सर्वोच्च शिखर सगरमाथामा अहिलेसम्मकै ठूलो दुर्घटना भएको छ । सगरमाथा क्षेत्रको खुम्बुमा भयानक हिमपहिरो जाँदा १४ जना नेपाली पथप्रदर्शकको दुःखद निधन भएको छ । सगरमाथा पहिलो शिविरबाट शुक्रबार दोस्रो शिविर जाने क्रममा अचानक पहिरो गएको थियो । अकल्पनीय यस दुर्घटनामा २२ जनाको टोलीमध्ये चार जना बेपत्ता भएका छन् । यस्तै, चार जनाको उद्धारपछि उपचार भइरहेको छ । पथप्रर्दशकहरुको कहालीलाग्दो दुर्घटनापछि पर्वतारोहीहरुको पाइला बीचैमा रोकिएको छ । आरोहीहरुलाई सघाउने, भारी बोक्ने, डोरी टाँग्ने र बाटो देखाउने जिम्मा पाएका पथप्रदर्शकहरुको असामयिक निधनले पुनः एक पटक सन् १९९६ को स्मरण गराएको छ । हिमपहिरोकै कारण त्यसबेला आठ आरोहीले ज्यान गुमाएका थिए । यस्तै, १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो । नेपाल पर्वतारोहण संघका अनुसार सन् १९५३ यता ४ हजार ४११ जनाले सगरमाथाको आरोहण गरिसकेका छन् । यस अवधिमा २५० भन्दा बढीको आरोहण र झर्ने क्रममा मृत्यु भइसकेको छ ।
सगरमाथा आरोहणको मौसम सुरू भएलगत्तै आधार शिविरमा प्रबन्ध मिलाउने क्रममा नेपाली शेर्पा पथप्रदर्शकको निधन भएपछि सगरमाथाको शिखर चुम्न लालायित आरोहीहरु त्रसित भएका छन् । शेर्पाहरुको समूहले शिविर बनाएपछि आरोहीहरु त्यहीँ बसेर आरोहणको अभ्यास गर्ने गर्दछन् । सोहीअनुसार ७० जनाभन्दा बढी आरोही बिहानै उकालो चढेका थिए । पाँच हजार नौ सय मिटर उचाइको खुम्बु आइसफलमा तीसवटा भ¥याङ लगाइएको थियो । हिमपहिरोले भ¥याङ मर्मत गर्न निकै समय लागेपछि भाँच्चिएको भ¥याङ पार गर्नासाथ हिउँको ढिस्को झर्न सुरू गरेको थियो । र, त्यही हिउँले पुरिएर १४ जनाले ज्यान गुमाउनु प¥यो । हिमपहिरोमा परेर उद्धार गरिएका दावा टासी शेर्पाको मुस्किलले ज्यान जोगिएको छ । उनको शरीर हिउँले पुरिएको अवस्थामै उद्धार गरिएको थियो । पुनर्जीवन पाएका शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
सगरमाथा आरोहणका लागि यस वर्ष एक नेपालीसहित ३२ टोलीका ३ सय ५० जनाले अनुमति पाएका थिए । मे महिनाको दोस्रो सातादेखि आरोहीहरु शिखरको चुचुरोतर्फ लाग्ने गर्दछन् । जलवायु परिवर्तनका कारण बेमौसममै हिउँ पग्लिएर समस्या आएपछि पर्वतारोहीहरु चिन्तित बनेका छन् । संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आइपीसीसी) को प्रतिवेदनमा हिमाली क्षेत्रमा विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भइरहेको उल्लेख गरिएको छ । २१औँ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाको पनि पछिल्ला वर्षमा सगरमाथामा छिट्टै हिउँ पग्लिने गरेको अनुभव छ । जमेर बसेको हिउँ तापक्रम बढेपछि पग्लिएर झरेपछि त्यसले भयंकर पहिरोको रुप लिने गर्दछ । गत वर्ष पनि मनास्लुमा यस्तै हिमपात हुँदा एक दर्जन स्वदेशी तथा विदेशी पर्वतारोहीले ज्यान गुमाएका थिए । हिमशिखरहरुको आरोहण गर्नु आफैँमा चुनौतीपूर्ण दुस्साहस हो । शिखर आरोहण गरेर नफर्किएसम्म कोही पनि निश्चिन्त हुन सक्दैन । आरोहणका क्रममा यस्ता विपत्तिहरु नआऊन् भन्ने कामनासहित दिवंगत ‘क्लाइम्बिङ शेर्पा’प्रति भावपूर्ण श्रद्धाञ्जली !
Discussion about this post