क्वारेन्टाइनको सुरक्षा सवाल

अन‌ि यो पनि

शान्ति सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । शान्ति सुरक्षाको व्यवस्थापनमा लापर्बाही हुनु भनेको प्रतिकूलताले जन्म लिनु हो । जसका कारण कानुनी राज्यको मान्यतामा दाग लाग्न सक्छ । अहिलेको सन्दर्भमा सरकारले क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षामा चुकेका कारण अकल्पनीय घटनाहरु उजागर हुँदै गएका छन् । देशभरका क्वारेन्टाइनको अवस्था दर्दनाक रहेको विषयमा सांसद्हरुले राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराइरहेका छन् । विभिन्न क्वारेन्टाइनमा रहेका नागरिकले राति डर लाग्यो भन्दै अधिकारकर्मीलाई फोन गरी कोठामा चुकुलसमेत नभएको गुनासो पोख्ने गरेका छन् । सांसद्हरुले क्वारेन्टाइनहरु महिला, बालबालिका तथा वृद्धवृद्धामैत्री नभएको धारणा राख्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ लाख ३३ हजार बढी क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेकाहरुले सफा खानेपानीको व्यवस्था नभएको, मास्क तथा स्यानिटाइजर नपाएको, खाना/खाजा घरबाटै लैजानु परेको, विद्यालयमा बेञ्च जोडेर सुत्नु परेको, झूलको व्यवस्था नहुँदा लामखुट्टेको टोकाइ सहनु परेको र समयमै उपचार नपाएकोजस्ता गुनासा गरिरहेका खबर सार्वजनिक भइरहेका छन् । क्वारेन्टाइन व्यवस्थापनका आधारभूत समस्या त यथावत् छँदैछ, यसबाहेक सुरक्षा चुनौती पनि बढेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिला स्वयंसेवकका रुपमा खटिएका व्यक्तिहरुबाटै सामूहिक बलात्कृत भएको घटना उजागर भएपछि क्वारेन्टाइनमा सुरक्षा सवाल खडा भएको छ ।

क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको घटना निन्दनीय र गम्भीर भएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ । कांग्रेसले सरकारलाई १७ बुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जसमा क्वारेन्टाइन व्यवस्थापन, क्षमता अभिवृद्धि, कोरोना परीक्षण, उपचार कक्षको व्यवस्था, राहत वितरण, नागरिकको उद्धारलगायतका विषय उठान गरिएको छ । यस्तै, कांग्रेसले अस्पतालहरुमा भएको अनियमितता र लापर्बाही, संयन्त्र निर्माण, कर छूटलगायतका विषयमा देशभर ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ । सरकारको कामकारबाही र कोरोना रोकथामका विषयमा सांसद्देखि मानवअधिकारवादी, निजी क्षेत्र तथा आमनागरिकले सडकबाट सरकारलाई झकझक्याइरहेका छन् । सरकारमाथि प्रतिपक्षको कटाक्ष र सत्तापक्षको बचाउको श्रृङ्खला चलिरहेको छ । तर, देशभरका क्वारेन्टाइनमा देखिएको सुरक्षा सवालबारे सरकार गम्भीर नभएकै कारण क्वारेन्टाइनको बेथिति झल्किएकोमा कुनै द्विविधा छैन । क्वारेन्टाइनहरुमा राखिएका नागरिकले कुनै कसुर गरेका छैनन्, तथापि उनीहरुलाई सजाय दिने केन्द्रजस्तो बन्न पुगेका छन् । क्वारेन्टाइनको अव्यवस्थाकै कारण क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएपछि नागरिकहरु भाग्नुपर्ने स्थिति पैदा भएको छ ।

नेपालमा क्वारेन्टाइनहरु मापदण्डविपरीत सञ्चालन भइरहेकोमा पनि कुनै विमति छैन । यस्तै, बेथितिका कारण क्वारेन्टाइनमै महिला बलात्कृत हुनुपर्ने र क्वारेन्टाइनभित्रै आत्महत्या गरेका घटना सार्वजनिक भइरहेका छन् । भारतबाट फर्किएर २४ दिनदेखि अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक व्यक्तिले आत्महत्या गरेको खबर सार्वजनिक भएको छ । यस्तै, बाजुराको बडिमालिका नगरपालिका–२, भौनेरास्थित सत्यवादी माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय एक व्यक्तिले आत्महत्या गरे । यस्तै, उदयपुरको रौतामाई गाउँपालिका वडा नं–७, राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा एक किशोरले आत्महत्या गरे । केही दिनअघि इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किंदा एक व्यक्तिले आत्महत्या गरेका थिए । यी केही प्रतिनिधि घटनामात्र हुन् । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुले आत्महत्याको प्रयास गरेको त केहीले क्वारेन्टाइन लगिँदै गर्दा भीरबाट हाम फालेर आत्महत्या गरेका खबर पनि प्रकाशमा आएका छन् । पक्कै पनि क्वारेन्टाइन यातना शिविर होइन, यो कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई संक्रमण फैलनसक्ने समयसम्म अर्थात् कम्तीमा दुई साता सुरक्षित राखिने स्थलमात्र हो । तर, क्वारेन्टाइनमा खसीबाख्रालाई जसरी एउटै कोठामा थुनेर, कोचेर राख्ने, सुरक्षा नदिनेजस्ता प्रवृत्तिले क्वारेन्टाइनमा सुरक्षाबारे प्रश्न उठेको हो । सरकारले क्वारेन्टाइनमा सकस बेहोरेका नागरिकको सुरक्षाबारे गम्भीर चासो देखाउनैपर्छ । जहाँ शान्ति सुरक्षा भङ्ग हुन्छ त्यहाँ गैरकानुनी गतिविधि बढ्छन् भन्ने तथ्य सरकारले मनन गर्नु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया