बाढीपहिरोको कहर

अन‌ि यो पनि

नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । नेपालको पूर्वी भूभागबाट मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गर्दै गर्दा पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङको काहुलेमा शनिबार राति बस्तीभन्दा माथिबाट आएको वर्षासहितको पहिरोले पुरिँदा दुई परिवारका नौ जनाको ज्यान गयो । सो बस्तीका तुलबहादुर थापा परिवारका छ जना र विकास विकको परिवारका तीन जनाको शव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा भेटिएको थियो भने विक परिवारका एक बालक अझै बेपत्ता भएका छन् । नेपालमा सदिऔँदेखि पुख्र्यौलीरुपमा बसोवास गर्दै आएका बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहे पनि राज्यले एकीकृत बस्तीको अवधारणा बनाउन नसकेका कारण बर्सेनि पहिरो र बाढीको कहर दोहोरिने गरेको छ । कुश्मामा शनिबार राति भएको अकल्पनीय विपत्ति एक दृष्टान्तमात्र हो । सयौँ बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहँदै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुँदा साँझ–बिहान र रातिको समयमा बढी वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ ।

बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति सङ्केत दिएर आउँदैनन् । तर, कतिपय विपत्तिको पूर्वानुमान गर्न नसकिँदा ठूलो जनधनको क्षति भएका थुप्रै दृष्टान्त छन् । नेपाली जनताले भूकम्प, बाढीपहिरो, हुरीबतास, खडेरी, आगलागी, चट्याङ, शीतलहर, विभिन्न दुर्घटनाजस्ता प्रकोपको निरन्तर सामना गर्दै आएका छन् । यस्ता प्रकोप आउनुपूर्व नै सम्भावित पक्षकोे लेखाजोखा गरेर विपद्को सामना गर्न क्षमता अभिवृद्धि गर्न सकिए ठूलो जनधनको क्षति कम गर्न सकिन्छ । प्रकोप र सम्भावित विपद्बारेमा समुदायस्तरमा समयमै चेतना अभिवृद्धि गर्ने र पर्याप्त सावधानी अपनाउने कार्य नै विपद् व्यवस्थापन हो । नेपालमा सम्भावित विपद्को जोखिम कम गर्न ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७४’ लागू भए पनि अझैसम्म समुदायस्तरमा पूर्वतयारीबारे जनचेतना अभिवृद्धि गर्न नसक्दा अकल्पनीय घटना हुने गरेको छ । सम्भावित विपद्को पूर्वसावधानी कसरी अपनाउने र जोखिम न्यूनीकरण तथा रोकथाम कसरी गर्ने भन्ने विषयमा समुदायस्तरमा विपद् व्यवस्थापनको अभियान चलाउन सकेको पाइँदैन । यसमा स्थानीय तहको विशेष भूमिका रहने भएकाले विपद्को समयमा तत्काल आइपर्ने असामान्य परिस्थितिको सामना गर्न आपतकालीन योजना बनाउन सक्नुपर्छ । स्थानीय स्रोत, साधन र सीपको प्रयोगबाटै विपद् व्यवस्थापनको तयारी गर्न सकिने भएकाले स्थानीय तहले यसतर्फ ध्यान दिनुपर्छ ।

नेपालका गाउँबस्तीहरु अझै पनि नदीखोला र पहिरोको जोखिम रहेका क्षेत्रमै रहेका कारण हरेक वर्ष पहिरो, बाढी र कटानले विस्थापित हुनुपर्ने नियति छ । भौगोलिक संरचना र जटिल भूगर्भका कारण नेपाल भूकम्पीय जोखिम भएका विश्वका प्रमुख देशमध्येमा पर्छ । नेपालको ८३ प्रतिशत भूभाग हिमाली र पहाडी भागले ओगटेको छ भने विश्वको सबैभन्दा कान्छो चट्टानी पहाड पनि नेपालकै भएको मानिन्छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमा ११औँ स्थानमा रहँदै आएको छ । भूकम्पीय जोखिमको एक नम्बरमा रहेको जापानभन्दा पनि जोखिम व्यवस्थापनका हिसाबले नेपाल निकै पछाडि छ । नेपालमा अझैसम्म भू–उपयोग नीति बनेको छैन । भौगोलिक बनोटको आधारमा संरचना निर्माण गर्ने प्रणाली पनि लागू हुन नसकिरहेको स्थिति छ । परम्परागत हिसाबले जहाँतहीँ बस्ती बसाल्ने संस्कारले प्राकृतिक विपत्ति, बाढीपहिरो, डुबानजस्ता समस्यासँग पौँठेजोरी खेल्नुपर्ने नियति अद्यापि छ । प्राकृतिक प्रकोपको पीडा र कहर न्यूनीकरण गर्न पूर्वसतर्कता अपनाएर जनधनको क्षति कम गर्न सकिन्छ । विपत्तिलाई टार्न नसकिए पनि जोखिम कम गर्ने उपाय भने अवलम्बन गर्न सकिन्छ । त्यसका लागि स्थानीय सरकारले विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार तथा मानवीय सहयोगका लागि पूर्वतयारी गर्दै पहिरो प्रभावित तथा डुबान क्षेत्रमा बसोवास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर पूर्वसतर्कता अपनाउनु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया