राष्ट्रिय मापदण्डअनुसार मात्रै कोरोना जाँच हुने

अन‌ि यो पनि

भरतपुर । भरतपुर कोभिड–१९ प्रयोगशालाले राष्ट्रिय जाँच मापदण्डको निर्देशिकाअनुसार मात्रै नमुना पठाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पत्रानुसार स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएको मापदण्डको निर्देशिकाअनुसार मात्रै नमुना पठाउन प्रयोगशालाले आग्रह गरेको हो। नमुना पठाउँदा निर्देशिकाको कुन व्यवस्थाअनुसार पठाइएको हो भन्ने विषयमा पनि स्पष्ट खुलाउन अनुरोध गरिएको छ। ‘अन्यथा प्रयोगशालाले कुनै पनि नमुना परीक्षण गर्न नसकिने जानकारी गराइन्छ,’ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले भनिन्।

प्रयोगशाला सञ्चालनको सुरूवाती चरणमा ३० देखि ४० वटा नमुना परीक्षण हुँदै आएको प्रयोगशालामा पछिल्लो केही दिनयता दैनिक दुई सयदेखि तीनसय वटा नमुना परीक्षण हुँदै आएको छ। मन्त्रालयको पछिल्लो मापदण्डअनुसार मात्रै नमुना आउने हो भने यो संख्या घट्न सक्ने डा अधिकारीको भनाइ छ।

‘मापदण्डअनुसार जाने हो भने ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिनुपर्छ र संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति छन् भने त्यस्ता व्यक्तिको हकमा मात्रै परीक्षण हुन्छ,’ उनले भनिन्, ‘लक्षण नदेखिएका र सामान्य अवस्थामा संक्रमितको पनि परीक्षण गर्नुपर्दैन।’

भरतपुर महानगरपालिकाको अथक प्रयासपछि सञ्चालनमा आएको प्रयोगशालामा चितवनसहित, मकवानपुर, नवलपुर, नुवाकोट, धादिङ, रूपन्देही, सल्यान, कपिलवस्तुलगायतका जिल्लाबाट नमुना आउने गरेको छ।

अस्पतालको सहर भनेर विकसित भइरहेको चितवनमा स्थापना भएको प्रयोगशालालाई प्रादेशिक प्रयोगशालामा भन्दा बढी लोड परेको डा अधिकारीले बताइन्। उनका अनुसार चैत २३ गतेबाट काम थालेको प्रयोगशालाबाट हालसम्ममा तीन हजार ८०० वटा नमुना परीक्षण भएका छन्।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...