भरतपुर । दुलाहा दुलहीको कम उमेरका कारण बिहीबार एउटा विहे रोकिएको छ । पर्सा वीरगञ्ज घण्टाघर घर भएका भनपा–९ शरदपुरमा बस्दै आएका मोहन राउतको १५ वर्षीय छोरा भीम र भारत मोतिहारीकी १२ वर्षीया अनिता राउतबीचको विहे महिला तथा बालबालिका कार्यालय प्रतिनिधि, सामुदायिक सेवा केन्द्र नारायणगढका प्रतिनिधिले रोकेका हुन् । सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले भनिन्, बल्लतल्ल सम्झाइ–बुझाइ गरेपछि विहे स्थगित गर्न सकियो । बालअधिकृत सिर्जना काफ्लेले कानून र बालअधिकारविपरीत हुन लागेको विहे रोक्न सफल भएको बताइन् ।
जिल्ला प्रहरी कार्यालयमा दुलाहा पक्षका आफन्तले यस्तो गल्ती नगर्ने कागज गरेका छन् । बालविवाह गर्न हुँदैन भन्ने जनचेतना फैलाउने सर्तमा एकचोटीलाई छोडेको जिल्ला प्रहरी कार्यालय चितवन महिला सेलका प्रहरी सहायक निरीक्षक शान्ता पण्डितले जानकारी दिइन् ।
Discussion about this post