अब कोरोनासँगै बाँच्नुमै बुद्धिमानी

अन‌ि यो पनि

रामचन्द्र उप्रेती

कोभिड–१९ ले सिर्जना गरेको विश्वव्यापी सङ्कटको असर हाम्रोजस्तो मुलुकका लागि झनै धेरै पर्ने निश्चित छ । आर्थिक सङ्कट पछि पछि आउँछ र मानवीय सङ्कट अगाडि अगाडि आइरहेछ । अहिले केहीबाहेक अन्तर्राष्ट्रिय उडान लगभग बन्द भएकाले तेस्रो विश्वमा भएका प्रायः नेपाली स्वदेश फर्कन पाएका छैनन् । जस्तै सङ्कट परे पनि पर्खनुको कुनै विकल्प छैन । तर, भारतमा रोजगारीमा गएका, सानोतिनो व्यवसाय गरेर बसेका, घुम्न गएका र आफन्तसँगको भेटघाटमा गएका मानिस आउने क्रम धेरै दिनसम्म चल्नेछ । भारतमा लकडाउन कडा हुँदा नै केही मानिस निकै कष्ट सहेर नेपालको सीमामा आइपुगेका थिए । तिनले सहजै देश प्रवेश गर्न पाएनन् । उतै अलपत्र परेर रोकिनु परेको अवस्था थियो । तर, भारतले लकडाउन खुकुलो पारेसँगै भारतका विभिन्न ठाउँमा भएका मानिस रेल, जहाज र बसबाट आउने क्रम बढ्नेछ र बढ्दै पनि छ । अहिले नै दैनिक ५–१० हजारको संख्यामा आउने गरेका छन् ।

घर फर्कने क्रम बढेसँगै सीमामा भएको तयारी अपुग हुने स्थिति देखिएको छ । दैनिक १–२ सय मानिस आउलान् भनेर अनुमान गरिएकोमा १ हजार आउन थाले भने सबैलाई चेक गर्ने, क्वारेन्टाइनमा राख्ने, स्वाब संकलन गर्ने र रिपोर्ट आएपछिमात्रै हेरेर कि घर पठाउने कि अस्पताल भन्ने कुरा सम्भव होइन्जेल गर्ने हो । क्वारेन्टाइनको बेहाल हुने नै भयो । स्कुल, कलेज, धर्मशाला आदिमा क्वारेन्टाइन बनाइएको छ । अचानक आइलागेको यो समस्याका लागि पूर्वतयारी थिएन । लगभग डेढ–दुई महिनामा जे गर्न सकिन्थ्यो त्यही गर्ने हो । सरकारी स्कुल, कलेजको भौतिक अवस्था यसै पनि धेरै राम्रो छैन । ती ठाउँ राति बस्नका लागि बनाएकै होइनन् । शौचालय, खानेपानी, बिजुली, झ्यालढोका आदिको अवस्था राम्रो नहुन सक्छ । त्यहाँ खाना बनाउने र सेवा दिने मानिस अभ्यस्त र व्यावसायिक नहुनु स्वाभाविकै हो । त्यसमा पनि तोकिएको भन्दा धेरै मानिस आएपछि सबैलाई चाहेको सुविधा राज्यले, पालिकाले र कुनै निकायले दिन सक्ने अवस्था हुँदैन । सुरक्षा, स्वास्थ्य सुविधा, एम्बुलेन्स, स्वास्थ्यकर्मी, ल्याब, यातायातका साधन सबै कुरा अपुग हुन्छ । त्यसैले, सीमामा अस्तव्यस्त हुन्छ नै ।

सीमामा आइपुगेका मानिसलाई भित्र ल्याउन ढिलो पनि गर्नुहुँदैन । निकै कष्ट सहेर भोकैतिर्खै सीमामा आएका नेपालीलाई माटोको सुगन्ध र स्पर्शको हतारो नहुने कुरै भएन । केही मानिसले सीमामा अस्तव्यस्त भयो, क्वारेन्टाइन व्यवस्थित भएनन्, सुविधा पुगेन, स्वास्थ्य जाँच भएन, सुरक्षा पुगेन, ती गाउँमा गएपछि गाउँभरि संक्रमण पैmलने भयो आदि भनेर आलोचना गर्न त सक्लान्, तर तिनले व्यवस्थापनमा सिन्को भाँच्ने छैनन् । आलोचना गर्नेले जे भएको छ त्यो देख्दैनन् र जे हुन बाँकी छ त्योमात्रै देख्ने हो ।

सीमा नाकामा बनाएका क्वारेन्टाइनहरु अब होल्डिङ सेन्टर बन्ने क्रममा छन् । नेपाल भित्रिएका मानिसलाई होल्डिङ सेन्टरमा छोटो अवधि राख्ने र सम्बन्धित जिल्लामा पठाउने क्रम चलेको छ । नाकामा गर्न नसकेको स्वास्थ्य जाँच होल्डिङ सेन्टरमा पनि गर्न सक्ने अवस्था हुँदैन । हिजो आएर भरिएको होल्डिङ सेन्टर आज या भोलि खाली नगर्ने हो भने नयाँ आउनेलाई ठाउँ दिन सकिँदैन । मानिस थपिएसँगै सुविधा पु¥याउन नसकिने हुन्छ नै । पैसाको अभाव सीमा नाकाका पालिकालाई हुने नै भयो । जिल्ला–जिल्लासम्म पुग्ने यातायातको साधनको व्यवस्था गर्नु अर्को चुनौती बनेको छ । एउटै जिल्लाका नहुने हँुदा बाटामा मानिसलाई अलपत्र छाड्दै जानुपर्ने हुन्छ । स्थानीय जिल्ला, पालिका र वडाहरुले तिनलाई पहिचान गरेर आफ्नो स्थानसम्म पु¥याउनु, स्वास्थ्य जाँच गर्नु, क्वारेन्टाइनमा राख्नु कम चुनौतीको कुरा होइन । जति आउँदैछन् ती सबै कोरोना लागेर आएका होइनन्, तर जसलाई कोरोना छ तीबाट अरुमा सर्न नपाओस् भनेर सतर्कता अपनाउने हो । यति हुँदाहुँदै पनि स्वास्थ्य जाँच नगरिएका सबै एउटै गाडीमा यात्रा गर्नु, एउटै लाइन लागेर भित्रिनु, एउटै क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा बस्नु, एउटै शौचालय, पानीको धारा आदि प्रयोग गर्नु÷गराउनु सबैको बाध्यता हो ।

कोरोनाको कारण अमेरिका र युरोपमा धेरै मानिस मरेको सुनेर हामी धेरै आत्तिएका छौँ । भारतमा हालसालैमात्रै यसको कहर उकालो लाग्दैछ । त्यसको प्रभाव कति पर्छ र कहिलेसम्म पर्छ भन्ने अहिले नै अनुमान गर्न निकै कठिन भएको छ । कोरोना रोक्न गरिएको लकडाउन हाम्रोजस्तो मुलुकका लागि चाँडै प्रत्युत्पादक नहोला भन्न सकिँदैन । धनी र विकसित मुलुकमा समेत लकडाउन प्रत्युत्पादक भएका कारण लकडाउन खुकुलो पार्दै लगेका छन् । भारतजस्ता मुलुकमा ६० दिन बढीको लकडाउन भएपछि कोरोनाको संक्रमण दैनिक रफ्तारमा बढिरहेको छ । भारतले लकडाउन खुकुलो पारेसँगै त्यहाँ भएका नेपालीको ठूलो संख्या भित्रिने र तिनसँगै कोरोना संक्रमित पनि भित्रिने क्रम जारी छ । सीमामा आएका नेपालीलाई आउन नदिने भन्ने हुँदै हुँदैन, आउन दिनुपर्छ । सकिन्छ जाँच गरौँ, क्वारेन्टाइनमा राखौँ र सुरक्षितरुपमा घरघरमा पढाउने व्यवस्था गरौँ । सकिँदैन भने आउनेलाई सानो–सानो समूहमा राखेर कोरोनाबाट कसरी बच्ने, घरमा गएर के गर्ने ? कसरी सुरक्षित हुन सकिन्छ ? परिवारलाई कसरी सुरक्षित गर्ने ? समुदायमा कसरी रहनेजस्ता कुरा राम्ररी सम्झाएर, जिम्मेवार बनाएर पठाउने गर्नुपर्छ । घरघरमै क्वारेन्टाइनमा बस्ने र क्रमशः परीक्षण गराउने गरी गाउँ पठाउनुपर्छ ।

कोरोना लागिहालेमा कसरी बच्ने भन्ने शिक्षालाई सघन र प्रभावकारी बनाउनुपर्छ । सन्तुलित भोजन, पर्याप्त आराम, सफासुग्घर र आत्मविश्वास भएमा कोरोना जित्न सकिन्छ भन्ने उदाहरण खोज्न अब टाढा जानुपर्दैन । हाम्रो समाजमा यो अढाई महिनामा कोरोनाका कारण १९ जना मानिसको मृत्यु भएको अवस्था छ । तर, यही अवधिमा डिप्रेसन, कुपोषण, मुटुरोग, सुत्केरी व्यथा, झाडापखाला, दुर्घटना, सामाजिक अपराध र झगडा, धूमपान र मद्यपान आदिबाट हजारौँको ज्यान गएको छ । यीमध्ये धेरैले समयमै र सजिलै उपचार पाएको भए ज्यान बनाउन सक्नेथिए ।

कोरोनाको नाममा देशलाई लामो समय लकडाउन गर्दा यस्ता प्रकारका समस्या झन् धेरै बढ्नेछन् । झन् धेरै ज्यान खतरामा पर्नेछन् । सामान्य मानिस भोकको कहर खप्न नसकेर अभैm कठिन अवस्थामा धकेलिने छन् । त्यसैले, होसियारीपूर्वक र सजग भएर अर्थतन्त्र चलायमान बनाउने काम गर्नुपर्छ । यसका लागि सरकारले नीति बनाउनु र सबै पालिकाले पालना गर्नु/गराउनुपर्छ ।

कोरोना सरकार एक्लैले नियन्त्रण गर्न र यसको समाधान गर्न सक्दैन, जनताले साथ दिनुपर्छ । क्वारेन्टाइनमा नबस्ने, भाग्ने, परिवारसँग घुलमिल भएर बस्ने, आइसोलेसनमा नबस्ने, गाउँ चाहर्ने, होसियार नहुने हो भने एउटा मानिसलाई एउटा पुलिस लगाए पनि रोकिँदैन । अहिलेसम्म त भारतबाट डेढ–दुई लाख मानिसमात्रै आएका हुन् । भारतबाट नै योभन्दा अझै धेरै आउने अवस्था रह्यो भने देशमा स्थिति कस्तो होला ? अब त तेस्रो देशमा भएकाहरुलाई पनि ल्याउनुपर्छ र आउन दिनुपर्छ । भारतमा भएका भन्दा धेरै अरु देशमा छन् । विदेशमा कोरोना संक्रमित नेपाली निकै धेरै संख्यामा छन् । निको भएकालाई पनि फेरि नहोला भन्न सकिँदैन । यस्तो अवस्थामा स्वदेश फर्कने अधिकारबाट कसैलाई पनि लामो समय रोक्न हुँदैन । आएका सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव हुँदैन । त्यसैले, अति जरूरीको पहिचान गरेर क्वारेन्टाइनमा राख्ने र जाँच गराउने काम गरे पनि अरुलाई घरघरमै सुरक्षित बस्ने र सामथ्र्य भएकाले आफैँ कोरोना टेस्ट गर्ने सुविधा सरकारले खुल्ला गर्नुपर्छ । सरकारले गर्न पनि नसक्ने र व्यक्तिगत सामथ्र्य भएकाले पैसा तिरेर गर्न पनि नपाउने अवस्थाको चाँडै अन्त्य गर्नुपर्छ ।

कोरोनालाई अब सामान्यीकरण गर्नुपर्छ । यसको अर्थ लापर्बाही गर्नुपर्छ भनेको होइन । तर, कोरोना भयो भने मरिहालिन्छ भन्ने सोच परिवर्तन गर्नुपर्छ । कोरोनालाई जित्न सकिन्छ भन्ने प्रमाणित हुँदै गएको छ । कोरोना लागेकालाई बहिष्कार गर्ने, अपमान गर्ने, छिःछिः र दुरदुर गर्ने, गाउँ प्रवेशमा अवरोध गर्नेजस्ता कामलाई निरूत्साहित गर्ने कुराले यसको मनोवैज्ञानिक उपचार गरेर सामान्यीकरण गर्न सकिन्छ । कोरोना भाइरसको प्रकोपबाट बच्न डब्लुएचओ र सरकारले सुझाएका कुराको पालना गर्ने, लागिहालेमा उच्च मनोबलका साथ कोरोनालाई जित्ने अभियान निरन्तर चलाउनुपर्छ ।

कोरोनाको कहर नेपालमा पछिल्लो समयदेखि मात्रै उकालो लागेको छ । यो अरु छ महिना, वर्षदिन वा त्योभन्दा पनि बढी समय रहन सक्छ । त्यसैले, सरकार र जनता मिलेर कोरोनासँगसँगै जिउने, कोरोनालाई पराजित गर्ने र सुरक्षित रहने उपाय नै अबको बाटो हो ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया