी पार्वती र मृत सञ्जीवनी निर्माण कम्पनीले पाएका थिए ।

भरतपुर विमानस्थल प्रमुख पवन गौतमले रनवे पुरानो भएकाले धेरै समस्या भएपछि मर्मत गरिएको बताए । विमानस्थलको रनवे ठाउँठाउँमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गरिएको उनले बताए । झन्डै १६ वर्षपछि रनवे सुधार तथा मर्मत गरिएको प्रमुख गौतमले बताए ।

जहाज पार्किङ स्थल क्षेत्रफल बढाइएको, रंगरोगन गरिएको, संकेतहरु राखिएको उनले बताए । ‘पहिले जहाज पार्किङ साँघुरो थियो, अब त्यो समस्या हट्यो’, विमानस्थल प्रमुख गौतमले भने ।
‘रनवेमा पानी जम्दा जहाज उडान तथा अवतरणमा समस्या हुन सक्छ, एक एयरलाइन्सका कर्मचारीले भने, ‘जहाज उडान हुन थालेपछि काम गर्न समस्या हुन्छ, त्यसैले यही बेलामा बनाउनु जरूरी छ ।’

विमानस्थलमा समस्या
भरतपुर विमानस्थलको रनवे जम्मा १२ सय मिटर छ । ठूला जहाज अवतरण गर्नका लागि रनवे विस्तार गरिनु आवश्यक रहेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले बताए । यसैगरी, विमानस्थलको दक्षिणपूर्वतर्फ मापदण्डविपरीत बनेका संरचना र विद्युत्को ‘हाइएक्सटेन्सन’ लाइन समस्याका रुपमा छन् । लाइन भूमिगत गराउने विषयमा विद्युत् प्राधिकरणसँग छलफल भइरहेको र दसैँपछि उक्त काम हुने भनी जानकारी पाएको प्रमुख गौतमले बताए । विमानस्थलभित्र र बाहिरी क्षेत्रमा सरसफाइ, सौन्दर्यतामा ध्यान दिइएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया