एसियाकै उत्कृष्ट पञ्चकन्या नहर अलपत्र

अन‌ि यो पनि

रत्ननगर । चितवनको रत्ननगरमा ९०० बिगाहा क्षेत्रफलमा सिंचाइ गर्ने पञ्चकन्या नहर अलपत्र परेको छ । एसियाकै उत्कृष्ट नहरको रुपमा स्थापित पञ्चकन्या नहर जल उपभोक्ता संस्थाको मर्मतसम्भार र उचित व्यवस्थापनको अभावका कारण अलपत्र परेको हो ।

रामेश्वर महतो अध्यक्ष रहेको उपभोक्ता समितिले काम नगरेका कारण नेपालकै पहिलो राजकुलोको रुपमा परिचित सो नहर अहिले आएर अलपत्र अवस्थामा रहेको छ ।

रत्ननगर वडा नं–११ र १२ को सिमानामा मुहान रहेको सो नहरबाट वडा नं–१२, १०, ९, ४, ८ र १ का १ हजार ६१२ घरधुरीको ९०० बिगाहा क्षेत्रफलमा सिंचाइ हुँदै आएको थियो । पाँच किलोमिटर लम्बाइ भएको सो नहरको ८ वटा शाखा कुलो, ३२ वटा उपशाखा कुलो, १० वटा आउटलेट गरी ५० वटा कुलोकुलेसाहरु रहेका छन् ।

अहिले उल्लेखित सबै शाखा कुलो, उपशाखा कुलो, आउटलेटहरु पानी बग्न सक्ने अवस्थामा छैनन्, किनकि उपभोक्ता संस्थाको कार्यालय सञ्चालनमा छैन । शाखा कुलो, उपशाखा कुलो र आउटलेट मासिएर मूल नहरमात्रै बाँकी रहेको छ ।

२३८ वर्ष पुरानो इतिहास बोकेको सो नहर २०५४ साल असार २० गते सिंचाइ व्यवस्थापन तथा हस्तान्तरण आयोजनाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो । उपभोक्ता समितिलाई नहर हस्तान्तरण भएपछि उपभोक्ता समितिका संस्थापक अध्यक्ष विष्णुहरि देवकोटाले कुपनमार्फत किसानलाई पानी वितरण गर्ने प्रणाली सुरू गरे, जसका कारण रत्ननगरको पञ्चकन्या नहर एसियाकै नमुना नहरको रुपमा स्थापित भयो । २०६४ सालसम्म यो क्रम जारी रह्यो ।

२०६५ साल जेठ १० गते सम्पन्न छैटौँ अधिवेशनले स्थानीय रामेश्वर महतोलाई अध्यक्षमा चयन ग¥यो । महतो नेतृत्वको उपभोक्ता समितिले एक वर्षमात्रै राम्ररी काम गरेको पाइएको छ । २०६६ सालदेखि सो नहरको दुर्दशा सुरू भएको हो । त्यसयता नहरको मर्मतसम्भार, आम्दानी र खर्चको लेखाजोखा केही हुन सकेको छैन ।

वर्षको एकपटक साधारण सभा र तीन–तीन वर्षमा गर्नुपर्ने अधिवेशन २०६६ सालयता एउटा पनि भएको छैन । उपभोक्ताले बुझाएको पैसा र संघसंस्थाले गरेको सहयोग रकम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

महतो नेतृत्वको समितिमा अहिले नगरमा नाम चलेका व्यक्तिहरु रहेका छन् । उनीहरुबाट पनि यो नहरलाई जीवित गराउन पहलकदमी भएको पाइएन । उपभोक्ताले एक बिगाहा क्षेत्रफलमा सिंचाइ गरेबापत वार्षिक ९०० रूपैयाँ शुल्क तिर्दै आएका थिए । किसानले तिरेको पैसाको समेत हरहिसाब छैन ।

‘नहरको अवस्था लथालिङ्ग छ’, संस्थापक अध्यक्ष देवकोटाले भने, ‘लामो समयदेखि किसानले सिंचाइ गर्न पाएका छैनन् ।’ पञ्चकन्या नहर नचलेकै कारण रत्ननगरको उत्पादनमा समेत असर परेको उनले बताए ।

१३ वर्षअघिसम्म नमुना रहेको सो नहर दोस्रो कार्यकालको उपभोक्ता समिति बनेपछि कुपनबाट पानी वितरण गर्ने प्रणालीसमेत बन्द भएको थियो । किसानको जीविकोपार्जनको मेरूदण्डका रुपमा रहेको सिंचाइ प्रणाली मासिएपछि यहाँका किसानहरु चिन्तित भएका छन् ।

त्यतिमात्र नभएर सडक विस्तार गर्ने क्रममा नहरको मुहानलाई साँघुरो बनाउने काम भएको छ । अन्डरग्राउन्ड नहर सवारीसाधनको चापले गर्दा पानी चुहिने भएको छ । ‘यो नहर मासिनु भनेको रत्ननगरका किसानको मुखमा बुझो लगाउनु हो’, संस्थापक अध्यक्ष देवकोटाले भने, ‘यसलाई स्थानीय सरकारले संरक्षण गर्न आवश्यक छ ।’

रत्ननगरका किसानले दुई बाली धान लगाउँछन् । नहरबाट पानी नआएका कारण एक दशकअघिदेखि यहाँका किसानहरुको उत्पादन लागत बढ्दै गएको छ । उपभोक्ता संस्थाका अध्यक्ष रामेश्वर महतोले आफू अध्यक्षमा निर्वाचित भएर आएपछि दुई–तीन वर्ष राम्ररी नहर सञ्चालन गरेको र त्यसयता किसानकै कारण नहर अलपत्र परेको प्रतिक्रिया दिए ।

सरकारले अनुदानमा इनार खन्ने व्यवस्था गरेपछि अधिकांश किसानले सिंचाइका लागि इनार खनेर नहरमा पैसा बुझाउन छाडेका कारण संस्था सञ्चालनमा समस्या भएको उनले बताए । संस्थाको आर्थिक पक्षको विषयमा भने संस्थाका कार्यालय सचिव जिम्मेवार रहेको उनले बताए । किसानले पानीको महसुल बुझाउन छाडेपछि आम्दानीको स्रोत नभएर नहरको संरक्षण गर्न नसकिएको अध्यक्ष महतोको भनाइ छ ।

यता, रत्ननगरका मेयर नारायण वनले पञ्चकन्या नहरको संरक्षण स्थानीय सरकारले गर्ने बताए । यसवर्षबाट नहरको सरसफाइ सुरू भएको भन्दै उनले चालू आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेटबाट नहरको सरसफाइ सुरू गरिएको बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया