लकडाउन खुकुलो भएसँगै रङ्गशाला निर्माणको काम तीव्र

अन‌ि यो पनि

–रामशरण गैरे
रामपुर । लकडाउन खुकुलो भएसँगै चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामले तीव्रता लिएको छ । लकडाउनमा देशको जनजीवन नै ठप्प रहँदासमेत निरन्तर रहेको रङ्गशाला निर्माणको काम लकडाउन खुकुलो भएसँगै तीव्ररुपमा अघि बढेको हो ।

लकडाउन खुकुलो भएपछि निर्माण सामग्री उपलब्ध हुन केही सहज भएको फाउन्डेसनका अध्यक्ष धुर्मुस बताउँछन् । अहिले प्यारापिटको पिल्लर उठाउने काम भइरहेको छ, पिल्लर उठाउने काम करिब ३५ प्रतिशत भागमा भैसकेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्यारापिटको ‘ए’ र ‘बी’को काम भैरहेको आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले बताए । उनका अनुसार एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्यारापिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौँ पिल्लर २१ मिटर उचाइको हुनेछ ।

पिल्लरका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । तर, लकडाउनका कारणले रोकिएको पिल्लरको काम अहिले भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । ‘लकडाउन नभएको भए तीन सिफ्ट बनाएर रातभर काम गर्ने योजना थियो, अहिलेसम्म सबै पिल्लर उठिसकेका हुनेथिए’, उनले भने ।

लकडाउनका कारण छड, बालुवा तथा सिमेन्टको अभाव झेले पनि रङ्गशाला ग्राउन्डको काम ८५ प्रतिशत सकिएको छ । ग्राउन्डमा पाँगो माटोसमेत हालिसकेको तर पानी परिरहेका कारण रोलरले पेल्न नपाएको उनले बताए । रोलर लगाएर दूबो रोप्न पाएको अवस्थामा मैदान भदौदेखि असोजकै बीचमा अन्तर्राष्ट्रिय खेल खेलाउन तयार हुने उनको दाबी छ ।

रङ्गशालाको अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न धुर्मुसले आइसिसीका कन्सल्टेन्ट श्रीलङ्कन बन्धुलालाई अनुबन्ध गरेका छन् । उनको प्रत्यक्ष निगरानीमा काम भइरहेको छ । यद्यपि, अहिले भने बन्धुला लकडाउनका कारण श्रीलङ्कामा छन् । उनले अहिले भिडियोमार्फत सल्लाह र सुझाव दिइरहेका र सोहीअनुसार काम भइरहेको उनले बताए ।

रङ्गशालामा अहिलेसम्मको आम्दानी एवम् खर्च आव २०७५÷०७६ मा धुर्मुस–सुन्तली फाउन्डेसनको मौज्दात रकम २ करोड १४ लाख ७ हजार ५ सय ३९, आव २०७५÷०७६ मा सहयोगीहरुबाट प्राप्त सहयोग १ करोड ४० लाख ५ हजार १ सय १६.९७ पैसा गरी आव २०७५/०७६ सम्मको जम्मा ३ करोड ५४ लाख १२ हजार ६ सय ५५.९७ पैसा भएको फाउन्डेसनका लेखा अधिकृत मुक्ति तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, आव २०७६/०७७ अन्तर्गत सहयोगीहरुबाट प्राप्त रकम ५ करोड ८३ लाख ३७ हजार ७ सय ८९.३२ पैसा, धनधान्याचल महोत्सव मूल समारोह समितिबाट पेश्की प्राप्त २ करोड रहेको हुँदा २०७७ जेठ २५ सम्मको जम्मा आम्दानी ११ करोड ३७ लाख ५० हजार ४ सय ४५.२९ पैसा तथा आव २०७५/०७६ देखि आव २०७६/०७७ को जेठ २५ सम्मको खर्च १४ करोड ५२ लाख ९९ हजार २ सय ५३.७९ पैसा रहेको फाउन्डेसनका लेखा अधिकृत तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार झन्डै तीन अर्ब लागत अनुमान गरिएको रङ्गशालामा दाता तथा विभिन्न स्रोतबाट २०७७ साल जेठ २५ गतेसम्म प्राप्त रकम ११ करोड ३७ लाख ५० हजार ४ सय ४५.२९ पैसा रहेको छ भने खर्चतर्फ तिर्न बाँकी रकमसमेत १४ करोड ५२ लाख ९९ हजार २ सय ५३.७९ पैसा रहेको छ ।

गत माघको १९ गतेदेखि २७ गतेसम्म आयोजित धनधान्याचल महायज्ञबाट बोलकबोलसहितको ६९ करोड ४० लाख ५६ हजार रकममध्ये संकलित ७ करोड १४ लाख रकम बिहीबार धनधान्याचल मूल समारोह समितिका तर्फबाट फाउन्डेसनलाई हस्तान्तरण भएको उनले बताए ।

‘आर्थिक, प्राविधिक तथा निर्माण सामग्रीसहित सम्पूर्ण स्रोत व्यवस्थापन भए अझै पनि समयमै रङ्गशाला निर्माण गर्न सक्छौँ भन्ने हाम्रो विश्वास हो’, धुर्मुस भन्छन्, ‘तर यसका लागि हामीलाई बोलकबोल भएको र उपलब्ध गराउँछु भनेको रकम तथा सरकारले गर्छु भनेको सहयोग समयमै गर्नुपर्नेछ ।’ कठिन परिस्थितिमा पनि राष्ट्रिय मह¤वको परियोजना भएकाले काम भइरहेको हुँदा जनस्तरबाट निर्माण हुँदै गरेको राष्ट्रकै गौरवको आयोजना भएकाले पक्कै पनि सहयोग र साथ रहनेछ भन्ने विश्वास धुर्मुसको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया