सौराहाका हात्ती सङ्कटमा : चरिचरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह

अन‌ि यो पनि

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा निजीस्तरमा सञ्चालित हात्तीलाई आहारको अभाव भएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण सौराहाको पर्यटन बन्द भएपछि हात्तीलाई आहारको अभाव भएको हो ।

मौज्दात रहेको आहार सकिएपछि हात्ती पाल्न मुस्किल भएको व्यवसायीहरुले बताएका छन् । चितवनको पर्यटनमा हात्तीको भूमिका अहम् रहेको छ । देशविदेशबाट यहाँ आउने पर्यटकलाई बोकेर जंगल सफारी गराउने हात्तीहरु लकडाउनका कारण आहार नपाएर सङ्कटमा परेको व्यवसायीहरुले बताएका छन् । हात्तीकै कारणले सौराहा सफारी पर्यटनका हिसाबले विश्वमा चिनिएको छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि. सौराहाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सौराहाको पर्यटन बन्द हुँदा हात्ती पाल्न मुस्किल भएको भन्दै हात्तीको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ । व्यवसायीहरुले सौराहाको पर्यटनमा लकडाउनको असर रहँदासम्म नजिकै रहेको निकुञ्जमा हात्ती चरिचरणको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका हुन् । ‘अहिले निकुञ्जको निश्चित क्षेत्रमा चराउन पाए हात्ती बचाउन सकिन्थ्यो’, संस्थाका अध्यक्ष ऋषि तिवारीले भने, ‘यसका लागि सरकारले वातावरण बनाइदिनुप¥यो ।’

सौराहामा निजीस्तरमा सञ्चालित ७० वटा हात्ती रहेका छन् । एउटा हात्तीले दैनिक २ सय ५० लिटरसम्म पानी, २० किलो धान, २ सय ५० ग्राम ढिक्का नुन, एक केजी चना, मासिक दुई टेलर पराल खान्छ । हात्तीको स्याहारसुुसार गर्ने माउते र फनितको मासिक तलब, उनीहरुलाई रासन र उपचार गरेर एउटा हात्ती पाल्न मासिक करिब १ लाख रूपैयाँ खर्च लाग्ने गरेको छ ।

तीन महिनाअघिदेखि हात्ती सफारी रोकिएको छ । आम्दानी नभएका कारण हात्तीलाई चाहिने आहार किन्न सक्ने अवस्था छैन । ‘निकुञ्जमा कुहिएर खेर जाने घाँस छ’, अध्यक्ष तिवारीले भने, ‘सधैँका लागि हामीले भनेका होइनौँ, लकडाउनको असर रहँदासम्म खेर जाने घाँस हात्तीलाई खुवाउन दिनुहोस्मात्रै भनेका हौँ ।’

निकुञ्जमा हात्ती चराउने वातावरण बनाउन स्थानीय सरकार रत्ननगर नगरपालिकाका मेयर नारायण वन र व्यवसायीहरुले प्रयत्न गरिरहेका छन् । लकडाउनका कारण हात्तीलाई आहारको सङ्कट भएपछि निकुञ्जले चैत १५ गतेदेखि जेठ १८ गतेसम्म निकुञ्जको गाईघाट क्षेत्रमा सौराहाका हात्ती चराउन दिएको थियो ।

वन मन्त्रालयमा उजुरी परेपछि निकुञ्जले जेठ १९ गतेदेखि निकुञ्जमा हात्ती चराउन रोक लगाएको छ । सौराहाकै एक व्यवसायीले उजुरी दिएका कारण मन्त्रालयले हात्ती प्रवेशमा रोक लगाएको स्रोतले बताएको छ । करिब १५ दिनअघि निकुञ्जले हात्ती प्रवेशमा रोक लगाएपछि सौराहाका हात्तीहरुलाई आहारको अभाव भएको हो ।

‘सौराहामा लकडाउनको असर कहिलेसम्म रहन्छ भन्ने यकिन छैन’, संस्थाका उपाध्यक्ष नगेन्द्र चापागाईंले भने, ‘सरकारले निकुञ्जमा हात्ती चराउन नदिने हो भने सौराहाको हात्ती व्यवसाय धराशायी हुन्छ र यसको असर पर्यटनमा पर्नेछ ।’ निकुञ्जमा हात्ती चराएर कुनै आर्थिक लाभ लिन नखोजेको भन्दै हात्ती र सौराहाको सफारी पर्यटन जोगाउन सरकारसँग आग्रह गरिएको उपाध्यक्ष चापागाईंले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनको विकासमा योगदान दिएका हात्ती बचाउने दायित्व सरकारको रहेको बताए । ‘निकुञ्जमा सुकेर जाने घाँस हो’, उनले भने, ‘निश्चित अवधिका लागि हात्तीलाई चराउन प्रवेश दिनुपर्छ ।’ पर्यटनको मह¤वपूर्ण हिस्साको रुपमा रहेको हात्ती जोगाउन राज्यले ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ ।

सौराहानिकटमा रहेका सामुदायिक वनमा हात्तीमार्फत पर्यटकलाई सफारी गराएर व्यवसायीहरुले आम्दानी गर्दै आएका छन् । हात्ती व्यवसाय सञ्चालन गरेबापत सौराहाका व्यवसायीहरुले वार्षिक एक करोड रूपैयाँ राजस्व तिर्दै आएका छन् । मुलुकको अर्थतन्त्रको मेरूदण्डको रुपमा रहेको पर्यटनको विकास र राजस्व संकलनमा समेत प्रभाव पार्ने हात्तीको सुरक्षाका लागि व्यवसायीहरुले सरकारसँग माग गरेका हुन् ।

सौराहाका हात्तीमार्फत नजिकै रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन, कुमरोज मध्यवर्ती सामुदायिक वन र बोद्रहनी मध्यवर्ती वनमा पर्यटकलाई जंगल सफारी गराउँदै आइएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...