चोरी बढेपछि रातभरि गस्ती

अन‌ि यो पनि

भोजाड । कोरोना भाइरसका कारण जारी लकडाउन खुकुलो भैरहँदा पनि भरतपुर महानगरपालिका वडा नम्बर–११ का विभिन्न स्थानमा चोरीका घटनाहरु नरोकिएपछि स्थानीयहरु स्वयंसेवक दस्ता गठन गरी रात्रि गस्ती गरिरहेका छन् ।

चोरहरुको बिगबिगी बढ्दै गएपछि स्थानीयहरुले वडा कार्यालय र भोजाड प्रहरीको सहयोगमा ४० जनाको स्वयंसेवक दस्ता गठन गरी हाल रात्रि गस्ती गरिरहेका हुन् ।

भरतपुर वडा नं–११ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा २८ वटै टोल विकास संस्थाहरुले स्वयंसेवक दस्ता गठन गरी विभिन्न सचेतनामूलक कामहरु अघि बढाउनुका साथै वडाभित्र सक्रियरुपमा सामाजिक तथा विकासका कार्यहरु गर्दै आएको टोल विकास संस्थाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । संस्थाले नीमकान्त पाण्डेको संयोजनमा स्वयंसेवक दस्ता गठन गरी स्वयंसेवकहरुलाई वडा अध्यक्ष र अस्थायी प्रहरी चौकी भोजाडबाट प्रशिक्षण दिएको अध्यक्ष आचार्यले बताए ।

केही दिनअघिमात्रै भरतपुर–११ को जनोदय समन्वय टोलमा ९ र छिमेकी सल्लेरी शान्ति टोलमा ३ गरी १२ वटा घरबाट लाखौँको धनमालका साथै स्कुटर, २० वटाभन्दा बढी साइकलहरु चोरी भएको दस्ताका संयोजक नीमकान्त पाण्डेले जानकारी दिएका छन् ।

पछिल्लोपटक गत बिहीबार एकैपटक दुई घरमा चोरी भएको र घटनामा एउटा घरबाट साढे चार तोला सुन र अर्को घरबाट ३ तोला सुनका साथै ७ हजार रूपैयाँ पनि चोरी भएको उनले बताए । चोरहरुले लकडाउनका बेला घर बन्द गरी गाउँ गएकाहरुको घरलाई लक्षित गरेर घटना घटाएको पाइएको छ ।

दस्ताका संयोजक पाण्डेका अनुसार २०–२० जनाको दुई समूह बनाई राति ११ बजेदेखि बिहान ४ बजेसम्म दैनिक गस्ती गरिएको छ । रात्रिकालीन गस्तीलाई १ असारबाट झनै सशक्तरुपमा एक घर एक व्यक्तिलाई अनिवार्यरुपले सहभागी गराई स्वयंसेवक परिचालन गरी ५ समूह बनाइने उनले बताए ।

शान्ति सुरक्षा तथा सचेतनामूलक कार्यक्रमका लागि टोलभित्रका महिला दिदीबैनीहरु सहभागी भई पुरूषसँगै संयुक्त गस्ती गरेको महिला समूह अध्यक्ष पुष्पा भण्डारीले जानकारी दिइन् । टोलभित्र अपरिचित व्यक्ति प्रवेश गरे सोधपुछ र निगरानी गर्ने कार्यलाई दिनको समयमा समेत निरन्तरता दिन उनले आग्रह गरेकी छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...