पितृ बोलाउने चलन (महाभारत–चिन्तन)

अन‌ि यो पनि

डा. मतिप्रसाद ढकाल [[email protected]]
व्यासजीको प्रभावले कुरूक्षेत्रको युद्धमा मारिएका कौरव र पाण्डव वीरहरु गङ्गाजीको जलबाट प्रकट हुन्छन् । व्यासजीले आवाहन गरेपछि त्यसरी प्रकट भएका सबै वीरहरुले एकआपसमा वैरभाव, अहङ्कार, क्रोध र मात्सर्य सबै छोडिसकेका थिए । गन्धर्वहरुले उनीहरुको गुणगान गर्दै स्तुति गरे भने अप्सराहरुले उनीहरुलाई घेरे । त्यसबेला व्यासजी प्रसन्न भएर आफ्नो तपोबलले धृतराष्ट्रलाई दिव्य नेत्र प्रदान गरे । गान्धारी पनि दिव्य ज्ञानबलले सम्पन्न भएकी थिइन् । उनीहरुले युद्धमा मारिएका सबै पुत्रहरु र आफ्ना सम्बन्धीहरुलाई देखे । त्यहाँ आएका सबै मान्छे आश्चर्यचकित भएर एक टकले त्यो अद्भुत, चिताउनै नसकिने र अत्यन्त रोमाञ्चकारी दृश्यलाई हेरिरहेका थिए ।

परलोकबाट फर्किएका सबै व्यक्तिहरु परस्परमा रागद्वेषले रहित भएर दिनभर भेटघाट गर्छन् र रात परेपछि उनीहरु अदृश्य हुन्छन् । व्यासजीको आज्ञाले क्षत्रिय विधवाहरु गङ्गाजीमा गोता लगाएर वा पौडिएर आआफ्ना पतिका लोकलाई प्राप्त गर्दछन् । त्यसरी एकआपसमा सबैले भेटघाट गर्दा उनीहरु देवलोकमा रहने देवताहरुको जस्तै ती सबैका मनमा हर्षोल्लास छाइरहेको थियो । छोराहरु आफ्ना मातापिताका साथ, स्त्रीहरु आफ्ना पतिका साथ, भाइहरु आफ्ना दाजुहरुका साथ र मित्रहरु आफ्ना मित्रहरुकै साथमा भेटघाटमा व्यस्त थिए ।

कर्ण, अभिमन्यु र पञ्चपाण्डवहरु पनि एकआपसमा कुनै रागद्वेष नराखीकन अत्यन्त हर्षोल्लासपूर्वक भेटघाट गरिरहेका थिए । त्यसरी एकआपसमा भेटघाट गर्दा सबैलाई त्यहाँ परम सन्तोषको अनुभूति भयो भने उनीहरुका मनमा शोक, भय, त्रास, उद्वेग र अपयशको स्थान नै प्राप्त भएन । सबैको सारा दुःख दूर भयो । ती वीरहरु र उनका तरूनी स्त्रीहरु एकरात सँगसँगै भ्रमण गरेर अन्तमा एकअर्कासँग अनुमति लिई परस्पर गला मिलाएर जसरी आएका थिए त्यसरी नै फर्किने तयारी गरे । त्यतिबेला व्यासजीले उनीहरु सबैलाई आआफ्ना लोकमा फर्किने अनुमति दिए । साथै त्यतिबेला जजसका मनमा जुन जुन कामना उत्पन्न भए व्यासले ती सबै कामनाहरु पनि पूरा गरिदिए । युद्धमा मारिएका राजाहरुको पुनरागमनको वृत्तान्त सुनेपछि विभिन्न देशका नागरिकहरु अत्यन्त आश्चर्य र आनन्दित भए ।

आफ्ना समस्त पितृहरु यसरी परलोकबाट आउने र जाने वृत्तान्त सुनेर राजा जनमेजय पनि अत्यन्त प्रसन्न भए । साथै उनले जसले आफ्नो शरीर परित्याग गरेका छन् ती व्यक्तिहरुले त्यसै रुपमा कसरी दर्शन दिन्छन् ? भन्ने जिज्ञासा पनि वैशम्पायनसँग राखे र वैशम्पायनले पनि जनमेजयको जिज्ञासा शान्त गर्ने प्रयास गरे ।

सम्पूर्ण कर्मको फल भोग नगरीकन जीवात्माको विनाश हुँदैन । जीवात्माको जुन शरीर र विभिन्न प्रकारका आकृति हुन्छन् ती सबै कर्मजनित नै हुन् । अनित्य शरीरहरुको नाश हुँदा नित्य पञ्चमहाभूतहरुको शरीरसँग वियोगमात्र हुन्छ विनाश हुँदैन । कर्तृत्वको अभिमानविना अनायास गरिने कर्मको फल नै सत्य, श्रेष्ठ र मुक्तिदायक छ भने कर्तृत्वको अभिमान र परिश्रमपूर्वक गरिएका कर्महरुले बाँधिएको जीवात्माले सुख र दुःखको उपभोग गर्दछ ।

अनायासकृतं कर्म
सत्यः श्रेष्ठः फलागमः ।
आत्माचैभिः समायुक्तः
सुखदुःखमुपाश्नुते ।।
(महाभारत १५।३४।६)

अर्थात् जबसम्म शरीरका प्रारब्ध कर्महरुको क्षय हुँदैन तबसम्म त्यस जीवको त्यस शरीरसँग एकरुपता रहन्छ । जब कर्महरुको क्षय हुन्छ तब अर्को स्वरुपलाई प्राप्त गर्दछ । अश्वमेध यज्ञमा जब अश्वको वध गरिन्छ त्यसबेला ‘सूर्यं ते चक्षुः वातं प्राणः’ (तैत्तिरीयारण्यक ३।४) अर्थात् तिम्रो आँखाले सूर्यलाई र प्राणले वायुलाई प्राप्त गरोस् इत्यादि अर्थ दिने मन्त्र पढिन्छन् । ती मन्त्रद्वारा यो सूचित हुन्छ कि देहधारीहरुका प्राण र इन्द्रियहरु निश्चत रुपले सदैव लोकान्तरमा रहन्छन् । तसर्थ परलोकमा गएका जीवहरुको त्यस्तै रुपले यस लोकमा पुनः प्रकट हुनु असम्भव छैन ।

जब देवता भित्रभावले युक्त हुन्छन् तब उनीहरु प्राणीहरुलाई लोकान्तरको प्राप्ति गराउनमा समर्थ हुने भएकाले प्राणीमाथि अनुग्रह गरेर उनीहरुलाई अभीष्ट लोकको प्राप्ति गराइदिन्छन् । त्यसैले जीवले यज्ञहरुद्वारा सदैव देवताहरुको आराधना गरेर लोकान्तरमा जाने शक्ति प्राप्त गर्दछन् । जसले यज्ञ गर्दैनन् उनीहरुले त्यस्तो शक्ति प्राप्त गर्दैनन् । यो पाञ्चभौतिक वर्ग नित्य छ र आत्मा पनि नित्य छ । यस अवस्थामा जुन मान्छे त्यस आत्माको अनेक प्रकारका देहहरुसँग सम्बन्ध तथा तिनको जन्म र नाशद्वारा आत्माको पनि जन्म र नाश हुन्छ भन्ने ठान्दछन् तिनीहरुको बुद्धि व्यर्थ छ । ‘वियोगे शोचतेऽत्यर्थं स बालइति मे मतिः’ (पूर्ववत् १५।३४।१४) अर्थात् कसैको कसैसँग वियोग हुँदा जसले अत्यन्त शोक गर्दछ त्यो पनि मेरा मतमा बालक नै हो । जसले वियोगमा दोष देख्छ त्यसले संयोगको त्याग गर्नुपर्छ किनकि असङ्ग वा असंयोग आत्मामा सङ्गम वा संयोग छैन । जसले त्यसमा संयोगको आरोप गर्दछ त्यसैलाई यस भूतलमा वियोगको दुःख सहनुपर्छ :

वियोगे दोषदर्शी यः
संयोगं स विसर्जयेत् ।
असङ्गे सङ्गमो नास्ति
दुःखं भुवि वियोगजम् ।।
(पूर्ववत् १५।३४।१५)

जो आफ्नो र अर्काको ज्ञानमा नै अल्झिन्छ ऊ अभिमानबाट माथि उठ्न सक्तैन । जो कसैका लागि पराई छैन त्यस परमात्मालाई जान्ने व्यक्ति उत्तम बुद्धिलाई पाएर मोहद्वारा मुक्त हुन्छ । त्यस्तो मुक्त व्यक्ति अव्यक्तद्वारा नै प्रकट भएको थियो र पुनः अव्यक्तमै लीन हुन्छ । यो पराधीन जीव जुन जुन शरीर धारण गरेर कर्म गर्दछ त्यस त्यस शरीरद्वारा त्यसको फल भोग्दछ । मानस कर्मको फल मनले र शारीरिक कर्मको फल शरीर धारण गरेर भोग्दछ :

येन येन शरीरेरण
करोत्ययमनीश्वरः ।
तेन तेन शरीरेण
तदवश्यमुपाश्नुते ।
मानसं मनसाऽऽप्नोति
शरीरं च शरीरवान् ।।
(पूर्ववत् १५।३४।१८)

राजा जनमेजयले आफ्ना स्वर्गवासी पिता परीक्षित्को दर्शन गर्न अनुरोध गरेका कारण व्यासजीले उनीमाथि पनि कृपा गरे र राजा परीक्षित्लाई त्यस यज्ञभूमिमा बोलाए । स्वर्गलोकबाट उस्तै रुप र अवस्थामा आएका आफ्ना तेजस्वी पिता परीक्षित्को पुत्र जनमेजयले दर्शन गरे । उनका साथमा आएका महात्मा शमीक, उनका पुत्र शृङ्गी ऋषि र परीक्षित्का मन्त्रीको पनि जनमेजयले दर्शन गरे । त्यसपछि राजा जनमेजयले प्रसन्न भएर यज्ञान्त स्नानका समयमा पहिला आफ्ना पितालाई स्नान गराए र पछि आपूmले पनि स्नान गरे । तत्पश्चात् राजा परीक्षित् त्यहीँ अन्तर्धान भए ।

स्नान गरिसकेपछि राजा जनमेजयले जरत्कारूकुमार आस्तीक मुनिसँग मेरो यो यज्ञ नाना प्रकारका आश्चर्यहरुको केन्द्र भएको छ किनकि आज मेरा सारा शोकहरुलाई नाश गर्ने मेरा पिताजी पनि यहाँ उपस्थित हुनुभएको थियो भन्ने कुरा व्यक्त गरे । त्यसको प्रत्युत्तरमा आस्तीक मुनिले जसको यज्ञमा तपस्याका खानी महर्षि द्वैपायन व्यास समुपस्थित भएका छन् उसको त दुवै लोकमा विजय भएको छ भन्ने कुराको चर्चा गरे । तिम्रा शत्रु सर्पगण भस्म भएर तिम्रा पिताकै पदवीलाई प्राप्त गरे । तिम्रो सत्यपरायणताका कारण कुनै किसिमले तक्षकको प्राण बचेको छ । तिमीले समस्त ऋषिहरुको पूजा र महात्मा व्यासको पहुँच वा सामथ्र्य कहाँसम्म छ भन्ने कुरा पनि प्रत्यक्षरुपमा देख्यौ । आस्तीकले व्यासको कृपाद्वारा जनमेजयले आफ्ना पिताको दर्शन गर्ने सौभाग्य प्राप्त गरेको कुरा वर्णन गरेका हुन् ।

स्वर्गवासी पितृहरुलाई आवाहन गर्ने र पूजाअर्चना गर्ने परम्परा त श्राद्ध आदि पद्धतिका माध्यमले वर्तमानमा समेत जीवन्त छ र कतिपय तान्त्रिक एवं सिद्ध ज्योतिषीहरुले पितृ बोलाउने भनेर स्वर्गवासी पितृहरुसँग कुराकानी गराइदिने चलन पनि कहीँकतै अद्यावधि रहँदै आएको छ तर स्वर्गवासी पितृहरुलाई बोलाएर प्रत्यक्षरुपमै भेटघाट गर्ने अवसर जुराइदिने पहिलो प्रयास व्यासजीका कृपाले राजा जनमेजयलाई नै प्राप्त भएको हो र शुद्ध एवं सा¤िवक आचरणमा रहिरहन सके हामीहरुले समेत स्वप्नमा नै किन नहोस् पितृहरुको दर्शन गर्न सक्नेछौँ ।

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर)

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया