सुख र मानवताको केन्द्र : गाउँ !

अन‌ि यो पनि

गाउँ किन प्यारो लाग्छ ? ग्रामीण समाजमा त सीमित मानिससँगको सम्पर्क हुन्छ । गाउँमा गरिब भए पनि भोकै मर्नुपर्दैन किनकि त्यहाँ मानवता र हार्दिकता हुन्छ । सहयोग हुन्छ । मानिसले अर्काको सम्पत्ति खानु हुँदैन भन्छ । स–साना कुरामा वैरभाव भए पनि प्रेम निमिट्यान्न हुँदैन । जिउँदाको जन्ती र मर्दाको मलामी बन्ने सोच हुन्छ । थोरै कमाए पनि, दुःखै भए पनि खुशीको मूल्य बुझ्छ । त्यहाँ नियतिको पीडाले त्रसित हुनु पर्दैन । ऐँचोपैँचो चल्छ । केही व्यवस्थाका लागि बाहेक महिनौँ लकडाउन भए पनि गाउँका मानिसलाई ‘नुन र खाने तेल’ भएपछि धेरै हदमा जीवन बाँच्छ ।

गाउँलेहरू दसैँ–तिहार, यसो चाडपर्व, विवाह बटुलोमा या त नुन, तेल, लत्ताकपडाका, रासायनिक मलका लागि महिनौँपछि मात्र सहरतिर आउँछन् । चाणक्यले भनेका छन् : असल मानिसको परिचय अप्ठ्यारो परेको अवस्थामा हुन्छ । रोगले मर्ने डरमा शोक र भोकको पीडा भयानक हुन्छ । यो पीडा सहरका घररूपी जङ्गलमा बाँच्नेको लागि भयावह हुन्छ । कमसेकम गाउँका मान्छेमा मानवता हुन्छ अनि अप्ठ्यारोमा पनि भोकै त मरिहाल्नु पर्दैन । यसर्थ गाउँको सम्भाव्यतालाई स्थानीय सरकारले सामाजिक पृष्ठभूमिकै सारबाट सहयोग गर्नुपर्छ । माटो परीक्षण गरेर कृषिका लागि सिँचाइका सम्भाव्यता, खानेपानी तथा आवासका कुरालाई जोड्दै बजारीकरणको बाटो दिनुपर्छ । ग्रामीण विकासमुखी व्यावहारिक शिक्षासँगको नातो गाँस्न सुरू गरौँ ।

हेर्ने नै हो भने कतिपय यस्ता महामारीलाई गरिब मान्छेले जति सामना गर्न सक्छ त्यति विलासी मान्छेले सक्दैन । पैसामा कमजोर भए पनि सङ्कटमा आत्मबल र शारीरिक बल दुवैमा सक्षम हुने मानिस भनेको गरिब नै हो । ऊ त कैयौँ अप्ठ्यारा समस्यालाई भोगेर पारङ्गत भएको हुन्छ । सहरमा महामारीको महासङ्कट आइप¥यो भने सबैभन्दा पहिला अत्यन्तै निम्न वर्गबाट पीडा सुरू हुन्छ । निम्न वर्गले पेट भर्ने बाध्यतालाई रोगभन्दा ठूलो मान्नु परेको हुन्छ । तर, यदि जनता सचेत भएको मुलुकमा महाविपत्ति आयो भने सबैभन्दा बढी पीडा धनाढ्यहरूमा हुन सक्छ किनकि किसानहरूले आफ्ना लागि अन्नपात सङ्कलन गरेर राखेका हुन्छन् । तिनले भोकका कारणले मरिहाल्ने अवस्था हुँदैन । हाम्रो समाजले त हुलमुलमा जिउ जोगाउनु र अनिकालमा बिउ जोगाउनु भनेका हुन् । चाहे बाढी आएको समय होओस्, भूकम्पको समय होओस् या अन्य कुनै विपत्तिको समय आखिर एउटा समय त यस्तो पनि आउने रहेछ जहाँ पैसा भएर पनि पेट भोकै हुन्छ । सधैँ पैसाका लागि चिन्तित हुने सारा संसार यतिखेर केवल बाँच्नका लागि भनेर किन चिन्तित छ त ? अनि बोध हुन्छ :

 भूकम्पले घरबाहिर लखेट्यो । कोरोनाले घरभित्रै कँज्याइदियो । भूकम्प र कारोना दुवै सङ्कटले ग्रामीण जीवनको अर्थबोध गराइदिए ।
 भूकम्पले इन्जिनियर र सुरक्षाकर्मीको महŒवलाई बोध गराइदियो अनि कोरोनाले डाक्टर, नर्स र सुरक्षाकर्मीको आवश्यकतालाई महसुस गरायो ।
 मान्छेभन्दा प्रकृति नै बलियो रहेछ किनकि मानिसद्वारा विकसित आधुनिक प्रविधिले पनि अप्ठ्यारोमा प्राणरक्षा गरेन ।
 पैसा आवश्यक चीज हो तर जीवनभन्दा ठूलो पैसा होइन ।
 बम, बारुद लगायतका मानव संहारक यन्त्रभन्दा ठूलो एउटा सूक्ष्म जीवाणु रहेछ किनकि यसले बलशाली, बुद्धिमानी, राम्रा र नराम्रा सबै चरित्रलाई आफ्नो नियन्त्रणमा कँज्याएर राखिदियो ।
 मान्छे मार्ने आविष्कार गर्नु मूर्खतामात्र हो बरु त मान्छेको रक्षा गर्ने दीर्घकालिक आधारलाई खोज्नुपर्ने रहेछ ।
 मानिसले जतिसुकै घमण्ड गरे पनि आफू बाँचेमात्र अन्य सबै कार्य सम्भव हुन्छ ।
 मानवताभन्दा ठूलो अर्को धर्म हुँदैन अनि सहयोगभन्दा ठूलो अर्को पुण्य हुँदैन ।

सरकारले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को बजेट वक्तव्यको सारभित्र कोभिड–१९ को असरले प्रभाव पारेको देखिन्छ । यो समयोचित व्यवस्थापनको सराहनीय विषय हो । नीति तथा कार्यक्रम र बजेटको वक्तव्य दुवै कुरा श्रम र श्रमिकको पक्षबाट विकास र उन्नतिकै पृष्ठाधारमा टेकेरै आएको हो भन्दा फरक पर्दैन । यद्यपि विश्लेषणीय कुरा कार्यान्वयनको तहमा गएर अड्किन्छ । “आफ्नो गाउँ आफैँ बनाउँ” भन्ने भावनाका कुरा त हिजोदेखिकै पुनरावृत्ति हुन् ।

तर, आजसम्म दोहोरिरहेको यो नारा र वास्तविकतालाई कसले कसरी बोध ग¥यो र कार्यान्वयन कति भयो ? कामको लागि खाद्यान्न कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान तथा लघुवित्त विकास, कृषि विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका विषय सराहनीय छन् । श्रम र रोजगारका विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । आयुर्वेदका विषयलाई सरकारले खुलेर समेट्न नसकेको कुरालाई कृषिमा ल्याएर गाँस्न सकिन्छ । अर्को पक्षबाट हेर्दा कृषि विकास तथा खाद्य सुरक्षाका लागि गाउँको प्रेम पनि त चाहिन्छ । मान्छे सहरी मोहमा लिप्त भएको छ भने हामी कसरी ग्रामीण विकासका विषय मनोविज्ञानभित्र गएर नातो गाँस्न सकौँला ? यो अहिलेको विश्वव्यापी सन्दर्भको परिवर्तित चाहनाले जमाएको प्रभावका आधारमा विश्लेषणीय विषय बन्नुपर्छ ।
मानवता कहाँ झल्कन्छ ?

नेपालमा त वास्तवमा राम्रोसँग स्वास्थ्य परीक्षण नहुनुले कोरोना सङ्क्रमणको खतरा वायु वेगमा बढ्न पुग्यो । अचम्मको कुरा– मृत्युपश्चात् कोरोना पुष्टि हुने हाम्रो लापरबाही पनि त छ ! हामी त आगो लागेपछि कुवा खनिरहेका छौँ । त्यसमा पनि सङ्क्रमित भएका मान्छे समेत लुकेर बस्ने, अस्पतालबाटै भाग्ने महामूर्खता भयावह छ । सङ्क्रमितलाई भगाउने, आफैँ भाग्ने, अझ उल्टो प्रतिकार गर्ने हाम्रो मूर्खताको पराकाष्ठाले हामी जनताको सोचको हैसियत कस्तो रहेछ भन्ने कुरा बोध हुन्छ । मननीय कुरा त सङ्क्रमित हुँदैमा मरिहालिने पनि त होइन रहेछ । आज विश्वमा लाखौँ सङ्क्रमितले यो युद्धलाई जितिरहेकाले धैर्यता र साहसलाई, हिम्मतलाई अघि राखेर सचेत रहौँ । मलाई अन्तर्राष्ट्रिय शान्तिका वक्ता प्रेम रावतको एउटा भनाइ मूल मन्त्र बन्छ जस्तो लाग्छ : “यो रोग अरूबाट नलिऊँ अनि अनि लागि हालेमा अरूलाई नदिऊँ ।” आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने अर्थात् आफू अरूबाट जोगिने र आफूले अरूलाई यो रोग नसार्ने मानवीय धर्मलाई मूल मन्त्र बनाऔँ । सङ्क्रमित तथा एकान्तवासमा बसेका व्यक्तिलाई हामी कस्तो व्यवहार गर्छौँ, यो पनि एउटा अध्ययनीय विषय हो । सबैभन्दा ठूलो धर्म नै मानवता हो भने कुरालाई नभुलौँ ।

वास्तवमा डाक्टरलाई त भगवान् नै मान्नुपर्छ । तर, यदि सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने डाक्टरहरूले सामान्य मौसमी ज्वरो, रुघाखोकी लागेकालाई समेत नहेर्ने, बिरामीलाई कोठामा राखेपछि चेकजाँच नगर्ने, छिःछिः र दुरदुर गर्ने गरेका घटना दोहोरिन सक्छन् । एउटा रोग लागेको बिरामीले उचित उपचार नपाएर अर्कै कारणले झनै ग्रसित हुनु झनै दयनीय अवस्था हो । यो त हृदयविदारक हुन्छ । हो, खतरा छ तर पेसाप्रति निष्ठावान् भएर सतर्कतालाई अपनाउँदै सेवा गर्नु डाक्टरको कर्तव्य पनि हो । ड्राइभरको पेसामा त हरेक दिन, हरेक क्षण जोखिम हुन्छ तर यत्तिका धेरैले गन्तव्य पक्रेर रातोदिन गाडी चलाइरहेका हुन्छन् । यो अवस्था स्वास्थ्यकर्मीको परीक्षाको घडी हो ।

गाउँमा हरक्षण मानवताको गीत गुञ्जिरहन्छ नै । महामारीको जटिल अवस्थामा मनकारी व्यक्ति र संस्था पनि देखिए अनि कालोबजारी गर्ने, पैसै कमाउने सोचबाट आजको मानिसको लोभको भाँडो नभरिने सहरतिरै हो । तर, पैसा पनि मान्छेले नै छाप्छ र गरिबी पनि मान्छेको व्यवस्थाले बनाइदिन्छ । त्यसैले मानवताभन्दा ठूलो पैसा होइन । अर्को कुरा बिरामीलाई छिः छिः र दुरदुर गर्नेले आफूलाई त्यो समस्या आइप¥यो भने मलाई कस्तो हुन्छ भनेर सोच्नुपर्छ । जोकोहीलाई तिरस्कार होइन, बरु आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण क्वारेन्टाइनमा राख्नेसम्मका व्यवहार वाञ्छनीय हुन्छन् ।

ठूला र सम्पन्नशाली मुलुकको स्थिति झनै भयावह छ तर नेपाल त भाग्यमानी हो । सरकारले आफ्नो गाडीलाई ग्रामीण विकासलाई प्राथमिकतामा रोखेर आत्मनिर्भरताको बाटोतिर गेयर बदलोस् । कृषि र पशुपालनको विकास, ग्रामीण उद्योग विकास गर्दै सबैभन्दा बढी जनताले खर्च गर्नुपर्ने “शिक्षा र स्वास्थ्य” लाई निःशुल्क बनाउने बाटोबाट मुलुकले अबको मार्गचित्रलाई कोर्नुपर्ने विषय बजेटको वक्तव्यमा उल्टो दिशातिर मोडिनु दुःखद् देखिन्छ । खाद्य सङ्कट र स्वास्थ्यको जोखिम दुईवटा कदम जति सह्राहनीय छ त्यति शिक्षा र स्वास्थ्यको निःशुल्क उपलब्धता कायम रहेन । धेरै विदेशिएका नेपालीहरू विदेशमा कम्पनी डुब्ने र अप्ठ्यारो अवस्थामा असुरक्षित तथा एक्लो हुनुपर्ने बाध्यताका कारणले स्वदेश फर्किने सम्भावना प्रक्षेपण भइसकेको छ । रेमिट्यान्समा धानिएको अर्थतन्त्रको ठूलो हिस्सा कमजोर हुन सक्छ । सहरमा कोचिने पद्धतिलाई बदलौँ । ग्रामीण जनजीवनमा शहरी सुविधाको उपभोग गर्ने नीतिमा नेपालले नेपालीपनको व्यवस्थापन गर्न सके “समृद्ध नेपाल : सुखी नेपाली” को नवीन उदाहरण साबित हुन सक्छ । यसलाई कृषिका सारमा विद्युत र व्यापारको विकास गर्ने ढाँचाबाट मात्रै सम्भव तुल्याउन सकिन्छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया