दिपेन्द्र अधिकारी
भरतपुर । गोरखा फुजेलका कृष्ण अधिकारी हत्या अभियोग लागेका दुई जना अभियुक्त बिहीबार चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । अभियुक्तहरु छविलाल पौडेल २० हजार र भीमसेन पौडेल २७ हजार धरौटीमा रिहा भएका हुन् । माग भएपछि तत्कालै धरौटी रकम बुझाएर छुटेका उनीहरुलाई अविरजात्रा गरिएकोे थियो ।
बुधबार बयान सकेर सुरू गरिएको बहसमा प्रतिवादीतर्फबाट २६ र जाहेरवालाको तर्फबाट ३ वकिलले वकालत गरेका थिए । प्रतिवादी तर्फबाट वकालत गर्नेमा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानसमेत रहनुभएको थियो ।
न्यायाधीश विनोदमोहन आचार्यको इजलासले बिहीबार दुई अभियुक्तलाई धरौटीमा छोड्ने आदेश गरेको हो । अन्य अभियुक्तको हकमा भने सात दिनको वारेन्ट पूर्जी जारी हुनेछ । त्यस्तै, सात दिनभित्र अन्य अभियुक्तलाई प्रहरीले अदालतसमक्ष हाजिर गर्न नसके ७० दिने म्यादी पूर्जी जारी हुने अदालतका नायव सुब्वा जयनारायण आचार्यले बताउनुभयो । दुई अभियुक्त धरौटीमा रिहा भए पनि अन्य अभियुक्तको हकमा के कस्तो आदेश अदालतबाट हुने हो त्यो भने हेर्न बाँकी नै छ ।
कृष्ण अधिकारीको हत्या अभियोगमा मुछिएका दुई अभियुक्तको संलग्नताबारे प्रमाण नपुगेपछि उनीहरु धरौटीमा रिहा भएका हुन् । चितवन प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा हाल बेलायतमा रहेका रूद्र आचार्य र तत्कालीन माओवादीका स्पेसल टास्क फोर्सका युवाहरुको हत्यामा सहभागिता रहेको देखाएको छ । उनीहरुमध्ये ऋषि लामिछाने र मदन पौडेलको युद्धकालमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ परेका अजिव भनिने पर्शुराम पौडेल र रामप्रसाद अधिकारीको प्रमाण नपुगेपछि सरकारी वकिल कार्यालयबाटै मुद्दा फिर्ता भएको थियो । गत आइतबार जिल्लास्थित न्यायाधिवक्ता एकनारायण लम्सालले जिल्ला अदालतमा उनीहरुविरूद्ध मुद्दा दर्ता गराउनुभएको थियो ।
२०६१ जेठ २४ गते कृष्णको हत्या भएको थियो । जेठ २६ गते छोराको हत्यारालाई कारबाही माग गर्दै बुबा नन्दप्रसाद अधिकारीले चितवन प्रहरीमा जाहेरी दिएका थिए । त्यसको एक वर्षपछि दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्न भएको भनी ११ जनाको नाम नै किटेर चितवन प्रहरीमा जाहेरी दिएका थिए ।
बुबा नन्दप्रसाद र आमा गंगामाया हाल अनसनमै रहेका छन् । चितवन रत्ननगर जयमंगलामा रहेका हजुरबुबा र हजुरआमा भेट्न आउँदा तत्कालीन माओवादीले सेनाको सुराकी भएको आरोप लगाई हत्या गरेको थियो ।
Discussion about this post