हरिहर दवाडी
नारायणगढस्थित नारायणी नदीकिनारमा आज वैशाख ७ गतेदेखि १८ गतेसम्म आयोजित हुँदै गरेको ‘धार्मिक महामहोत्सव’ को सन्दर्भलाई लिएर सो महामहोत्सवका मूल सङ्कल्पकर्ता एवम् महायज्ञका प्रमुख वाचक बालव्यास ईश्वरकृष्ण शास्त्रीसँग चितवन पोष्टका लागि गरिएको कुराकानी ः
१. धार्मिक महामहोत्सवको तयारी कस्तो चल्दै छ ?
— परमपावनी करोडौँ शालिग्राम स्नान गराई बगेकी किनारमा हुन गइरहेको विश्वमै पहिलो पटक एक हजार आठ शालिग्रामको एक करोड यज्ञ परिक्रमा गरिने र भारतको आस्था टेलिभिजनबाट विश्वभरि प्रत्यक्ष प्रसारण हुने श्रीमद्भागवत् विश्व जागरण शालग्राम धार्मिक महामहोत्सवको तयारी प्रचारात्मक अभियानका साथ उत्साहपूर्वक द्रुत गतिमा चलिरहेको छ । समग्र ओँकारमा आस्था राख्ने जनसमुदाय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु तथा प्रेमी भक्तजनहरुको सक्रियतामा महायज्ञलाई सफल बनाई नेपाल राष्ट्रको धार्मिक एवम् पर्यटकीय उन्नयन गर्ने लक्ष्यका साथ यज्ञको तयारी धमाधम भइरहेको छ ।
२. चितवनको नारायणी नदीकिनारलाई नै किन यज्ञस्थलका रुपमा चयन गर्नुभयो ?
— भगवान् शालिग्रामको उद्भव विश्वको एकमात्र स्थान नेपालको कालीगण्डकी नदीको तटमा भएका तथ्य र प्रमाणहरु शास्त्रहरुमा उल्लेख छन् र विश्वभरिमा केवल यही स्थानमा मात्र शालिग्राम पाउन सकिन्छ । विश्वमा हरेक हिन्दु मन्दिरमा अनिवार्य रुपमा शालिग्रामको पूजन हुनैपर्ने मर्यादा छ । शालिग्रामको सेवा वैदिक सनातन धर्मावलम्बीले गर्नुपर्दछ । शास्त्रमा वर्णित भएअनुसार कलियुगको पाँच हजार वर्ष पूरा भइसकेपछि अन्य तीर्थहरुको मह¤व घटेर केवल शालिग्राम तीर्थको मात्र मह¤व बाँकी रहन्छ । देशविदेशका सयौँ तीर्थस्थलहरुमा हजारौँ पटक स्नान गरेको भन्दा बढी पुण्य एक पटक कालीगण्डकीमा स्नान गर्नाले प्राप्त हुन्छ । तसर्थ, पवित्र शालिग्राम स्नान गराएकी पावनी नारायणी नदीको तटलाई नै हाम्रो महायज्ञको उपयुक्त स्थलका रुपमा चयन गरिएको हो । हाम्रो यज्ञको मूल उद्देश्य नै शालिग्राम धरणी कालीगण्डकी नारायणी क्षेत्रलाई विश्वभर प्रकाशित र प्रचारित तुल्याउनु हो ।
३. वास्तवमा शालिग्रामको मह¤वचाहिँ के हो ?
— शालिग्राम साक्षात् भगवान् विष्णु अर्थात् नारायणका स्वरुप हुनुहुन्छ । हरेक मन्दिर र घरघरमा शालिग्रामको नित्य पूजन हुन्छ । भगवान्का अन्य मूर्तिहरुलाई आह्वान् एवम् प्राणप्रतिष्ठा गर्नुपर्दछ तर भगवान् शालिग्रामलाई केही गर्नुपर्दैन, उहाँ स्वयम् प्रकट हुनुहुन्छ । हाम्रो नेपालकी कालीगण्डकी साक्षात् भगवान् शालिग्रामलाई निरन्तर स्नान गराउँदै कलकल बगिरहेकी छन् । धन्य छन्, मातृभूमि नेपाल र धन्य छौँ हामी नेपालीहरु ।
४. यति धेरै मह¤व हुँदाहुँदै पनि यो शालग्राम क्षेत्र किन छायामा परेको होला ?
— शास्त्रमा प्रशस्त प्रमाणहरु भैकन तथा प्रत्यक्ष रुपमा कालीगण्डकीमा शालिग्राम उपलब्ध हुँदाहुँदै पनि समुचित प्रचारप्रसारको अभावमा यो क्षेत्र छायामा परेको हो जस्तो लाग्छ । वास्तवमा ‘नजिकको तीर्थ हेलाँ’ जस्तै भएको हो । आजभोलि जागरण बढिरहेको छ । अब, ढिलो नगरीकन नेपाल र वैदिक धर्मकै गौरव शालिग्राम र कालीगण्डकीको मह¤व जगाउने र विश्वसामु चिनाउने बेला भएको छ । विश्वभर आस्था टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर शालिग्रामको जननी नेपालको सन्देश विश्वभर पैmलाउनुछ । यो महायज्ञका माध्यमबाट संसारभरका अरबौँ वैदिक सनातन धर्मावलम्बी तथा आस्तिक व्यक्तिहरु शालिग्राम र नेपाल राष्ट्रको पहिचानबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो ध्येय छ । सबैको हृदयमा भगवान् शालिग्राम र नेपाल राष्ट्रप्रतिको आस्था अङ्कित होस् भन्ने हाम्रो चाहना छ ।
५. कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक भौतिक आवश्यकताको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
— जीवन नै सङ्घर्ष हो । सुरूवातमा केही अप्ठेरो अनुभूति भएको थियो, तर सत्कार्यमा भगवान्को साथ र सहयोग रहने भएकाले बिस्तारै बुद्धिजीवी, पत्रकार, सङ्घसंस्था, दाता र भक्तजन आदिको सहयोग र सद्भावमा तयारी तीव्रताका साथ अघि बढिरहेको छ । विभिन्न उपसमितिहरुमार्फत महायज्ञको तयारी एवम् प्रचारप्रसार भइरहेको छ । सबैभन्दा सन्तुष्टि र खुसीको कुरो युवाहरुको सहभागिता उल्लेखनीय रुपमा बढिरहेको छ ।
६. युवावस्थामै अध्यात्म र धर्मको क्षेत्रमा तपाईं यसरी सक्रिय हुनुको कारणचाहिँ के होला ? किन यसरी यही उमेरमा धर्मकर्मको अभियानमा जुट्नुभएको ?
— हेर्नुस्, मेरो वृद्धावस्था आउँछ भन्ने कुरामा म विश्वस्त छैन । अहिले म २६ वर्षको भएँ । सात वर्षको उमेरदेखि नै धार्मिक क्रियाकलापहरुमा म संलग्न छु । हाम्रो प्राणपखेरू कतिखेर उडेर जान्छ भन्ने निश्चित छैन । तसर्थ, हरेक पल म मर्दै छु भन्ने जानेर धर्म र ईश्वरमा समर्पित भई सेवा गर्नु नै मानवजीवनको सार्थकता हो भन्ने मलाई लाग्दछ । धर्म र ईश्वरमा आस्थावान् रहेरै भौतिक क्रियाकलापमा संलग्न हुन सकिन्छ र आवश्यक भौतिक विकास गर्न अवश्य सकिन्छ । वास्तवमा धर्म नै जीवनको प्राण हो । हरेक नास्तिक व्यक्तिले पनि सुख र आनन्द खोजिरहेको छ, जसको वास्तविक प्राप्ति केवल धर्मको अभ्यास र ईश्वरीय साधनाबाट मात्र सम्भव हुन्छ । मान्छेले चाहेको सुख र आनन्द भनेकै ईश्वरको स्वरुप हो । जोकोहीले पनि अन्त्यमा भगवान्को चरणारविन्द शरण नपरीकन वास्तविक शान्ति प्राप्त गर्न सक्दैन । आनन्द र शान्तिको प्राप्ति केवल धर्मको मार्गबाट मात्र सम्भव हुन्छ ।
७. अहिलेको नेपाली समाजको आध्यात्मिक स्तर के–कस्तो रहेको छ भन्ने ठान्नुहुन्छ ?
— विगतमा नेपाली समाजमा विविध कारणले गर्दा आध्यात्मिक आस्था कम भएको देखिए पनि धर्म र संस्कृति नै नेपालीहरुको पहिचान र आधार भएको तथ्य पछिल्लो समयमा जिज्ञासु, आस्थावान् तथा युवाहरुको समेत आध्यात्मिक क्षेत्रमा आकर्षण बढ्नुले प्रमाणित गर्दछ । समाजमा शान्ति र सुव्यवस्थाको आधार केवल धर्म र अध्यात्म नै हुन् भन्ने कुरा अहिलेको बढ्दो धार्मिक जनलहरले पुष्टि गरेको छ ।
८. विभिन्न धार्मिक आयोजना र महोत्सवहरु निरन्तर भइरहेर पनि मानिसमा चाहिँ किन धार्मिकता बढ्न सकेन ? किन दिनप्रतिदिन मनुष्य समुदाय अमर्यादित, अव्यवस्थित हुँदै गइरहेको होला ?
— सानो भूलले ठूलो विनाश निम्याइरहेको छ । जेलको सङ्ख्या बढ्यो, तर कैदीको सङ्ख्या घटेन । अस्पतालहरु बढेर जाँदा पनि बिरामीहरु घटेनन् । विद्यालयहरु धेरै खुले तर चरित्रवान् विद्यार्थीहरुको उत्पादन कम छ । यी विभिन्न समस्याको एउटै जड छ, धर्मको मर्म नबुझ्नु । सेवा, त्याग, समर्पण र उपकार नै धर्मका सार हुन् । हरेक प्राणीमा ईश्वरको बास छ । ईश्वर सर्वत्र, सर्वव्यापी र सर्वकल्याणकारी छन् । प्राणी मात्रको सेवा नै ईश्वरको सेवा हो । सबैले, धर्मको सार बुझेर सेवामा लागे मात्र समाजमा हिंसा र अशान्ति घट्छ । अध्यात्मको प्रमुख सन्देश सबै प्राणीहरुको सेवा, ईश्वरभक्ति, त्याग र राष्ट्रप्रेम हुन् ।
९. आजभोलि श्रीमद्भागवत् पुराण वाचनको कार्यक्रमलाई केवल अर्थोपार्जनसँग गाँसेर सम्पन्न गर्ने गरिएको छ । यसबारे तपाईंको धारणा के छ ?
— अर्थोपार्जन मात्रैको लक्ष्य राख्नु र त्यसरी कार्यक्रमको आयोजना गर्नु श्रीमद्भागवत् महायज्ञको अनादर हो । श्रीमद्भागवद् वाचन त विशुद्ध धर्मजागरण र भगवत्प्रेम वर्धनको लागि गरिनुपर्दछ । कसैलाई अधिक धन दान गर्न दबाब दिनुहुँदैन । दानपुण्य स्वेच्छाले गर्ने कुरा हो । यस महायज्ञमा स्वेच्छिक दान, शालग्राम परिक्रमा तथा मनसा, वाचा र कर्मणा सबै प्रकारका सेवाहरुको अवसर रहेको छ ।
१०. यो महामहोत्सव आयोजना गर्नुको खास उद्देश्यचाहिँ के हो ?
यो महामहोत्सव नेपालको मात्र नभैकन समस्त वैदिक सनातन धर्मसँग सम्बन्धित विश्व समुदायकै जागरणको अभियान हो । यस महायज्ञमा हजारौँ व्यक्तिहरुद्वारा १००८ शालिग्रामको परिक्रमा गर्ने सत्सङ्कल्प भएको छ । सङ्कलित हुने दानपुण्यको धनराशिबाट हामीले पवित्र देवघाटधाममा कल्पवास सेवा आश्रम, किरियापुत्री भवन, अतिथि निवास, शोकाहारीविहारी भक्ति मन्दिरको निर्माण एवम् धार्मिक सञ्चारकोषको स्थापना गर्ने महान् लक्ष्य लिएका छौँ । सँगै, एक हात भूमिदान पवित्र देवघाटभूमिमा गर्ने अभियानका साथ हामीले जम्मा ३१०० हात भूमिदान सङ्कलन हुने लक्ष्य लिएका छौँ, जसबाट सङ्कलित हुने करिब एक करोडभन्दा बढी रकमबाट लक्षित निर्माणकार्यलाई अघि बढाउने योजना छ । कान्तिपुर टेलिभिजन र आस्था टेलिभिजनबाट राष्ट्रव्यापी एवम् विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्ने, चितवनका स्थानीय पत्रपत्रिकाहरु, एफएम रेडियोहरु तथा टेलिभिजन च्यानलहरुबाट पनि कार्यक्रमको विशेष प्रसारणको व्यवस्था भइरहेको छ । यस महायज्ञमा सबै वर्गका भक्तजनहरुको उपस्थिति र सहयोग रहने विश्वास लिएका छौँ ।
११. यसअघि पनि यही ठाउँमा आयोजित श्रीमद्भागवत् महायज्ञ के–कस्तो रहेको थियो ? कस्ता उपलब्धिहरु हासिल भएका थिए ?
— यसअघि २०६९ वैशाखमा आयोजित सो महायज्ञमा भक्तजनहरुको प्रेमपूर्ण सहभागिता रह्यो । उक्त यज्ञको यज्ञशेषबाट देवघाटधाममा दाहसंस्कार स्थलनजिकै मलामीहरुका निमित्त विश्रामस्थलको निर्माण भएको छ, जसबाट हजारौँ मलामीहरुलाई हावाहुरी र घामपानीबाट ओत लाग्ने आश्रम मिलेको छ ।
१२. धर्म सापेक्षता र हिन्दु राष्ट्र नेपालका बारेमा के भन्नुहुन्छ ?
— हामी विश्वभरिका अरबौँ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको एक मात्र आस्थाको केन्द्र हिन्दु धर्म सापेक्ष राष्ट्र नेपाल हुनुपर्दछ भन्ने पक्षमा छौँ । हिन्दुत्व नै नेपालको गौरवमय पहिचान हो । हामी सबै मिलेर हिन्दु धर्म, संस्कृति, संस्कार र नेपाल माताको गरिमामय अस्तित्वलाई जोगाएर विश्वसामु शिर उचाल्नु परेको छ ।
१३. अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
— आदरणीय धर्मप्रेमी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! वैदिक सनातन हिन्दु धर्मको रक्षाको लागि एक जुट बनौँ । नेपालका कालीगण्डकी, शालिग्राम क्षेत्रलगायत सम्पूर्ण तीर्थहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मह¤वका साथ प्रचारप्रसार गरौँ । आज वैशाख ७ देखि १८ गतेसम्म नारायणगढस्थित नारायणी नदीकिनारमा आयोजित हुने धार्मिक महामहोत्सवमा सहभागी भई १००८ शालिग्रामको अवश्य परिक्रमा गरौँ । आफ्नो धर्म–संस्कृति एवम् राष्ट्रहितको संरक्षण र विकासमा सहभागी बनौँ । तपाईंहरु सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रण गर्दछौँ । धन्यवाद !
Discussion about this post