कोरोनाको असर : बारीमा छ तरकारी, घरमा छैन चामल

अन‌ि यो पनि

इच्छाकामना । तोलाङका विजय चेपाङले वर्षौंदेखि तरकारीखेती गर्दै आइरहेका छन् । तरकारीखेतीबाटै परिवारको सबै खर्च चलाउँदै आएका उनले यही खेतीबाट वर्षमा दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । तर, सदाका वर्षजस्तो आम्दानी यसवर्ष भएन ।

हरेक वर्ष दुई–चार कट्ठा क्षेत्रफलमा तरकारी लगाउँदै आएका उनको काउली छिप्पिसक्यो, तर बिक्री नहुँदा परिवार चलाउन मुस्किल परेको छ । बारीमा तरकारी तयार भएर पनि बेच्न नपाउँदा राहत थापेर खान बाध्य भएको उनले बताए । ‘राहत थापेरै खानुपर्ने मान्छे त होइन, तर कोरोनाले गर्दा तरकारी नै बिक्री नभएपछि राहत नथापी उपाय लागेन’, उनले भने, ‘अहिले पनि तीनवटा गह्रामा लगाएको काउली तयार भएको छ, तर बेच्न पाइएन ।’

गाउँमा चेपाङ र गुरूङ समुदायको बसोवास रहेको छ । उनीहरु सबैको मुख्य आयस्रोत भनेको तरकारीखेती नै हो । वर्षौंदेखि तरकारीखेती गरेरै घरपरिवार पाल्दै आएका स्थानीयलाई कोरोनाको असरले निकै अप्ठ्यारोमा पारेको छ । तोलाङकै विकास गुरूङले बेच्नकै लागि लगाएको धनियाँ बिक्री नभएपछि बारीमै फुलाउन बाध्य भए ।

करिब २५ देखि ३० हजार रूपैयाँ मूल्यबराबरको धनियाँ खेर गएको उनले बताए । धनियाँ खेर गए पनि अहिले उनका काउली र बोडीका बिरूवा हुर्किरहेको छ । तर, फलेपछि बेच्ने वातावरण बन्छ कि बन्दैन भन्ने ठूलो चिन्ता छ । ‘धनियाँ त खेर गयो, काउली र गोलभेँडा फल्ने बेला अल्लि भएको छैन’, उनले भने, ‘अहिले लगाएको तरकारी पनि खेर जाने हो कि भन्ने चिन्ता लागेको छ ।’

बेच्ने बेलासम्म केही वातावरण बन्छ कि भन्ने आशमा करिब १० कट्ठाजतिमा तरकारीखेती गरेका छन् । वर्षमा कम्तीमा पनि दुई लाख रूपैयाँ आम्दानी गर्दै आएका उनले यसवर्ष तरकारी फल्ने बेलामै आम्दानी गुमाउनु परेको बताए । ‘तरकारी उत्पादन गरेर बिक्री गर्ने बेलामा कोरोनाको डरले लकडाउन भएपछि हाम्रो व्यवसायमा पनि लकडाउन नै भयो’, उनले थपे, ‘त्यसैले तीन महिनादेखि आम्दानी शून्य भो ।’

कोदो, मकैको तुलनामा तरकारीखेतीबाट दोब्बर फाइदा हुने भएपछि यहाँका किसान तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । सिंचाइका लागि पानीको सुविधा नभए पनि बिरूवा जोगाउन सके राम्रै आम्दानी गर्न सक्ने बताउँछन्, स्थानीय मोतीमान गुरूङ । ‘चैत–वैशाखको समयमा बिरूवा जोगाउन मुस्किल हुन्छ, त्यतिबेला आकाशे पानी थापेर बिरूवा बचाउने हो’, उनले भने, ‘बिरूवा बचाउन सके फसल राम्रै लाग्छ ।’ तर, यसपटक तरकारी बिक्री नभएपछि काउली बारीमै उनले बाख्रा चराइदिए । गोलभेँडालाई पनि स्याहार गरेका छैनन् ।

गाउँमा सबैभन्दा धेरै तरकारीखेती गर्ने नै मोतीमानको परिवार हो । उनले विगतका वर्षहरुमा एक बिघाभन्दा धेरै जमिनमा तरकारीखेती गर्दै आएका थिए । तर, यसवर्ष भने करिब आधा जमिनमा मात्रै तरकारी लगाएका छन् । त्यो पनि बिक्री गर्ने ठाउँ नपाएपछि तरकारी बारीमै बाख्रा चराइदिएको उनले बताए ।

‘बेच्न पाए आम्दानी राम्रै हुन्थ्यो’, उनले भने, ‘बिक्री गर्ने ठाउँ नै बन्द भएपछि बाख्रा चराइदिएँ ।’ करिब २५ देखि ३० हजार रूपैयाँ मूल्यबराबरको धनियाँ फुलेरै खेर गएको उनले बताए । अहिले आधा बारीमा मकै लगाएका छन् । तरकारीखेतीबाटै तीनदेखि चार लाख रूपैयाँ आम्दानी गर्दै आएका उनले तरकारीको तुलनामा मकैमा कम फाइदा भएर पनि बारी बाँझो राख्नुभन्दा पुरानै खेती गरेको सुनाए ।

गाउँका सबैले धेरथोर तरकारीखेती गरेका छन् । तर, बजार नपाएपछि सबैको समस्या उस्तै भएको उनले बताए । आम्दानीको स्रोत नै गुमेपछि राहत लिनुपर्ने अवस्थामा आइपुगेको स्थानीयको भनाइ छ । आर्थिक हिसाबले यहाँका चेपाङ र गुरूङ समुदायको अवस्था समान छ ।

अवस्था जटिल बन्दै गएपछि गाउँपालिकाको तर्फबाट एकपटक प्रतिघरधुरी १० किलो र दोस्रोपटक प्रतिघरधुरी २५ किलोको दरले चामल वितरण भएको स्थानीय विकास गुरूङले बताए ।

सोमबार रत्ननगर–३, शान्तिचोक स्थायी घर भई हाल अमेरिका बसोवास गर्ने बद्री खनालका छोरा श्रव्य खनालले आफ्नो जन्मदिनको अवसर पारेर सोही गाउँमा ४० घरपरिवारका लागि राहत वितरण गरेका छन् । तर, उक्त राहत चेपाङ परिवारका लागिमात्रै भनेर लगेकाले यहाँका गुरूङ समुदाय राहत पाउनबाट वञ्चित भए । उनका अनुसार यहाँका गुरूङ समुदायमात्रै नभई हुस्ती र दुलेथामका चेपाङ समुदायलाई पनि समस्या छ । ‘अधिकांश चेपाङ समुदायको बसोवास भएको ठाउँमा जम्मा ४० घरले मात्रै राहत पाएका छन्’, उनले भने, ‘अरु त वञ्चित भए ।’

गामबेँसीको चेपाङ संरक्षण केन्द्रको संयोजनमा सोमबार खनालका परिवारसहित राहत लिएर तोलाङ पुगेका थिए । बद्रीका दाजु केदार र भाइ प्रेमकृष्णको उपस्थितिमा वितरण भएको राहतमा प्रतिपरिवार एक बोरा चामल, एक लिटर तेल, एक केजी नुन र नुहाउने साबुन वितरण गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया