बाढीको जोखिमयुक्त क्षेत्रमा धमाधम तटबन्ध

अन‌ि यो पनि

भरतपुर । केही दिनमा देशभर मनसुन सक्रिय हुँदैछ । मनसुन सक्रिय हुँदा मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना हुन्छ । लगातारको वर्षाका कारण बर्सेनि तराईका जिल्लाहरुमा आउने बाढी र पहाडी भेगमा जाने पहिरोले धेरैको धनजनको क्षति पुग्ने गरेको छ । यस्तो विपद्बाट धनजनको क्षति नहोस् भनेर चितवनका जोखिमयुक्त स्थानीय निकायहरुले नदी तथा खोलामा तटबन्धको कामलाई तीव्रता दिएका छन् ।

तटबन्धसँगै वडास्तरमा विपद् व्यवस्थापन समिति गठन एवम् रेस्क्यु हाउस निर्माणका कामहरु पनि भइरहेको छ । बाढीको जोखिमयुक्त क्षेत्रका रुपमा लिइने वडा नं–२७ र २८ मा तटबन्धनको काम भइरहेको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । उनले भने, ‘वडा नं–२८ को लौखरी र २७ को न्युरेचोकमा नदी नियन्त्रणको काम भइरहेको छ । अस्ति भर्खर पनि हामीले हेरेर आएका छौँ, अन्य ठाउँमा त्यस्तो जोखिम छैन ।’

बाढीको विपद् आइपरे मानिसहरुको उद्धारका लागि उद्धार सामग्रीहरु तयारी अवस्थामा राखिएको उनले बताए । उद्धार सामग्री पर्याप्त भने नरहेको उनको भनाइ छ । विपद्को घडी नजिकिँदै गर्दा थप उद्धार सामग्री आवश्यक परेमात्रै किन्ने उनी बताउँछन् । ‘वडा नं–२७ मा रेस्क्यु घर पनि बन्दैछ, नेपाली सेनाको सहयोगमा वडा नं–१३ मा पनि बनाउने तयारी हुँदैछ’, उनले भने ।

माडीमा पनि जोखिम भएका स्थानहरुमा तटबन्धनका काम भइरहेको छ । रिउ खोलामा मात्रै यसवर्ष करिब सात करोड रूपैयाँ बजेटबाट तटबन्ध गर्ने काम भइरहेको माडी नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए । ‘एउटा वडामा १० जनाको रेस्क्यु टिम तालिम दिएर राखेका छौँ, उनीहरुलाई पुनर्ताजगी गर्न अब बैठक बस्दैछौँ’, उनले भने, ‘धेरैजसो ठाडा खोलाहरुमा पनि तटबन्धन भएका छन् । धेरै क्षति हुनेमध्येको मुगई खोलामा पनि यसवर्ष एक करोडबराबरको तटबन्ध भएको छ ।’

ठूलो क्षति गराउनेमध्येको घांघर खोला र चितई खोलालगायतका मुख्य खोलाहरुमा तटबन्ध भइरहेको उनी बताउँछन् । धोवाहा क्षेत्रमा पनि करिब १.४ किमीमा खोला गहिराउने र ग्याबिन जालीसहितको तटबन्ध गर्ने काम भएको उनले बताए । नागरिकहरुलाई उद्धार गरेर राख्नका लागि पाण्डवनगर र धोवाहा क्षेत्रमा रेस्क्यु हाउस निर्माण गरिएको उनको भनाइ छ ।

‘जोखिमयुक्त क्षेत्र भनेको धोवाहा र सिमरा हो, दुवै ठाउँमा ठूलो ड्यामसहितको तटबन्ध छ’, उनले भने, ‘तारजालीसहितको ड्याम रहेको छ, अहिलेसम्म त्यो ठाउँ सुरक्षित छ ।’ पाण्डवनगरलाई केन्द्रित गरेर रिउको पुलमुनिबाट ड्याम बनाउने काम भइरहेको छ । आउँदो वर्षमा त्यसलाई उत्तरतर्फ मोडेर नागरिकहरुको खेतीयोग्य जग्गालाई सुरक्षित राख्ने प्रयास भएको छ ।

रत्ननगर नगरपालिकामा बाढीको जोखिमका हिसाबले सौराहा बढी जोखिमपूर्ण मानिन्छ । खगेरी, राप्तीलगायतका नदीले नगरपालिकाको वडा नं–५, ६, ७ र ८ डुबानमा पर्ने गरेको नगरप्रमुख नारायण वनले वताए । जोखिमयुक्त स्थानहरुमा ड्याक निर्माण भइरहेको उनले बताए ।

ठूलो बाढी आउँदा सौराहा यसवर्ष पनि डुब्ने अवस्था रहेको उनको भनाइ छ । ‘वडास्तरमा विपद् व्यवस्थापन समिति बनाइसकेका छौँ’, उनले भने, ‘त्यसका लागि चाहिने खालका उपकरणहरु पनि राखेका छौँ । वडा नं–८ का दुई ठाउँमा रेस्क्यु घर पनि बनाएका छौँ ।’

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले यसवर्ष राप्ती, पम्फा, च्यात्रालगायत विभिन्न खोलाहरुमा स्पर निर्माण एवम् मर्मत गर्ने तथा तटबन्ध बनाउने काम भएको बताइन् ।

आवास क्षेत्रमा बाढी पसिहालेमा त्यहाँका नागरिकलाई उद्धार गरेर नगरपालिकाकै अन्डरग्राउन्डमा राखिने उनको भनाइ छ । ‘अहिले धेरै तटबन्ध र स्परहरु निर्माण गरेका हुनाले क्षति कम होला’, उनले भनिन्, ‘ठेकेदारले फटाफट काम नगर्दा कंक्रिट तटबन्धका ठूला योजनाहरुमा समस्या आएको छ । राप्तीको तटबन्धन अगाडि बढ्यो भने नगरपालिका धेरै सुरक्षित हुन्छ ।’

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया