सुरक्षित रहौँ, महामारीलाई नबिर्सौं

अन‌ि यो पनि

सरकारले विज्ञहरुको रायसल्लाहअनुरुप लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सहरबजारमा चहलपहल सुरू भएको छ । लकडाउनको ८४औँ दिनमा आइपुग्दा आजदेखि अधिकांश पसल/व्यवसाय खुलेका छन् । सरकारले विश्वव्यापी कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । पछिल्लो समय कोरोना संक्रमणले भन्दा पनि भोकमरीका कारण जनता मर्ने अवस्था उत्पन्न हुन थालेपछि विज्ञहरुको सल्लाहका आधारमा ८०औँ दिनमा लकडाउन खुकुलो पार्ने निर्णय लिएको हो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गर्ने सर्तमा यातायात, व्यापार व्यवसाय, निजी तथा सरकारी कार्यालयसहित २१ सेवा खोल्ने निर्णय गरेको छ । सरकारले जनस्तरबाट उत्पन्न आक्रोश, स्वतःस्फूर्त लकडाउनको अवज्ञालाई मध्यनजर गरी वस्तुस्थितिलाई केही सहजमात्र बनाउन खोजेको हो, लकडाउन हटाएको भने होइन । लकडाउनका कारण गरिखाने वर्गका जनता निकै निराश छन् । तर, पछिल्लो समय कोरोना संक्रमण दर पनि निकै बढेको छ । दैनिक औसत ३५० भन्दा बढी संक्रमित थपिँदै जानुले पनि लकडाउन खुकुलो बनाउने निर्णय चुनौतीपूर्ण बनेको छ । एकातिर सरकारलाई कोरोना रोकथाम गरी जनजीवन सहज बनाउने चुनौती बढेको छ भने अर्कातिर जनतामा कोरोना संक्रमणबाट सुरक्षित हुन परीक्षाको घडी सुरू भइसकेको अवस्था छ ।

नेपालमा कोरोना महामारी अझै समुदायस्तरमा फैलिसकेको छैन । प्रायः पुष्टि भएका अधिकांश संक्रमित भारतलगायतका मुलुकबाट स्वदेश फर्किएका हुन्, जो प्रायः क्वारेन्टाइनमै रहेका छन् । केही मानिस क्वारेन्टाइन छलेर, भागेर वा लुकेर समुदायमा रहेका हुन सक्छन् । तिनको पहिचान स्थानीय तहले यथासमयमै गर्नुपर्छ । सबैभन्दा चुनौतीको विषय भनेको यातायातका साधन बढ्नु नै हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अझै पनि दक्षिण एसियाली मुलुकहरुमा संक्रमणको जोखिम उच्च रहेको चेतावनी दिइरहेको अवस्थामा भारतबाट भित्रिने ट्रक तथा कन्टेनरलगायत मालसामान ढुवानी गर्ने सवारीसाधनदेखि बजारमा देखिने भीडभाडका कारण संक्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ । डब्लुएचओको चेतावनीअनुसार अहिले सामाजिक दूरी कायम गरी सुरक्षित हुनुपर्ने समय हो । तर, मुलुकको वर्तमान वस्तुस्थिति र सङ्कटका कारण अब सरकारले चाहेर पनि कडाइ गर्न सक्ने अवस्था रहेन, छैन । लकडाउन नै कोरोना नियन्त्रणको अन्तिम विकल्प होइन भन्ने विभिन्न देशले प्रमाणित गरिसकेका छन् । कोरोना महामारीको उद्गमस्थल चीन, जर्मनी, इटाली, स्पेन, अमेरिकालगायतका मुलुकहरुले सामाजिक दूरी कायम राख्दै सचेत र सतर्कता अपनाएर जनजीवन सामान्य बनाउँदै लगेका छन् । सधैँभरि लकडाउन लागू गरेर हाम्रोजस्ता मुलुकले थेग्न सक्ने स्थिति पनि छैन ।

लकडाउन खुकुलो हुनुको अर्थ कोरोना महामारीअघिको पूर्वअवस्थामा फर्किनु अवश्य होइन । अनावश्यक भीडभाड र जथाभावी हिँड्डुल गर्दा कोरोना संक्रमणको स्थिति भयावह बन्न सक्नेतर्फ पनि सबै सचेत नागरिकले ध्यान दिनैपर्छ । सरकारले जनताको तीव्र आक्रोशलाई मत्थर पार्न लकडाउन खुकुलो पार्ने निर्णय गरे पनि जनतालाई जनजीवन सहजतासँगै कसरी सुरक्षित राख्ने भन्नेतर्फ पनि विशेष ध्यान दिनुपर्छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन, स्वास्थ्य परीक्षणलगायत संक्रमितहरुको उपचारमा लापर्बाही भएका खबरहरुले सरकारी व्यवस्थापनको पटाक्षेप गरिरहेको छ । पिसिआर परीक्षणको दायरा बढाएर क्वारेन्टाइनमा रहेका सबैको अनिवार्य परीक्षण गराउने र रोग निर्मूल भएपछिमात्रै घर फर्काउने काम गर्नु वाञ्छनीय हुनेछ । पहुँचवाला र कथित विशिष्टहरुको स्वास्थ्य परीक्षणमा कुनै कसर बाँकी नराख्ने सरकारले देशका सबै नागरिक संविधानतः एकै हुन् भन्ने वास्तविकता पनि बिर्सन मिल्दैन । लकडाउन खुकुलो भए पनि कोरोना नियन्त्रण भएको छैन भन्ने तथ्य पनि कसैले भुल्नुहुँदैन । जनताको सुरक्षाको जिम्मा सरकारको भए पनि सतर्कता अपनाउनेचाहिँ आफैँले हो । त्यसैले सामाजिक दूरी कायम राखेर, आफू सुरक्षित हुने उपाय अपनाएरमात्रै हिँड्डुल गरौँ । अतिआवश्यक कामबाहेक घुमफिर र रमाइलोका लागि घरबाहिर निस्कने नगरौँ, किनकि कोरोनाले तपाईं हामीलाई पछ्याइरहेको हुनसक्छ !

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया