रत्ननगर । रत्ननगर–१ बकुलहरमा रहेको सुनगाभा बाल संसार प्रिप्राइमेरी मन्टेश्वरी स्कुलले बुधबार तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा बालबालिकाहरुले नृत्य देखाएका थिए । कार्यक्रममा स्थापनाकालदेखि मन्टेश्वरीमा रहेका ७ जना बालबालिकालाई बाँकी शिक्षा अध्ययनको लागि स्कुलबाट विदाइ गरिएको थियो । स्कुलले विदाइ गरेका सात जना अब बोर्डिङ तथा सरकारी स्कुलमा अध्ययन गर्नेछन् ।
कार्यक्रममा स्कुलकी प्रिन्सिपल भगवती देवकोटाले मन्टेश्वरी स्थापना गर्नुको कारण, भावी योजना र स्कुलको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयमा अहिले ४० जना बालबालिका रहेको र उनीहरुलाई प्रारम्भिक शिक्षा र मनोविज्ञान बुझेर उनीहरुको विकासको लागि काम गर्ने बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठको प्रमुख आतिथ्य एवम् मन्टेश्वरी स्कुलका प्रबन्ध निर्देशक रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर विसुराल, नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, स्थानीय व्यवसायी नारायण आचार्यलगायतले बोल्नुभएको थियो ।
Discussion about this post