चितवनका क्वारेन्टाइन : थपिने संख्या कम, फर्कने बढी

अन‌ि यो पनि

भरतपुर । चितवनका सात स्थानीय तहमा बनाइएका क्वारेन्टाइनहरुमा थपिने मानिसहरुको संख्या कम हुँदै गएको छ । थपिनेभन्दा यहाँका क्वारेन्टाइनबाट घर फर्कनेहरुको संख्या बढी छ ।

यहाँको स्थानीय तहले भारतीय सीमा नाकामै पुगेर नगरवासीलाई ल्याएका थिए । अहिले यो काम रोकिएको छ । चितवनका स्थानीय तहहरुले आफ्नो नगरका नगरवासी सीमा नाकामा अलपत्र परेर बसेको अवस्था नरहेको दाबी गरेका छन् । उनीहरुले सीमामा बसेका आफ्ना नागरिक ल्याइरहेको जनाएका छन् ।

चितवनमा सात पालिकाले १०४ वटा क्वारेन्टाइनस्थल बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार चितवनका १०४ वटा क्वारेन्टाइनमा ५३२ जना रहेका छन् । उनले भने, ‘हालसम्म चितवनका क्वारेन्टाइनबाट ६६१ जना घर फर्केका छन् ।’

उनका अनुसार चितवनमा क्वारेन्टाइनमा थपिनेको संख्याभन्दा घर फर्कनेको संख्या बढी छ । ‘यहाँका क्वारेन्टाइनमा एक हजारभन्दा बढी संख्या थियो, अहिले घट्दै आएर ५३२ जनामा सीमित भएको छ’, सूचना अधिकारी सिंखडाले भने, ‘थपिने क्रममा आधाआधी घटेको देखिन्छ ।’

बुधबारमात्रै माडी नगरपालिकाको क्वारेन्टाइनमा २२ जना, भरतपुर महानगरका क्वारेन्टाइनमा ३२ जना, रत्ननगरमा १ जना, कालिकामा १ जना, राप्तीमा ९ जना र खैरहनीमा ५ जना थपिएका छन् । यद्यपि, यो संख्या पहिले थपिनेको तुलनामा कम रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सबैभन्दा बढी क्वारेन्टाइन बनाउने चितवनका सात स्थानीय तहमध्ये माडी नगरपालिका पहिलो हो । माडीमा १२ वटा क्वारेन्टाइन निर्माण भएका छन् । माडी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले ३ वटा क्वारेन्टाइन खाली भइसकेको बताए ।

उनले भने, ‘सोमेश्वर मावि, गोविन्दबस्ती र माडी माविको क्वारेन्टाइन खाली भइसकेको छ ।’ हाल माडी नगरपालिकाका क्वारेन्टाइनमा ८९ जना बसिरहेका छन् ।

माडी नगरपालिकाका अनुसार २८९ जना क्वारेन्टाइनबाट घर फर्केका छन् । सूचना अधिकारी भण्डारीले भने, ‘क्वारेन्टाइनमा थपिनेको चाप कम भएको छ । विगत सात दिनयता माडीमा ५० जना क्वारेन्टाइनमा थपिएका उनी बताउँछन् । उनले भने, ‘पहिलेको तुलनामा थपिने संख्या कम भएको छ ।’

माडीका क्वारेन्टाइनमा भारतमा रोजगारी गरी फर्कनेहरु बढी छन् । माडी नगरपालिकाले माडी क्याम्पसमा रहेको क्वारेन्टाइनलाई आइसोलेसनमा विस्तार गरेको छ । सूचना अधिकारी भण्डारीले भने, ‘भारतीय सीमामा रहेकालाई ल्याउने क्रम जारी छ, सीमासम्म माडीका नागरिक आउने क्रम पनि चलिरहेको छ ।’

खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाका क्वारेन्टाइनमा थपिने संख्याभन्दा घर फर्कने संख्या बढ्न थालेको छ । रत्ननगरमा निर्माण गरिएका क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् भने इच्छाकामना गाउँपालिकामा पनि थपिने संख्याको तुलनामा घर फर्कने संख्या बढ्दै गइरहेको छ ।

 

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...