क्वारेन्टाइनबाट फर्किएका २४ जनामा संक्रमण पुष्टि

अन‌ि यो पनि

धादिङ । भारतका विभिन्न सहरबाट आएर दुई साता सदरमुकाम धादिङबेँसीमा क्वारेन्टाइनमा बसेर घर फर्किएका २४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सिंगो बस्तीमा तनाव बढेको छ ।

शनिबार र आइतबार कोरोना संक्रमण देखिएका नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका गाउँटोल सिल गरिने भएको छ ।

क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरु बसेको गाउँटोललाई सिल गरेर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि पिसिआर परीक्षण गराउने संकट व्यवस्थापन केन्द्र धादिङको आइतबार बसेको बैठकले निर्णय गरेको सिएमसीका संयोजक एवं धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

शनिबार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोनाको पुष्टि भएको थियो । उनीहरु सवै भारतबाट आएका नागरिकहरु हुन् ।

त्यस्तै, आइतबार थप १ जनामा संक्रमण देखिएको थियो । संक्रमित व्यक्तिहरुलाई नीलकण्ठ माविको छात्रावास र सघन सहरी विकास कार्यालयमा आइसोलन बनाएर राख्ने सिएमसीको बैठकले निर्णयसमेत गरेको छ ।

क्वारेन्टाइनमा बस्दा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएका नीलकण्ठ नगरपालिकाका २४ जनाको पिसिआर रिपोर्टबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि गाउँबस्तीमा मात्रै होइन सरोकारवाला निकायमा पनि तनाव सुरु भएको छ ।

भारतका विभिन्न स्थानबाट भैरहवासम्म आइपुगेर अलपत्र परेका ६८ जना नगरवासीलाई गत जेठ १० गते नगरपालिकाले पठाएको बसमा ल्याएर धादिङबेँसीको बालमन्दिर माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

जेठ १८ गते सबैको आरडिटी परीक्षण गरेर उनीहरुको घर पठाइएको थियो । उनीहरु घर फर्कंदा क्वारेन्टाइनमा २८ जना बाँकी थिए ।

भारतबाट जेठ १४ गते १८ जना र १६ गते थप १० जना आएका उनीहरुको भने थ्रोट स्वाब संकलन गरेर पिसिआर विधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा जेठ २५ गते १६ जनामा कोरोना संक्रमण पुष्टि भएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजालले जानकारी दिए ।

क्वारेन्टाइनमा सँगै बसेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आरडिटी गराएर घर पठाएकोहरुको धमाधम खोजी गर्दै स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको स्वास्थ्य शाखा प्रमुख रिजालले बताए । नगरपालिकाले ७५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा २४ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा वडा नं ७ र १४ का ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले थप ८१ वटा स्वाब संकलन गरेर पठाएको भए पनि रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलका अनुसार हरेक संक्रमितको परिवारबाट धेरै घुलमिल गरेको श्रीमान् या श्रीमतीमध्ये एक जनाका साथै वृद्धवृद्धा र दीर्घरोगी छन् भने उनीहरूको समेत स्वाब संकलन गरिने छ । यसरी परीक्षण गर्न बढीमा ५० वटा कीट आवश्यक पर्नसक्ने अनुमान गरिएको छ ।

आइतबार बसेको समितिको बैठकले संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिकाबमोजिम शव गाड्नुपर्ने भएकोले प्रत्येक स्थानीय तहले उपयुक्त स्थान छनोट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी गराउनको लागि निर्देशनसमेत दिएको छ ।

साथै संक्रमित व्यक्तिको डिस्चार्ज सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्दिष्ट गरिएको व्यवस्थाअनुरुप निर्णय गरिएको संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रजिअ तामाङले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया