चितवनका स्थानीय तह कोरोना खर्चमा अलमल, नगरसभामा सार्वजनिक गर्ने प्रतिबद्धता

अन‌ि यो पनि

भरतपुर । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको हालसम्मको खर्च विवरण सरकारले सार्वजनिक गरेको छ । सरकारले खर्च विवरण सार्वजनिक गरेपछि चितवनका स्थानीय तहमा खर्च विवरण सार्वजनिक गर्न थप दबाब परेको छ ।

चितवनका सातै स्थानीय तहले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको हालसम्मको खर्च विवरण भन्न सकेनन् । केही नगरले मोटामोटी खर्चको अनुमान गर्नसम्म भ्याएका थिए ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीले कोरोना नियन्त्रण र रोकथाममा खर्च भइरहेको बताए । उनले भने, ‘खर्चसँगै हिसाबकिताब पनि भइरहेको छ, अहिले यति नै भनेर भन्न गाह्रो छ ।’ उनले आगामी नगरसभामा रोकथाम, नियन्त्रण र उपचारमा भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने बताए ।

क्वारेन्टाइन निर्माणदेखि खानासम्म, यातायात खर्चदेखि राहतसम्म कति खर्च भयो भन्नेमा स्थानीय तह अलमलमै रहेको पाइयो । स्थानीय तहले कोरोना नियन्त्रण र उपचारमा खर्च त गरिरहेका छन्, तर यसको लेखाजोखा गर्न भ्याइरहेका छैनन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले कोरोनामा खर्च भइरहेको तर हालसम्म कति खर्च भयो भनेर अहिले नै भन्न नसकिने बताइन् ।

उनले भनिन्, ‘अहिले त मोटामोटी खर्च भन्न सक्छौँ, विस्तृत खर्च हामीले नगरसभामा पेश गर्नेछौँ ।’ उनका अनुसार खाद्यान्नमा ६० लाख, क्वारेन्टाइनमा डेढ लाख र स्वास्थ्य सामग्रीमा १० लाखको हाराहारीमा खर्च भएको छ । उनले भनिन्, ‘यो खर्च अनुमानितमात्रै हो, हाम्रो हिसाबकिताब गर्न बाँकी नै छ, नगरसभामा एक–एक रूपैयाँको हिसाब सार्वजनिक गर्नेछौँ ।’

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मोटामोटी ८० लाख खर्च भएको अनुमान गरेका छन् । उनी भन्छन्, ‘खर्च पनि भइरहेको छ, केही भुक्तानी बाँकी छ । प्रदेश, संघीय सरकारबाट आएको बजेटको पनि हिसाब गर्न बाँकी नै छ ।’ उनले पनि कोरोना नियन्त्रण, रोकथाम र उपचारमा लागेको खर्च नगरसभामा प्रस्तुत गर्ने बताए ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले पनि वडास्तरमा राहत वितरणमा लागेको खर्च सार्वजनिक गरेको बताए । उनले भने, ‘कोरोनाको सम्पूर्ण खर्च विवरण निकाल्न बाँकी नै छ ।’ उनका अनुसार कालिका नगरपालिकामा राहत वितरणमा मात्र ४८ लाख ६ हजार ३०१ रूपैयाँ खर्च भएको छ । राहतमा कालिकामा सबैभन्दा बढी खर्च वडा नं–९ र कम वडा नं–४ मा भएको प्रमुख श्रेष्ठ बताउँछन् ।

कालिकाको वडा नं–४ मा राहत वितरणमा २ लाख ३७ हजार ६२३ खर्च भएको थियो भने वडा नं–९ मा ५ लाख २२ हजार ८७१ रुपैयाँ खर्च भएको छ । प्रमुख श्रेष्ठले भने, ‘यो खर्चमा कुनै तलमाथि भएको छैन, कोरोनाको सम्पूर्ण खर्च हामी नगरसभाबाट सार्वजनिक गर्नेछौँ ।’

यस्तै, रत्ननगर नगरपालिका र माडी नगरपालिकाले पनि कोरोना नियन्त्रणमा लागेको सम्पूर्ण खर्च नगरसभामा प्रस्तुत गर्ने जनाएका छन् ।

संघीय सरकारको खर्च कति ?

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च सार्वजनिक गर्न देशभरि प्रदर्शन हुन थालेपछि संघीय सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।

कोरोना नियन्त्रण र उपचारमा तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रूपैयाँ खर्च भएको संघीय सरकारले जनाएको छ ।

रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५ करोड २० लाख, शिक्षा मन्त्रालयबाट २ करोड ६९ लाख ७८ हजार र गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रूपैयाँ खर्च भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रूपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रूपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रूपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रूपैयाँ खर्च भएको छ ।

‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रूपैयाँ खर्च भएको विवरण छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रूपैयाँ खर्च भएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...