संक्रमित थपिए, आइसोलेसन बेडको अभाव

अन‌ि यो पनि

धादिङ । धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ । अहिलेसम्म जिल्लाका ९२ जनामा संक्रमणको पुष्टि भएको छ भने तीमध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना छन् । जिल्लाका विभिन्न स्थानका पाँच जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता १ हजार ३७६ रहेको छ जसमा अहिले २० महिलासहित २०७ जना बसिरहेका छन् । त्यसैगरी आइसोलेसन बेडको संख्या ३९ रहेको भए पनि ६ महिलासहित ५२ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले नीलकण्ठ नगरपालिका २४, थाँक्रे गाउँपालिका ५,गजुरी गाउँपालिका २, बेनिघाट रोराङ गाउँपालिका ३, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ बेड क्षमताकोे आइसोलेसन बेड रहेको छ ।

पछिल्लो समय संक्रमितको संख्या हरेक दिन बढ्न थालेपछि बेडको अभाव हुँदा उपचार प्रभावित हुने भएकाले संकट व्यवस्थापन केन्द्रले सम्बन्धित स्थानीय तहहरुलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसारको आइसोलेसन बेड थप्न निर्देशन दिएको छ ।

धादिङ जिल्लाको विभिन्न गाउँबस्तीका वासिन्दा लकडाउनको अवधिमा भारतबाट सामूहिकरुपमा घर फर्किएपछि समूहगत रुपमा कोरोना संक्रमण देखिन थालेको हो ।

संकट व्यवस्थापन केन्द्र (सिएमसी) धादिङको अभिलेखअनुसार कोरोना भाइरसको महामारी फैलिएपछि जेठ मसान्तसम्ममा भारतलगायत अन्य देशबाट १ हजार जना जिल्लावासी गाउँ फर्किएका छन् । लकडाउन पछि गाउँ फर्किएकाहरुमा अधिकांश भारतबाट आएकाहरु नै रहेका छन् ।

नेपाल भारतको सीमा नाकासम्म आएपछि सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकको उद्धार गर्दै आइरहेका छन । यसरी ल्याइएकाहरुलाई सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिँदै आएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।

नीलकण्ठ नगरपालिकाले पनि उद्धार गरी ल्याएका नागरिकलाई सदरमुकामको क्वारेनटाइनमा राखेर आरडिटी परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएपछि घर पठाइदिएकोमा अहिले तिनै व्यक्तिको पिसिआर पोजेटिभ देखिएपछि नगरपालिकाको विभिन्न वडामा त्रास फैलिएको छ ।

क्वारेनटाइनमा राखिएकाहरुलाई आरडिटी विधिबाट परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाइएको र उनीहरु घर गएपछि सोही समूहमा आएकामध्ये केहीलाई कोरोना पुष्टि भएपछि जेठ ३० गते स्वाब संकलन गरी पठाइएकोमा असार १ गते थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । यसअघि नगरपालिकाभित्रका ४२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सोमबार पुष्टि भएकासमेत गरी नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या ५१ जना पुगेको छ । सोमबार पुष्टि भएकाहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का २८ वर्षीय २ जना, वडा नम्बर ५ का २४ वर्षीय २ जना र २९ वर्षीय १ जना, वडा नम्बर ७ का २८ वर्षीय २ जना, वडा नम्बर १० का २८ वर्षीय १ जना र वडा नम्बर १४ का ३८ वर्षीय १ जना रहेको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए ।

कोरोना संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका गाउँटोल सिल गरेर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि पिसिआर परीक्षण गराउने प्रक्रिया अघि बढेको संकट व्यवस्थापन केन्द्र धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया