लकडाउन खुकुलो, व्यवसाय खुला

अन‌ि यो पनि

नारायणगढ । सरकारले बन्दाबन्दी (लकडाउन)को स्वरुप परिवर्तन गरेपछि चितवनको मुख्य बजार क्षेत्रमा व्यवसाय खुल्ने क्रम बिस्तारै बढ्दै गएको छ । सार्वजनिक सवारीसाधन नचले पनि निजी सवारीसाधनलाई चल्न दिने हुँदा व्यवसायी पनि आशावादी देखिन्छन् ।

उद्योग वाणिज्य संघ–चितवनका अनुसार सरकारको निर्देशनअनुसार आफ्नो व्यवसाय खोल्न चाहनेहरुले शुक्रबारदेखि नै पसल खोलेका छन् । यस विषयमा जिल्ला प्रशासन र प्रहरीसँग पनि उद्योग वाणिज्य संघको छलफल भएको अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

शनिबार पनि नारायणगढ बजारमा बैंक तथा वित्तीय संस्था, मोबाइल तथा कम्प्युटर पसल, जुत्ता–चप्पल, कपडा, फेन्सी, सुनचाँदीलगायत सबैखाले पसल खुलेका छन् । किराना, फलफूल, औषधि, डेरी, खाद्यान्न, तरकारी र मेसिनरी, पुस्तक तथा स्टेसनरीलगायतका पसल भने अत्यावश्यक सेवाभित्र पर्ने हुँदा बन्द भएका छैनन् ।

पछिल्लो समय लकडाउन केही खुकुलो गर्ने निर्णय सरकारले नै गरेपछि व्यवसायीलाई केही सहज भएको उनको भनाइ छ । उनका अनुसार शनिबार करिब ४० प्रतिशत पसल खुलेका छन् ।

‘सरकारको निर्णयअनुसार इच्छा हुनेका लागि सबै खालको व्यवसाय खोल्न अनुमति दिइएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘नखोल्नेलाई खोल्नैपर्छ भन्ने पनि छैन ।’ पसल खोल्न चाहने सबै व्यवसायीले सेवाग्राहीको लागि हात धुने व्यवस्था मिलाउने र आफूले पनि मास्क र पञ्जा अनिवार्य लगाउनुपर्ने उनले बताए । सेवाग्राहीले पनि सकभर मास्क र पञ्जा लगाएरमात्रै सेवा लिन पनि उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

सार्वजनिक सवारीसाधन नचलेसम्म भने व्यवसाय पहिलेकै अवस्थामा फर्कन नसक्ने उनको भनाइ छ । ‘अहिले पसल खोलेर बस्नेमात्रै हो’, उनले भने, ‘गाउँगाउँबाट बजारमा आउने वातावरण नबनेसम्म व्यवसाय फस्टाउने अवस्था छैन ।’

अहिले पनि दिनमा कति समय व्यवसाय खुलाउने भन्ने विषयमा व्यवसायी, प्रशासन र प्रहरीलगायत सरोकारवाला निकायसँग छलफल भइरहेको उनले बताए । पहिलेजस्तो साँझसम्म पसल खुला गर्न नपर्ने हुँदा बिहान १० देखि ४ अथवा साँझ ५ बजेसम्ममात्रै खोल्ने कि भन्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

भाडा छूट गर्न पहल जारी

करिब तीन महिनादेखि बन्द रहेको व्यवसाय बल्ल खुल्न थालेको छ । व्यवसाय गरेरै भाडा तिर्दै आएका व्यवसायीले लकडाउनको एक महिनादेखि नै घरधनीसँग भाडा छूट गराउन उद्योग वाणिज्य संघसँग आग्रह गर्दै आइरहेका छन् । यस विषयमा संघले घरधनीहरुसँग छलफल गर्ने भएको छ ।

‘वाणिज्य संघलाई व्यवसायी साथीहरुबाट सटर भाडाको विषयमा छूट गर्नुपर्ने आवाज उठिरहेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘व्यवसायी साथीहरुका लागि संघले केही न केही पहल गर्नेछ ।’ लकडाउन कति समयसम्म लम्बिन्छ भन्ने अडकल नहुँदा यस विषयमा निर्णय लिन अप्ठ्यारो परेको उनले बताए । अब लकडाउन नै जारी रहे पनि व्यवसाय खुल्ने भएपछि कुरा गर्न सजिलो हुने उनको भनाइ छ ।

व्यवसाय बन्द हुँदाको समयमा भरतपुर महानगरपालिकाले पनि व्यावसायिक करमा केही प्रतिशत छूट गरिदिनुपर्ने संघको आग्रह छ । ‘तीन महिनासम्म व्यवसाय बन्द गरेर पूरै कर कसरी तिर्न सक्छौँ र’, उनले भने, ‘यस विषयमा महानगरसँग पनि हामी भद्र छलफल गर्छौं ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया