तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ?

अन‌ि यो पनि

बन्दाबन्दीको समयमा प्रेम रावतले हरेक दिन आफ्नो सन्देश मानिसहरूमाझ पु¥याइरहनुभएको छ । उहाँको सन्देशसँग सम्बन्धित केही अंशलाई यहाँ प्रस्तुत गरिएको छ :

सबैभन्दा ठूलो कुरा त के छ भने तपाईं जुनसुकै अवस्थामा हुनुहोस्, जस्तोसुकै परिस्थितिमा हुनुहोस् यो कोरोना भाइरसको समयमा तपाईं आनन्दमा नै हुनुहोला, तपाईं कुशल–मङ्गल नै हुनुहोला । किनभने, मानिसहरू चाहे धनी होऊन्, चाहे गरिब होऊन्, चाहे जोसुकै होऊन्, यो कुरा सबैसँग उपलब्ध हुन्छ । यो ती सृष्टिकर्ताको कृपा हो । चाहे जस्तोसुकै समय आओस्, जेसुकै भइरहेको होओस्, जस्तोसुकै दुःख होओस्, प्रकृतिमा जेसुकै भइरहेको होओस् मानिसले चाहँदा त्यस्तो परिस्थितिमा पनि आनन्दका साथ आफ्नो जीवन बिताउन सक्छ ।

अब त बन्दाबन्दीमा पनि केही कुरामा स्वतन्त्रता पाएका छौँ । बिस्तारै–बिस्तारै अरू कुराहरूमा पनि स्वतन्त्रता पाउँदै जाऔँला । यो एउटा खुशीको कुरा हो तर यो एउटा विचारणीय कुरा पनि हो । यो यसकारण विचारणीय कुरा हो किनभने, मानिसहरू एक–आपसमा भेटघाट गर्न थालेपछि, रेस्टुरेन्टतिर जान थालेपछि, जहाँसुकै जान थालेपछि यो महामारी (कोरोना भाइरस वा कोभिड– १९) को फैलावट अझै धेरै हुन सक्छ । यसका लागि जति सम्भव हुन्छ त्यति नै, त्यही कुरा : माक्स लगाउनुहोस् अनि तिनै दुईवटा कुरा– “यो रोग अरूलाई नसार्नुहोस् अनि कसैबाट आफैँमा सर्न नदिनुहोस् !” यदि यी कुराहरूलाई तपाईंले ध्यान दिनुभएमा सबै कुरा राम्रो हुनेछ ।

तर, सबैभन्दा महत्त्पूर्ण कुरा के छ भने यो मनलाई कसरी सम्झाउनुहुन्छ ? तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ? किनभने, मानिसलाई हरेक कुराको चिन्ताले सताउँछ तर चिन्ता कुन कुराको हुनुपर्छ रु चिन्ता त यही नै हुनुपर्छ, “जबसम्म म यहाँ जीवित छु, मेरो समय व्यर्थ नजाओस् ।” हामीलाई आफ्नो जिन्दगीमा के कुरा थाहा हुनुपर्छ भने हामीले के गर्नुपर्छ ? मानिसहरू भन्छन्, “यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ ।” हामी तिनै कुराका पछि लाग्छौँ । तर, त्यसका लागि तपाईंलाई मानिसको शरीर प्राप्त भएको होइन । मानिसको शरीर त कुनै अर्कै प्रयोजनार्थ पाइएको हो ।

मानिसको शरीर यसकारण पाइएको हो– म आफ्नो समयलाई, आफ्नो जीवनलाई सफल पार्न सकूँ । मैले तपाईंलाई आफ्ना सबै जिम्मेवारीलाई छोडिदिनुहोस् भन्न खोजेको होइन । तर, ती जिम्मेवारीलाई वहन गर्दागर्दै पनि त्यस जिम्मेवारीलाई पनि बुझ्नुहोस् जसका लागि यो मानिसको शरीर पाइएको छ । ती सारा कुराहरू जे भइरहेका छन्, तिनबाट तपाईं विचलित नहुनुहोस् । वास्तवमा ती कुराहरूले मानिसलाई चिन्तित तुल्याएका हुन्छन् । तिनबाट मानिस चिन्तित हुन्छ । तर, तपाईंलाई आनन्द चाहिएको छ । त्यो आनन्द तपाईंभित्रै छ । जुन शक्तिहरू तपाईंसँग छन्, तपाईं तिनलाई बिर्सनुहुन्छ । भ्रमित हुने सबैभन्दा ठूलो कारण मानिसका लागि यही नै हो– जुन कुरा उसलाई थाहा छ, त्यही कुरालाई ऊ बिर्सन्छ । उसले बिर्सेपछि उसलाई यो कुराको ज्ञान हुँदैन– “अब म के गरूँ !” यदि हामी आफ्नो जीवनमा सचेत भएर अघि बढ्यौँ– “यो मेरो जीवन हो । यो मेरा लागि प्राप्त भएको छ । यदि एक–एक पाइला हामीले सचेत भएर अघि बढायौँ भने यो जीवनमा जिम्मेवारीहरू हुँदाहुँदै, समस्याहरू हुँदाहुँदै पनि हामीलाई जीवन जिउँदा आनन्द प्राप्त हुन्छ । कस्तो आनन्द रु यस्तो खालको आनन्द प्राप्त हुन्छ– “जब मानिसले बुझ्छ, यी जुन समस्याहरू आइरहेका छन्, जसका कारणले म विचलित भइरहेको छु । म भ्रमित हुनु आवश्यक छैन । अनि, यो समस्या पनि अवश्य जानेछ ।”

यस्ता समस्याहरू त आउनेजाने भइरहन्छन् । तर, तपाईं आत्तिनु आवश्यक छैन । तपाईं दुःखी हुनु आवश्यक छैन । तर, एउटा अर्को चीज पनि छ आउने–जाने भइरहन्छ । अनि, जबसम्म त्यस चीजको आवागमन भइरहन्छ, समस्याहरू पनि आउनेछन् अनि जानेछन् । केही समस्यालाई तपाईंले ध्यान दिनुभयो । केही समस्यामा तपाईं निकै दुःखी हुनुभयो । केही समयपछि ती समस्याहरू पनि गए तर एउटा चीज छ– जुन तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । जबसम्म त्यो आइरहेको छ र गइरहेको छ तबसम्म सबै कुरा राम्रो हुन्छ । तर, त्यो नआएपछि तपाईंसँग सबैभन्दा ठूलो समस्या हुनेछ । त्यतिखेर तपाईंसँग त्यो समस्या समाधानको कुनै उपाय रहनेछैन ।

कुरा ती समस्याहरूको होइन । त्यो श्वासलाई स्वीकार गर्ने अनि तपाईंभित्र भएको चीजलाई बुझ्ने कुराचाहिँ हो । तपाईं त्यो चीजलाई चिन्नुहोस् । तपाईं त्यो चीजलाई पहिचान गर्नुहोस् । त्यो चीज के हो ? अनि, तपाईंको ध्यान त्यसमा रहुन्जेलसम्म तपाईंको जीवनमा आनन्द हुन्छ । यो जीवन तपाईंका लागि हो किनभने तपाईं त्यो आनन्दलाई बुझ्न सक्नुहोस् । यो जुन श्वास तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । यो पनि यसकारण हो ताकि तपाईंभित्र रहेको त्यो चीजलाई तपाईंले चिन्न सक्नुहोस् । किनभने, त्यही नै हुनेछ : जुन माटोबाट तपाईं आउनुभएको थियो, त्यही माटोमा गएर तपाईं मिल्नु हुनेछ ! यो पृथ्वी, तारा, जे जति पनि तपाईं देखिरहनुभएको छ सबै यही माटोबाट बनेका हुन् । तपाईं पनि यही माटोबाट बन्नुभएको छ । यसैबाट आउनुभयो र यहीँ गएर मिल्नु छ । यस्तै हुनेछ । चाहे तपाईंले जुनसुकै उपाधि हासिल गर्नुहोस्, तपाईंले जेसुकै गर्नुहोस् तर यस्तै हुनेछ । यस्तै नै भइरहेको छ र पछि पनि हुनेछ ।

एकदिन यस्तो पनि आउनेछ– तपाईं यहाँ हुनुहुनेछैन । एकदिन यस्तो पनि हुनेछ– यो सारा सृष्टि नै पनि यहाँ रहनेछैन । चन्द्रमा, सूर्य, तारा पनि रहनेछैनन् । तर, आजको सत्य, त्यो वास्तविक सत्य के हो ?– तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । के कुरा सिक्नुपर्छ भने यसलाई कसरी स्वीकार गर्ने हो, यसलाई कसरी अपनाउने हो अनि आफ्नो जीवनलाई कसरी सफल तुल्याउन सकिन्छ । यो सिक्नुपर्ने कुरा छ । यदि यस कुरालाई सिक्नुभयो, यसलाई जान्नुभयो भने त सबै कुरा जान्नुभयो । तर, यसलाई जान्नुभएन भने केही पनि जान्नुभएन । केही पनि सिक्नुभएन ।

एउटा सानो कथा छ । एकपटक राजाकहाँ अर्कै देशबाट केही मानिसहरू आए । अनि उनीहरूले भने– “हामीलाई स्थान दिनुहोस् । हामी आफ्नो घर बनाउन सकौँ । घर निर्माण गर्न सकौँ ।

राजाले भने, “म तपाईंहरूलाई एउटा उदाहरण देखाउँछु । उनले दुई गिलास दूध मगाए । एउटा ठूलो गिलासमा अनि एउटा सानो गिलासमा । उनले सानो गिलासको दूधलाई ठूलो गिलासमा राखे । ठूलो गिलासको दूधमा थपियो तर त्यो त पहिल्यै भरी थियो । त्यसकारण दूध पोखियो । अनि, राजाले भने– “हाम्रो अवस्था यस्तै छ । यहाँ पहिलादेखि नै ठाउँ भरिभराउ छ । यदि तपाईंका मानिसहरू यहाँ आउनुभयो भने हामी तपाईंलाई कुन स्थानमा राखौँ । त्यसकारण तपाईंहरू जानुहोस् ।”

त्यहाँबाट आएका मानिसहरूमध्ये पनि एकजनाचाहिँ बुद्धिमान मानिस थिए । उनले भने, “ठीकै छ ! म तपाईंलाई उत्तर दिन चाहन्छु ।” उनले राजालाई भने, “एक गिलास दूध र चिनी मगाउनुहोस् ।” उनले त्यो चिनीलाई लिए अनि त्यो दूधको गिलासमा हालेर घोलिदिए । उनले भने, “हामी यस्तै छौँ । हामी चिनी हौँ । हामी घोलिएर मिठास भरिदिन्छौँ ।” त्यसपछि राजालाई बोध भयो अनि उनले आगन्तुकहरूलाई त्यहाँ बस्ने व्यवस्था मिलाइदिए ।

परिवारमा पनि कहिलेकाहीँ सानोतिनो अन्तरविवाद एक–आपसमा भइहाल्छ । कहिले छोराछोरीसँग कुरा मिल्दैन, कहिले कसैसँग कुरा मिल्दैन । घरमा जति पनि सदस्यहरू छन् के उनीहरू चिनी बन्न सक्दैनन् ! जसले गर्दा उनीहरूले यो परिस्थितिमा पनि सबैका लागि मिठास ल्याउन सकून् । तीतोपनाका लागि त पूरै जीवन छ तर यो समय आनन्दपूर्वक अनि बुद्धिमतापूर्वक बितोस् ।

आफूसँग रहन सिक्नुहोस् । चिन्तामा होइन, आनन्दमा किनकि मनले त चिन्तातर्फ डो¥याउँछ । हृदयले चाहिँ आनन्दतर्फ लैजान चाहन्छ । आनन्दको बाटोमा हिँड्नुपर्छ । परिस्थितिहरू बदलिनेछन् । बिस्तारै–बिस्तारै यो बन्दाबन्दी पनि बदलिनेछ तर तपाईं आफ्नो ख्याल गर्नुहोस् र आनन्दमा रहनुहोस् !

(यो लेख प्रेम रावतको सम्बोधनलाई सम्पादन गरी साभार गरिएको हो । उहाँ मानवता र शान्तिको विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया